Gulabisambad

post-header
Gulabisambad

त्यो दुर्व्यवहार थियो कि किशोरावस्थाको कौतूहल…?

–नाम प्रकाशित नगर्ने सर्तमा

त्यो के थियो मलाई आजसम्म पनि थाहा छैन । 

म सानी अनि नबुझ्ने बालिका पनि थिइनँ जसले त्यो व्यवहार के थियो भनेर आजसम्म पनि छुट्याउन नसकूँ । 

म पोखरास्थित मामाको घरमा बसेर क्याम्पस पढ्थेँ । मामाका तीन छोराहरू, मामा, माइजू र म थिएम् । मामाका दुई जना छोराहरू (मेरा दाइ) विदेशमा हुनुहुन्थ्यो भने एकजना ममाथिका दाइ घरमा नै । 

म मामाको घरमा बसेर पढ्न थालेको धेरै समय भैसकेको थियो । घरबाट क्याम्पस आउनजान गाह्रो हुने भएकाले म मामाघरमा बसेर पढेकी थिएँ । शुक्रबार या अन्य कुनै छुट्टीमा फुत्त घर गइहाल्थेँ । हुन त मामा माइजूले मलाई कुनै कुराको कमी हुन दिनुहुन्नथ्यो । मामाहरूको छोरी नभएकाले उहाँहरूको लागि छोरी भनेपनि, भान्जी भनेपनि म नै थिएँ । तैपनि, किनकिन विदा भयो या शुक्रबार आयो भने घर जान मन लागिहाल्थ्यो ।

तर, एकदिनको कुरा हो, क्याम्पस छुट्टी हुँदा पनि म घर गएकी थिइनँ । कारण, मेरो परीक्षा आउन धेरै दिन बाँकी थिएन । शनिबारको दिन कलेज जान नपर्ने भएकाले म बिहानै नुहाउन आँगनको बाथरुममा पसेँ । माइजू भान्सामा खाना बनाउँदै हुनुहुन्थ्यो । मामा भने करेसाबारीमा हुनुहुन्थ्यो । अनि दाइ आफ्नै कोठामा । म बाथरुममा पसेर गीत गाउँदै नुहाउँदै थिएँ । एक्कासि बाथरुममा अँध्यारो छायाजस्तो देखियो । मैले सोचेँ बाहिर बादल लागेछ । त्यही भएर घाम छेकियो अनि अँध्यारो भयो होला । तर, बाहिर चकमन्न घाम लागेको थियो । 

बाथरुमको भेन्टिलेटरबाट हेर्न खोजेँ । तर, केही देखिएन । अनि म आफ्नै सुरमा गीत गाउँदै नुहाउन थालेँ । फेरि, एकैछिनमा केही स¥याक्क गरेको आवाज आयो । आवाजसँगै मलाई डर लाग्न थाल्यो । अनि बिस्तारै निहुरिएँ र बाथरुमको ढोका तलपट्टि रहेको खाली ठाँउबाट आँखा बाहिर पु¥याएँ । मेरो आँखा ठाँउको ठाँउ रोकिए । म स्तब्ध भएँ । मैले केही सोच्नै सकिनँ । त्यो समयमा कस्तो प्रतिक्रिया जनाउने भन्ने पनि थाहा भएन । म मूर्तिजस्तो भएँ । कारण, ढोकाको तलबाट मेरो मामाको छोरा, अर्थात दाइले म नुहाउँदै गरेको हेर्दै रहेछ ! केही बेरपछि म बल्लतल्ल बाहिर निस्केर कोठामा गएँ र ढ्याम्म ढोका लगाएर धेरैबेरसम्म रोइरहेँ । 

योभन्दा पहिले उसले कहिल्यै पनि त्यस्तो व्यवहार गरेको थिएन । कहिल्यै नराम्रो शब्द पनि बोलेको थिएन । न त कहिल्यै मैले मेरा प्राइभेट अंगहरूमा उसका आँखा पुगेको देखेकी थिएँ । उसले त मलाई एकदमै माया गथ्र्यो । म त उसकी एकलौती बहिनी थिएँ । तर, त्यो दिन उसलाई के भयो म आफैलाई थाहा छैन । किन उसलाई मेरो शरीर हेर्न मन लाग्यो ? किन उसले त्यसरी लुकेर म नुहाएको हे¥यो ? पहिले पनि त्यसरी हेथ्र्यो वा त्यो दिन मात्रै हो ? मैले कुनै कुराको उत्तर पाउन सकिनँ । मलाई यो कुरा मनमा लिइराख्नु भन्दा बिर्सनु नै राम्रो होला जस्तो लाग्यो ।  मैले यो कुरा बिर्सने प्रयास गर्न थालेँ । मामा माइजूलाई केही पनि भनिनँ । भन्न पनि मन लागेन । 

केही समयपछि मेरो परीक्षा सकियो । सबैकुरा नर्मल चलिरहेको थियो । एकदिन साथीहरूसँग घुमेर साँझ घर फर्किएर कोठामा लुगा फेर्दै थिएँ । कोठाको पर्दा ज्यादै नै पातलो भएका कारण बत्ति निभाएँ । बत्ति निभाउँदै गर्दा झ्याल बाहिरबाट एउटा कालो छाया फुत्त भाग्यो । मलाई अँध्यारोमा पनि लुगा फेर्न डर लाग्यो । मैले त्यो कालो छाया प्रस्टसँग चिनेँ । छायामा देखिएको आकृति त्यही दाइको थियो ! मलाई अब भने एकदमै डर लाग्यो । ऊ बारम्बार किन लुकेर मैले नुहाउँदै गर्दा, लुगा फेर्दै गर्दा, म सुतेको बेला हेर्छ ? मैले बुझ्नै सकिनँ । म डरले लत्रिएकी थिएँ । कसैलाई भन्न सकिनँ । भन्नको लागि अरू त को थियो र, सिवाय मामा माइजू । तर, मैले हजुरको छोराले मलाई यस्तो गर्छ भनेर भन्न सकिनँ ।

तर, मामा माइजूले यो कुरा थाहा पाउनु भएको रहेछ ।

एकदिन, मामा माइजूले रोएर, मेरो खुट्टा ढोेगेर माफी माग्नुभयो । अबदेखि त्यस्तो गर्दैन भान्जी भनेर मलाई सम्झाउनुभयो । दाइलाई बेस्सरी गाली गर्नुभयो । अब फेरि, त्यस्तो गरेको थाहा पाए पुलिसकोमा लैजाने समेत भन्नुभयो । मामा माइजू रोएको देख्दा मलाई एकदमै नराम्रो लाग्यो । त्यसको केही दिनसम्म माइजू मलाई देख्ने बित्तिकै रुनुहुन्थ्यो । 

आज यत्तिका वर्ष हुँदा पनि मेरो दिमागबाट ती कुराहरू हट्न सकेका छैनन् । आखिर किन दाइले त्यस्तो ग¥यो भन्ने कुराले अझै पनि मलाई सताउँछ । उसको घरमा आमाबाहेक अरू कोही केटी मान्छे नभएका कारण केटी मान्छेको शारीरिक बनावट कस्तो हुन्छ भनेर उसले बारम्बार म नुहाउँदा, लुगा फेर्दा त्यसरी हेर्न खोज्यो ? उसको कौतूहल मेटाउनका लागि मात्रै थियो या अन्य केही कारण थियो । उसलाई मात्रै त्यस्तो भएको हो कि उसका उमेरका अरू केटाको व्यवहार पनि त्यस्तै हुन्थ्यो ?

आखिर त्यो के थियो ? जानाजान गरेको  दुर्व्यवहार या किशोरावस्थाको कौतूहल ? 

(यो लेख कुनै माध्यमबाट प्रसार गर्नु परेमा www.gulabisambad.com लाई स्रोत उल्लेख गर्नुहोला ।)

Previous post
Next post
Related Posts
Leave a Reply

Your email address will not be published. Required fields are marked *