Gulabisambad

post-header
Gulabisambad

रमाइलो मेलाको नरमाइलो सम्झना

-नाम प्रकाशित नगर्ने सर्तमा, प्यूठान

सामान्य भाषामा, यौन दुर्व्यवहार भन्नाले कसैले कसैमाथि नराम्रो तरिकाले हेर्नु, छुनु वा छुन खोज्नु, नराम्रो ९अश्लिल० शब्दहरूको प्रयोग गर्नु, नराम्रा चित्र देखाउनु या अहिले फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत् देखाउनु हो । कतिपय मानिसहरू यस्ता हुन्छन् कि, आफूप्रति नराम्रो व्यवहार भइरहेको छ भन्ने थाहा पाउँदा पाउँदै पनि अत्याचार सहेर, चुप लागेर बस्ने गर्छन् ।

हो त्यसरी सहेर बस्ने, चुप लाग्नेमा म पनि पर्छु । मलाई मैले माथि भनेका ९यौन दुर्व्यवहारबारे० सबै कुरा थाहा छ । स्कुलमा नै मैले दुर्व्यवहारका बारेमा थाहा पाएकी हुँ । मलाई कुन कुरा दुर्व्यवहार हो, कुन होइन, कस्तो हेराइ राम्रो हो कस्तो होइन, कस्तो छुवाइ राम्रो हो, कस्तो होइन भन्ने थाहा छ । अझ कुनकुन ठाउँमा कसले कसले दुर्व्यवहार गर्न सक्छ र आफू त्यसबाट कसरी बँच्नुपर्छ भन्ने पनि थाहा छ । तर, थाहा भएर पनि आफूमाथि भएको दुर्व्यवहारका बारेमा चुप लाग्ने मान्छे मै हुँ ।

एकदिनको कुरा हो, म अनि मेरा साथीहरू मिलेर गाउँभन्दा अलि पर लाग्ने मेला हेर्न जाने सोच बनाएका थियौँ । हामीले घरमा पनि भन्यौँ अनि घरबाट पनि, “जाऊ न त स्कुल छुट्टि भएका बेला”, भनेर अनुमति दिनुभयो । योजना अनुसार हामी सफल भयौँ । हामीहरू सबैजना एकदमै एक्साइटेड थियौँ । किनकि, त्यो मेला हाम्रा लागि एकदमै नौलो थियो । हामी पहिलोपटक त्यहाँ जाँदै थियौँ । पहिले नै सल्लाह गरेअनुसार हामी सबैजना बस चढ्ने ठाउँमा जम्मा भयौँ र त्यहीँबाट बस चढ्यौँ । हामी बसमा पनि नाच्दै, गाउँदै रमाइलो गरिरहेका थियौँ । त्यस्तैमा हामी झर्ने ठाउँ आयो । हामी आफ्नो बस भाडा तिरेर बसबाट ओर्लियौँ । 

बसबाट ओर्लिएर केही बेर हिँडेपछि बल्ल मेला लाग्ने ठाउँमा पुगिने रहेछ । हामी मेलामा जान लागेका अन्य सबै मान्छेहरू गएतिर गइरहेका थियौँ । अलिकता अगाडि पुगेपछि मलाई लाग्यो, हामीलाई कसैले पछ्याइरहेको छ । तर, फेरि अर्को मनले तुरुन्तै सोचेँ, “उनीहरू पनि हामीजस्तै मेला हेर्न जाने लागेका त होलान् । बाटो एउटै भएपछि कहिले अघि कहिले पछि त भैहाल्छ नि ।” मैले उनीहरूलाई वास्ता गरिनँ । साथीहरूलाई पनि भनिनँ । हामीहरू अन्ताक्षरी खेल्दै हिँडिरहेका थियौँ । 

हामीहरू केही अगाडि बढिसकेका थियौँ । त्यतिकैमा, “ओ मैयाँ” भन्दै एकजनाले सिट्ठी बजायो । हामीले वास्ता गरेनौँ । हामी आफ्नै तालमा हिँडिरहेका थियौँ । फेरि, दुई तीन जनाले एकैपटक सिट्ठी बजाउँदै, “ओ मैयाँहरू” भने । त्यसपछि भने मलाई अलि डर लाग्यो । हुन त हामी पनि पाँच जना थियौँ । तरपनि, त्यो हाम्रा लागि नयाँ ठाउँ, नयाँ माहौल थियो । त्यतिकैमा मेरो नजिक आएर एकजनाले मेरो कपाल चलाउँदै भन्यो, “के सारो हो मैयाँ, यति हत्ते गरेर बोलाउँदा पनि वास्ता नगर्ने १” मेरो मुटुले ठाउँ छोड्यो । अर्को एकजनाले मेरो साथीको हात तान्दै, “हामीलाई पनि अन्ताक्षरी खेलाऊ न, हामी पनि अन्ताक्षरीको मजा लिन्छौँ”, भन्दै जिस्काइरहेको थियो । मलाई एकदमै डर लाग्यो । बेकारमा मेला हेर्न आइएछ जस्तो लाग्यो । उनीहरूले हामीलाई अनेक नराम्रा नराम्रा इसारा गरिरहेका थिए ।  

मैले हिम्मत गरेर भनेँ, “के गर्नुभएको यस्तो लाज लाग्दैन तपाईँहरूलाई रु” मैले यति भनेपछि उनीहरू अझ धेरै जिस्किन थाले । हामीलाई एकदम नराम्रो इसारा गरिरहेका थिए । एकजना केटा जसले मेरो कपाल चलाउँदै जिस्काइरहेको थियो, ऊ त मेरो यति नजिक थियो कि उसको सास पनि मैले महसुस गरिरहेकी थिएँ । उसको मुखबाट ह्वास्स रक्सीको गन्ध आएको थियो । अगाडि(पछाडि त्यति धेरै मान्छे हुँदा पनि उनीहरूले हामीलाई जिस्काउन, छुन छोडेका थिएनन् । उनीहरूलाई कसैको डर पनि थिएन । 

हामीहरू हिँडी नै रहेका थियौँ । ती केटाहरू पनि हामीसँगै घरि टाँस्सिदै, घरि हामीलाई इसारा गर्दै वरिपरि हिँडिरहेका थिए । त्यत्तिकैमा त्यही केटा जो मेरो एकदम नजिक थियो, उसले मेरो गालामा हात राख्दै भन्यो, “यति नरम गाला टोक्दै बेलुन खेलाउन पाए त”। उसले मेरो स्तनमा हात लग्यो । मैले उसको हात झट्कारेर हटाएँ । उता अर्की साथीको हालत पनि उस्तै थियो । उसलाई पनि कताकता छुने जिस्काउने गरिरहेको थियो । दुईजना केटा हामी पाँच जना केटी हुँदा पनि हामीले उनीहरूलाई केही गर्न सकेका थिएनौँ । न त मेला हेर्न जान मन लागिरहेको थियो, न त घर फर्किन सक्ने हिम्मत नै आएको थियो। घर फर्किँदा पनि हाम्रै पछि लागेर झन् नराम्रो केही गर्छन् कि भनेर मन एकदमै अत्तालिएको थियो । बरु, मेलामा गएपछि भिडभाडमा हामी उनीहरूभन्दा टाढा हुन्छौँ जस्तो लाग्यो र फटाफट हिँड्यौँ र मेलाको भिडभाडमा भित्र पस्यौँ । 

मान्छेहरू सबै आफ्नै धुनमा मस्त थिए । कसैलाई कसैको मतलब थिएन । कोही पिङ खेल्दै थिए, कोही नाच्दै थिए । कोही भने जुलेबी खाने ठाउँमा भिड लागिरहेका थिए । हामी पाँचजना भने एक अर्काको नजिकै बसेका थियौँ । हामीलाई मेलाको मजा लिने भन्दापनि ती केटाहरूको आँखा छलेर एकछिन बस्ने र घर फर्किनको लागि निस्किने दाउमा थियौँ ।

अचानक पछाडिबाट कसैको हात मेरो कम्मरभन्दा माथिको भागमा सल्बलायो । जाडो महिना भएकाले चिसो हात मेरो शरीरमा परेको उत्तिखेरै थाहा पाएँ । यसो हात तान्दै पछाडि फर्केर हेरेको त अघिकै केटा रहेछ १ मैले उसको हात बेसरी टोकिदिएँ । ऊ “पख् तँलाई” भन्दै त्यहाँबाट निस्कियो । मैले साथीलाई पनि केही भन्न सकिनँ । त्यत्रो भिडमा त्यसरी हातपात गर्ने मान्छेलाई मैले अरू केही गर्न सकिनँ । त्यही भिडमा यो केटाले यस्तो नराम्रो व्यवहार गर्‍यो भनेर चिच्याएको भए पनि कोही न कोही मान्छेले त हामीलाई मद्दत गर्थे होला । ती केटाहरूलाई उनीहरूले गरेको कुकर्मको सजाय दिन्थे होला । तर, मैले केही गर्न सकिनँ । मिसले स्कुलमा त्यति राम्रोसँग सिकाउनुभएको थियो– सुरुमा नराम्रो व्यवहार गर्दै छस् भनेर भन्ने, मानेन भने चिच्याएर अरूको सहयोग लिने, पुलिसलाई भन्ने भनेर ।

तर मेलामा सुरक्षा दिन आएका पुलिसहरू त्यहीँ हुँदा पनि हामीले केही कदम चाल्न सकेनौँ । त्यही दिन हो, म पहिलोपटक रमाइलो मेला हेर्न गएको । तर, रामाइलो मेलामा नरमाइलो अनुभूतिबाहेक अरू केही गर्न सकिनँ ।

आजसम्म पनि त्यो घटना सम्झियो भने एकदमै नरमाइलो लाग्छ । उसले मलाई दुर्व्यवहार गर्दै छ, ममाथि गलत भइरहेको छ भन्ने थाहा पाउँदा पाउँदै पनि चुप लागेर बसेँ ।

उसको हात टोक्दिनुको सट्टा चिच्याएर कराएको भए, वा सुटुक्क साथीलाई भनेर पुलिसको सहयोग लिएको भए सायद मेरो मन शान्त हुन्थ्यो होला । ती बदमास केटाहरूले पनि अर्को पटक म जस्तै अर्की केटीलाई केही गर्नुभन्दा पहिले दश पटक सोच्न बाध्य हुन्थे होला । तर अहिले सोचेर के गर्ने रु धेरै समय बितिसक्यो । त्यो समय सम्झेर पनि खासै काम छैन ।

तर, त्यो दिनको घटनाले मलाई ठूलै पाठ सिकाएको छ । दुर्व्यवहार सहनु भनेको झन् त्यसलाई बढावा दिनु हो भन्ने मैले बुझेकी छु ।

(यो लेख कुनै माध्यमबाट प्रसार गर्नु परेमा www.gulabisambad.com लाई स्रोत उल्लेख गर्नुहोला ।)

Previous post
Next post
Related Posts
Leave a Reply

Your email address will not be published. Required fields are marked *