Gulabisambad

post-header
Gulabisambad

दोहोरिएका दुर्व्यवहार

–गुलाबी संवाद

“के छ खबर तेरो ?”
स्कुल छुट्टि भएर घर फर्किने बेला लाग्ने एसेम्ब्ली लाइनमा उभिइरहेकी ११ वर्षकी मलाई अङ्कमाल गर्दै स्वास्थ्य पढाउने सरले सोध्नुभयो । असजिलो मान्दै उत्तर दिएँ, “ठीकै छ सर ।” “राम्रोसँग पढ् है…पढाइमा राम्रो गर्नुपर्छ”, अङ्कमाल गरिरहेकै अवस्थामा सरले फेरि भन्नुभयो । “हस् सर”, कुमबाट सरको हात छुटाएँ । अनि घरतिर दौडिएँ ।

“कक्षामा पनि यो खासै बोल्दिन । सोधेको कुरा भन्छे, नत्र चुपचाप”, प्यारेन्ट्स–टिचर्स मिटिङमा हल्का हाँस्दै, ममीकै अगाडि मेरो देब्रे गाला चिमोट्दै म्याथ सरले टिप्पणी गर्नुभयो । सरको त्यो चिमोटाइले गाला खासै दुखेन । तर, मन नमज्जाले दुख्यो । आजसम्म पनि दुखिरहेको छ ।

२ कक्षामा पढ्दाको कुरा हो । “होमवर्क नगर्ने जति अगाडि आओ ।” इङ्लिस पढाउने सरको कडा निर्देशन आयो। त्यो स्वीकार्दै, म र मेरा केही साथी कक्षाकोठाको अगाडि गयौँ । सरले केटा साथीहरूलाई “कुखुरा” बनेर कक्षाभर हिँड्ने सजाय दिनुभयो । हामी केटीलाई भने “फ्रक” माथि फर्काउन लगाएर हाम्रो पुट्ठामा हिर्काउनुभयो ।

यौन दुर्व्यवहारका यी केही प्रतिनिधि घटना, झण्डै १ दशक अगाडिका हुन् ।

सायद तपाईँका पनि यस्तै भोगाहरू होलान् । वा तपाईँले पनि यस्ता भोगाइबारे सुन्नुभएको, पढ्नुभएको होला ।

त्यतिबेला म अबोध स्कुले छात्रा थिएँ । सबैखाले राम्रा, नराम्रा कुरा पर्गेल्न सक्ने उमेर थिएन । छुट्टाउन सकेका कुरालाई पनि गहिराइमा गएर बुझ्न सक्ने खुबी थिएन । कतिपय अवस्थामा खुबी हुँदाहुँदै पनि मन नपरेका हर्कतविरुद्धमा बोल्न सक्ने हिम्मत थिएन । लाज र डरले सबैभन्दा पहिला गिजोल्थ्यो ।
त्यसैले स्कुलमा म र मेरा साथीहरू बारम्बार यौन दुर्व्यवहारको सिकार भइरह्यौँ । कहिले कक्षामा हल्ला गरेको निहुँमा, कहिले होमवर्क नगरेको निहुँमा, कहिले स्कुल ढिला गएको निहुँमा त कहिले ‘माया’ गरेको निहुँमा ।

निहुँ जेसुकै होस्, दुर्व्यवहार त दुर्व्यवहार नै थियो । तर, हामीलाई मन नपरेको त्यो कुरा खासमा के थियो हामीलाई थाहा थिएन ।
थाहा होस् पनि कसरी रु हामीलाई कहिल्यै राम्रो–नराम्रो छुवाइबारे सिकाइएन । कसैले नराम्रो व्यवहार गरी हाल्यो भने त्यसको प्रतिकार गर्न सिकाइएन । “नो मिन्स नो” भन्ने वाक्यांश त सुन्नसम्म पाइएन । त्यस्तो परिस्थितिमा हुर्किएको हाम्रो बाल मस्तिष्कले यस्ता घटनाविरुद्ध आवाज उठाउनुपर्छ भन्ने त थाहै पाएनौँ ।

बेलाबेला घरका कसैलाई स्कुलमा फलानो सरले मलाई “गाला चिमोट्नुभयो”, “अङ्गालो हाल्नुभयो” भनेर सुनाउँदा मात्रै पनि “यो कुरा अरूलाई नभन् नि” भनेर खबरदारीको औँला ठडिन्थ्यो । कहिलेकाहीँ भने “सरले त माया गर्नुभाको”, “तेरो बाबाजस्तै, तेरो दाइभाइ जस्तै त हो नि सरपनि” भन्ने जस्ता प्रतिक्रिया सुन्न पाइन्थ्यो । कहिले भने, “सरले त्यस्तो गरे पनि केही नभन्नू, सहेर बस्नू”, “अबदेखि त्यो सरको वरपर नजानू”, “छोरी मान्छे आफैँ जोगिएर हिँड्ने हो” जस्ता अर्ति उपदेश पाइन्थ्यो ।

जेजस्ता प्रतिक्रिया पाइयो, अधिकांश गलत पाइयो । तर ती प्रतिक्रिया गलत हुन् भन्ने बोध आजभोलि हुँदैछ । बेलैमा थाहा पाएको भए ???

पछिल्लो समय स्कुलमा शिक्षकहरूले बारम्बार यौन दुर्व्यवहार गरेका घटना धेरै भइरहेका छन् । यस्ता घटना विवरण पढिरहँदा, सुनिरहँदा स्कुले जीवनमा आफूले भोगेका दुर्व्यवहारका तीता अनुभवले अझै पनि मन कुँडिन्छ । शरीर सिरिङ्ग हुन्छ अनि डरले चिमोटिरहन्छ ।

तर त्योभन्दा धेरै चित्त त्यतिबेला दुख्छ, जतिबेला दुर्व्यवहार गर्नेकै समर्थन गरेर पुलिसचौकीसम्म पुगेको केसलाई मिलेमतोमा सामान्यीकरण गर्न खोजिन्छ । आखिर कस्तो मनोविज्ञानले दुर्व्यवहार जस्तो जघन्य अपराधलाई सामान्यीकरण गरिदिन्छ ? किन सबैभन्दा पहिले यस्ता घटना विरोधी आवाजलाई निरुत्साहित पार्न प्रयास गरिन्छ ?

हामीहरूमा देखिँदो वा नदेखिँदो गरी गढेका यस्तै मानसिकताले यौन दुर्व्यवहारका घटनालाई बढावा दिइरहेको छ । घर, विद्यालय, शिक्षकशिक्षिका, आफन्ती, जसलाई हामी सबैभन्दा नजिकको ठान्छौँ, त्यहीँ र तिनै व्यक्तिसँग बालबालिका र किशोरकिशोरी यौन दुर्व्यवहार र हिंसाको बढी जोखिममा छन् ।
हामीले स्कुले जीवनमा भोगेका दुर्व्यवहारका शृङ्खला अहिले पनि रोकिएको छैन । विभिन्न माध्यम र शैलीबाट त्यस्ता घटना दोहोरिरहनु र घटनाविरुद्ध आवाज उठाउँदा पनि आलोचनाका स्वर सुनिनुले आउँदो पुस्तालाई पनि डर र सङ्कोचमा बाँच्न बाध्य बनाउँछ ।

(यो लेख कुनै माध्यमबाट प्रसार गर्नु परेमा www.gulabisambad.com लाई स्रोत उल्लेख गर्नुहोला ।)

Previous post
Next post
Related Posts
Leave a Reply

Your email address will not be published. Required fields are marked *