Gulabisambad

post-header

–गुलाबी संवाद

म बाआमा र भाइ बस्ने फ्ल्याट साँघुरो गल्लीमा थियो । बा बिहानै तरकारी पसल खोल्न जानुहुन्थ्यो । आमा हामीलाई खाना बनाएर खुवाइवरी असन साहुको पसलमा काम गर्न जानुहुन्थ्यो । हामी भने सधैँ हतारहतार स्कुलतिर कुदिहाल्थ्यौँ । बेलुका हामी आउने बेलासम्म बाआमा कामबाट फर्किसक्नुभएको हुनुन्नथ्यो । बाआमाबिनाको झण्डै डेढ घन्टा भाइ र मलाई सबैभन्दा प्यारो समय थियो ।

हामी घरमा जे भेटिन्छ, स्वाद मानेर खान्थ्यौँ । एक अर्कासँग झगडा गर्थ्यौँ । सिरानी, कुसन, किताब जे भेटिन्छ त्यसले एक अर्कालाई हानाहान गरेर खेल्थ्यौँ । भाइलाई हानेको झटारो लाग्यो भने म खुसी हुन्थेँ । झटारो छल्न सकेका बेला भाइ खुसी हुन्थ्यो । हामी कहिले घरको झ्यालबाट परपर हेर्ने कोसिस गर्थ्यौँ। फ्ल्याट छेउछाउका घरमा के कसो भइरहेको छ भनेर चियोचर्चोे गर्थ्यौँ ।

अरूको चियोचर्चो गर्न हामीलाई खुबै रमाइलो लाग्थ्यो । हामी बस्ने घरमा धेरै परिवार भाडामा बस्थे । कतिपय परिवार त एउटै कोठामा पनि अटाएर बसेका थिए । हामी ती कोठाकोठाका ढोकामा गएर कान थापेर सुन्थ्यौँ । के सुनियो भनेर भाइले मलाई भन्थ्यो, मैले भाइलाई भन्थेँ । अरूको झ्यालभित्र चियाएर हेर्न खोज्थ्यौँ । के के देखियो भनेर एक अर्कालाई बढो रहस्यमय तरिकाले कथा हाल्दै सुनाउथ्यौँ ।

एकदिन स्कुलबाट फर्केपछि भाइ हतारहतार ट्वाइलेट पस्यो । बिहानैदेखि उसको पेट बिग्रेको थियो । त्यही भएर धेरैबेर ऊ ट्वाइलेटबाट निस्केन । म झ्यालबाट अर्को घरको झ्यालतिर चियाउन थालेँ । त्यो झण्डैझण्डै पर्खाल जोडिएको अर्को घरको भुइँतला थियो । म पहिलो तलाबाट आँखा ओरालेर त्यो झ्यालभित्रका गतिविधि नियाल्दै थिएँ । पर्दा थोरै खुलेको थियो । हावाको झोक्कामा बेलाबेला पर्दा हल्लिन्थ्यो अनि कोठाभित्रको दृश्य अलि धेरैबेर देखिन्थ्यो । त्यो कसको कोठा थियो, त्यहाँ कोको बस्थे ? तिनीहरू के काम गर्थे ? तिनीहरूको नाम के हो ? तिनीहरूको मूल घर कहाँ हो रु मलाई केही पनि थाहा थिएन । तर पनि झ्यालभित्रको गतिविधिको मलाई खुबै चासो थियो ।

त्यहाँ एक जोडी थिए । केटा र केटीको । तिनीहरू एक अर्काको अँगालोमा भएजस्तो देखिन्थे । झ्यालको पर्दा हावाको झोक्काले अलि पर सारेका बेला त्यहाँभित्रको एउटा मधुरो दृश्य देखिन्थ्यो । म पर्दा पूरै खुलोस् र भित्रको दृश्य सजिलोसँग देख्न पाऊँ भन्ने प्रतीक्षामा थिएँ ।
ती श्रीमान् श्रीमती थिए कि ब्वाइफ्रेन्ड गर्लफ्रेन्ड थिए, मलाई थाहा थिएन । म त आफूले यसअघि नदेखेको दृश्य देख्न आतुर थिएँ । मेरो मनभित्र अनेकन खुल्दुलखीका बुँदहरू उम्रिरहेका थिए । झ्यालभित्रको दृश्य चलायमान देखिन्थ्यो । हेर्दा(हेर्दै झ्यालभित्रको दृश्य झनै धेरै चलायमान बन्न थाल्यो ।
त्यत्तिकैमा भाइले ट्वाइलेटको ढोका घद्राक्क गरेर खोल्यो ।

“ओइ कहाँ छस् ? यहाँ ट्वाइलेटमा पानी छैन । एक बाल्टी पानी ल्याइदे न ।”

उसको रुखो आवाज मेरो कानमै ठोक्कियो । मलाई झनक्क रिस उठ्यो । सुरुमा त नसुनेजस्तो गरेँ । तर ट्वाइलेटभित्रबाट ऊ झनै चर्को स्वरमा कराउन थाल्यो ।

झ्यालभित्र अब के हुन्छ होला रु कतिबेला अलिक धेरै हावा चल्ला र भित्रको दृश्य अलिक प्रस्टसँग देख्न पाइएला भनेर मलाई आत्तुरी लाग्या थियो । त्यही बेला भाइले लास्टै गिदी हान्यो । कस्सेर एक झापड हान्दिऊँ जस्तो पनि लाग्यो । तर सम्हालिएँ ।

भाइलाई ट्वाइलेटमा एक बाल्टिन पानी दिएर फर्किने बेलासम्म धेरै कुरा भइसकेछ । अघि देखिएको झ्यालको पर्दा पूरै खुला थियो । त्यहाँभित्र कुनै चल–अचल दृश्य थिएन । थियो त केवल हावाको झोक्काले हल्लिरहेको पर्दाको एक छेउ ।

मेरो मनभित्र अनेकन खुल्दुलीहरू थिए । खासगरी यौनका मामिलामा । उमेर बढ्दै जाँदा यस्ता कुराले झन धेरै खुल्दुली जन्माउँदो रहेछ । अरूको निजी जीवनबारे झनै धेरै चासो हुँदोरहेछ । अँगालो मारेर हिँडिरहेका केटाकेटी देख्दा, हात समातेर हिँडिरहेका केटाकेटी देख्दा, कसैको कोठाभित्र भइरहेको केही गतिविधि चियाएर हेर्न पाउँदा मलाई अनौठो खाले कुतुकतीले सताउँथ्यो । यस्तो किन हुन्थ्यो ? के यो उमेर अनुसार हुँदै जाने कुरा हो ? म यस्ता कुरा बाआमासँग सोध्न सक्दिनथेँ । भाइलाई केही कुरा त भन्थेँ तर सबै कुरा बताउन अप्ठ्यारो मान्थेँ । भाइ छ नै त्यस्तो । केही कुरा गोप्य है भनेर सुनायो भने केही दिनपछि आमालाई भनि छाड्थ्यो । त्यसको मन सारै चन्चल थियो । केही कुरा अडिन नसक्ने त्यसको मन थियो ।

मैले यस्तो खुल्दुलीबारे स्कुलमा सरहरूलाई सोध्न सकिनँ । आफूभन्दा ठूला दाइहरूलाई भन्न सकिनँ । छटपटीले सताउँथ्यो । कोही साथीहरू युट्युबमा अनेकन भिडियो देखाएर मेरो खुल्दुली मेट्न खोज्थे । तर त्यस्ता भिडियो र साथीहरूको कुरा त बालुवामा पानी खन्याएजस्तो हुन्थ्यो । मेरो मनको तीर्खा मेट्न युट्युबमा भिडियो, साथीहरूको उडन्ते गफ काफी थिएनन् । मेरो खुल्दुली उमेरसँगै हुर्किरहेको थियो ।

(यो लेख कुनै माध्यमबाट प्रसार गर्नु परेमा www.gulabisambad.com लाई स्रोत उल्लेख गर्नुहोला ।)

Previous post
Next post
Related Posts
Leave a Reply

Your email address will not be published. Required fields are marked *