-नाम उल्लेख नगर्ने सर्तमा प्रकाशित, सल्यान
मामाघर !
मामाघर सम्झने बित्तिकै मेरो वरिपरि एक तमासको बास्ना महसुस हुन्छ । मन फुरुङ्ग हुन्छ । मलाई लाग्छ मेरो घर मामाघरको छेउमा होस् । म हरेक रात हतार हतार खाना खाएर मामाघर दौडिँदै पुगूँ । हरेक साँझ स्कुलबाट आउने बित्तिकै घरमा झोला फ्यात्त फालेर मामाघर पुगूँ । हरेक बिहान मामाघरको आँगनमा खेलूँ ।
तर, समय सधैँ एउटै कहाँ हुन्छ र ? यति प्यारो मामाघर अब मलाई सम्झिन पनि मन छैन ! कसैले मामाघरको बारेमा कुरा गर्दा पनि मलाई त्यहाँको एकजना मान्छे दुश्मन जस्तो लाग्छ । कुनै समयअघिको सबैभन्दा प्रिय ठाँउ अहिले सबैभन्दा घृणा गर्ने ठाँउ भएको छ । नर्क भन्छन् नि, हो त्यस्तै !
मलाई थाहा छैन नर्क र स्वर्गको कुरा । मलाई विश्वास पनि छैन । तर, यति थाहा छ संसारको सबैभन्दा खराब ठाँउ मेरो मामाघर हो । जहाँ मान्छेको ठाँउमा राक्षसहरूको बास छ । जहाँ संवेदना, मानवता भन्ने केही पनि छैन ।
मेरो घर सल्यानको सदरमुकाममा पर्छ । हाम्रो परिवार उच्च मध्यम वर्गीय परिवार हो र मेरो मामाघर पनि मेरै परिवार जस्तै । मेरी आमालाई उहाँका दाजुभाइले एकदमै माया गर्नुहुन्छ । उहाँलाई मात्रै हैन बुवा, भाइ र मलाई पनि उत्तिकै परान हाल्नुहुन्छ । भाइ र मेरा लागि मामाघर अति नै प्रिय ठाँउ हो । आमाको काख जत्तिकै प्रिय । माइतीको कुकुर पनि प्यारो भन्छन् नि, हाम्रो लागि मामाघरको नाम पनि त्यति नै प्यारो छ । कसैले म फलानो ठाँउको भन्यो भने हामी उसलाई माया गर्न थालिहाल्छौँ । अरू केही कुराको चासो हुँदैन । त्यति प्रिय थियो मामाघर मेरा लागि ।
सल्यानबाट दाङ खासै टाढा नभएकाले पनि होला, हामी हरेक दशैंमा दाङमा रहेको मामाघरमा जान्छौँ । मलाई मामाघर जान पाउनु एकदमै खुसीको क्षण लाग्छ, त्यो पनि आफूलाई मनपर्ने चाडमा । अघिल्लो वर्ष टीकाको केही दिनअघि नै दशैंका लागि भनेर हामी मामाघर गयौँ । आमा र बुवा ठूलो मामाको घरमा बस्नुभयो भाइ र म कान्छो मामाको घरमा । किनभने कान्छो मामाका छोराछोरी हाम्रै उमेरका भएकाले भाइ र म धेरैजसो कान्छो मामाको घरमै बस्छौँ । उहाँहरूसँग कुरा पनि मिल्छ । कतै घुम्न जानु परे पनि माइजूले कसैलाई नभन्ने सर्तमा हामीलाई सुटुक्क जान दिनुहुन्छ । त्यही भएर पनि हामीलाई कान्छो मामाको घर बढी रमाइलो हुन्छ ।
मामाघर गएको दिन माइजूले हाम्रा लागि भनेर अण्डा-करी बनाउनुभयो । खाना खाइसकेपछि हामी दाइ र दिदीको कोठामा गयौँ । माइजूले, “तिमीहरूलाई उता सुत्न अप्ठ्यारो हुन्छ भने म बैठक कोठामा बिस्तारा ठिक्क पारिराख्छु, गफ सकेर सुत्न यतै आए पनि हुन्छ” भनेर गिलासभरी बाक्लो तरसँगको दूध थमाएर आफू सुत्न जानुभयो । माइजू गएपछि हामीलाई के चाहियो र ढोका बन्द गरेर गफ गर्न थाल्यौँ । कसको कोसँग लभ परेको, कसको कोसँग ब्रेकअप भएको, कसले फेसबुकमा कस्तो फोटो राख्यो, के कमेन्ट आयो देखि अरू के के हो के के !
गफ गर्दागर्दै २ बज्न थालेको थियो । बेला बेलामा माइजूले छिटो सुत भोलि सबेरै उठ्नुपर्छ भनिराख्नु भएको थियो । तर पनि हामी गफ मै मस्त थियौँ । माइजूले भोलि बिहानै हामीलाई तुलसीपुर बजार लैजाँदै हुनुहुन्थ्यो दशैँको सपिङ गर्न पनि । त्यही भएर पनि उहाँले हामीलाई चाँडै सुत भनिराख्नु भएको थियो । हामीलाई भोलि माइजूले गर्दिने सपिङभन्दा गफ नै प्यारो थियो । मेरो भाइ मसँगै टाँसिएर हाई–हाई गर्दै थियो । निद्रा पनि किन नलागोस्, रातीको दुई जो बज्नै लागेको थियो । भाइ निदाउन लागेको देखेपछि दिदीले, “साने सुत्न खोजिराको छ, हामी पनि सुतौँ, अहिले फेरि ममी कराउन आउनुहुन्छ” भनेपछि बल्ल हामी सुत्ने तरखर गर्न लाग्यौँ । दिदी र म एउटा खाटमा भाइ र दाइ अर्कोमा सुत्नुभयो ।
म झपक्क निदाउनै लागेकि थिएँ, त्यहीबेला मलाई कसैले सुमसुम्याएजस्तो फिल भयो । सुरुमा त दिदीको हात खुट्टा बोकाएर सुत्ने बानी छ, उहाँकै हात होला भनेर वास्ता गरिनँ । फेरि वास्ता गरिराख्नु पर्ने, लौ न कसैले केही गर्छ कि भनेर सोच्नुपर्ने ठाँउमा पनि त थिइनँ म । त्यही भएर पनि बेवास्ता गरिराखेँ । तर, बिस्तारै-बिस्तारै कसैले मलाई जानी जानी चलाइरहेजस्तो फिल हुन थाल्यो । नराम्रो सोच्ने त कुरै थिएन । किनभने, म मेरो मामाको घरमा दिदी र दाइसँग थिएँ ।
तरपनि त्यो हात बिस्तारै मेरो शरीरको प्राइभेट पार्टमा सल्बलाउन थालेपछि मनमा चिसो पस्यो । एकदमै डर लाग्यो । फेरि, एक मनले सोचेँ दिदीले सपना देख्नुभयो होला, त्यहीभएर दिदीको हात झुक्किएर मेरो स्तनमा पुग्यो । अनि आँखै नखोली हात हटाइदिएँ अनि अर्काे पट्टी फर्किएर सुतेँ । तर, अर्काे पट्टी फर्केपछि झन छिटो छिटो ती हातहरू मेरा स्तनमा सलबलाउन थाले । कसैको ओठ मेरो ओठ नजिक आएको जस्तो लाग्यो । आत्तिएर हातले नजिक आएको ओठ धकेलेर उठ्दा दाइ अगाडि हुनुहुन्थ्यो । अझैपनि दाइको हात मेरो स्तन मै थियो । म आत्तिएर चिच्याउन लाग्दा मेरो स्तनबाट हात निकालेर दाइले च्याप्प मेरो मुख समाउनुभयो । म बोल्न पाइनँ । मलाई सपना हो कि विपना छुट्याउनै गाह्रो भयो । मलाई त्यति धेरै माया गर्ने, प्राण जत्तिकै मान्ने दाइले यो के गर्दै हुनुहुन्छ ? मैले कल्पना पनि गर्न सकिरहेकी थिइनँ । तर, विश्वास कसरी नगरुँ ? आँखै अगाडि थियो सबै कुरा !
म चिच्याउन प्रयास गर्दै थिएँ, दिदीलाई बोलाउन प्रयास गर्दै थिएँ । तर दाइले यति जोडले मलाई अँठ्याएको थियो कि मेरो मुखबाट सास पनि मुस्किलले निस्किँदै थियो । दाइ मेरो कान नजिकै आफ्नो मुख जोतेर केही फुसफुसाइ रहेको थियो, “नानी कसैलाई नभन्, सरी नानी, आइन्दा यस्तो गर्दिन बैनी, कसैलाई नभन्…”
मलाई थाहा छैन, म यो कुरा आज झण्डै एक वर्षपछि किन भन्दैछु ? मलाई थाहा छैन त्यो बेला मैले मामा माइजू, आमा बुवा र सँगै सुतेकी दिदीलाई किन भन्न सकिनँ ? अनि थाहा छैन मैले दाइलाई माफ गरेँ या गरिनँ ? तर, यत्ति थाहा छ, आफ्नै दाइमा पनि राक्षस लुक्दो रहेछ ।
(यो लेख कुनै माध्यमबाट प्रसार गर्नु परेमा www.gulabisambad.com लाई स्रोत उल्लेख गर्नुहोला ।)