–नाम प्रकाशित नगर्ने सर्तमा, चितवन
२०६७ सालको कुरा हो । म १० कक्षामा पढ्थेँ । त्यतिबेला मेरो फेसबुक थिएन । तर, मेरा केही साथीको फेसबुक थियो । बेलाबखत उनीहरूले फेसबुकबारे अनेकन कुरा सुनाउँथे । फेसबुकमा नचिनेको मान्छेलाई पनि साथी बनाएको, तीसँग गफ गरेको, राम्राराम्रा फोटा अपलोड गरेको । फोटोमा नचिनेका मान्छेले पनि अनेकन कमेन्ट गरेको, यस्तै, यस्तै ।
उनीहरूको कुरा सुन्दा रमाइलो लाग्थ्यो । चिन्दै नचिनेको मान्छेसँग कसरी साथी बन्न सकेका होलान् ? कसरी बात मार्न जानेका होलान् ? सम्झेर पनि मलाई अनौठो लाग्थ्यो । बेलाबखत म आफैँलाई प्रश्न गर्थें, ‘के साँच्चै त्यस्तो पनि हुन्छ र ?’
कहिलेकहिले त साथीहरूले नचाहिने कुरा गरेर मलाई ‘पङ्गु’ त बनाएका छैनन् ? भनेर पनि शंका नगरेको होइन ।
साथीहरूका यस्ता कुरा सुन्दासुन्दै एकदिन स्कुलछेउ ‘साइबर क्याफे’ पसेर फेसबुक अकाउन्ट खोलेँ । सुरु सुरुमा त मलाई फेसबुक चलाउन पनि खासै आउँदैनथ्यो । तर, मेरो पनि फेसबुक छ है भनेर साथीहरूलाई सुनाउदा मख्ख पर्थेँ ।
धेरैजसोलाई ‘रिक्वेस्ट’ पठाइहाल्थेँ । ‘रिक्वेस्ट एसेप्टेड’ भनेर आएको ‘नोटिफिकेसन’ देख्दा दङ्ग पर्थेँ । लाग्थ्यो, यो गज्जपको दुनियाँ रहेछ ।
स्कुले पढाइको सिँढी उक्लेर कलेजको सिँढी चढेपछि माहौल फेरियो । नयाँनयाँ साथी थपिए । ती सबैलाई फेसबुकमा साथी बनाउने हुटहुटी बढ्यो । हल्काफुल्का कुरा भएकादेखि नाममात्र सुनेका, अझै कति त कलेजमा अनुहार मात्रै देखेका सबैलाई खोजी खोजी फ्रेन्ड रिक्वेस्ट पठाउन थालेँ । कलेजमा देखेका तर हेल्लो, हाइसम्म नभनेकाहरूबाट पनि ‘रिक्वेस्ट’ पाउन थालेँ । साथीको संख्या बढ्ने लोभले कुनै सोचविचार नगरी ‘रिक्वेस्ट एसेप्ट’ गर्न थालेँ ।
लाग्थ्यो, फेसबुकमा धेरै साथी हुनु भनेको सानको कुरा हो ।
त्यही सानलाई जोगाइराख्न, हरेक दिनजसो ‘साइबर क्याफे’ धाउँथेँ । अनेकका अनेक फोटो र स्टाटसमा लाइक र कमेन्ट गर्थेँ । ‘गफ गर्दैमा के नै बिग्रिन्छ र ?’ भन्ने सोचेर नचिनेका मान्छेसँग पनि कुरा गर्न तम्सिन्थेँ । यत्तिकैमा एकदिन फेसबुकमा ‘फ्रेन्ड’ भएको तर कहिल्यै नचिनेको मान्छेले म्यासेन्जरमा पठाएको फोटो देखेर मेरो सातो उड्यो ।
साइबरको क्याबिन प्लाइले बारेको बाक्साजस्तो थियो । क्याबिन हुन्थेन भने मैले म्यासेन्जरमा हेरेको फोटो छेउछाउकाले पनि देख्न सक्थे । धन्न अरूले देखेनन् । तर, एक झलक फोटो देख्दैमा म कामेजस्तो भएँ । त्यो मान्छेले आफ्नो नाङ्गै भएको फोहोरी फोटो पठाएको थियो । त्यो फोटो देखेर म आलसतालस भएँ ।
हत्तपत्त सबै म्यासेज डिलिट गरेर त्यो मान्छेलाई ‘ब्लक’ गरेँ । त्यसपछि पनि डर कम भएन । तर, नचिनेका मान्छेसँग फेसबुकमा नबोल्ने बानी भने विस्तारै कम हुँदै गयो ।
त्यो घटनाले मलाई नचिनेका व्यक्तिलाई फेसबुकमा साथी बनाउन नहुने रहेछ भनेर थाहा भयो । ‘फ्रेन्ड रिक्वेस्ट सेन्ड’ र ‘एसेप्ट’ गर्न मात्रै रमाउने मलाई, ‘अनफ्रेन्ड’ पनि गर्नुपर्छ भनेर सिकायो । त्यसपछि चिनेका र ‘म्युचुअल फ्रेन्ड’ देखाएकालाई मात्रै साथी बनाउने निर्णय गरेँ ।
लाग्थ्यो, चिनेकाले त त्यस्तो फोहोरी म्यासेज पठाउँदैनन् ।
तर म गलत रहेछु ।
म कक्षा १२ मा पढ्दाको कुरा हो । मेरै कलेजमा ब्याचलर पढ्ने, मभन्दा दुई ब्याच सिनियर दाइको अनौठो म्यासेज म्यासेन्जरमा आयो । तिहारको रमाइलो माहौललाई समेटेर मैले फेसबुकमा लेखेको स्टाटसलाई उनले कुन घृणित नजरले हेरे, मलाई थाहा छैन । यौन आशक्तिको भावसहित तुच्छ शब्द प्रयोग गरेर लेखेको म्यासेज, सुरुमा त उनैले पठाएका हुन् भनेर विश्वासै लागेन ।
कलेजमा सबैको नजरमा राम्रो विद्यार्थी, मिलनसार र असल व्यवहारले चिनिएका, राजनीतिक रूपमा उत्तिकै सक्रिय व्यक्तिले सामाजिक सञ्जालको माध्यमबाट नीच चरित्र देखाउनसम्म पछि नपर्दो रहेछ भनेर झसङ्ग भएँ ।
त्यतिबेला मलाई त्यस्ता घटनाको सामना गर्नु भनेको दुर्व्यवहार भोग्नु हो भन्ने थाहा थिएन । त्यस्ता घटनाका विरुद्धमा साइबर अपराध अन्तगर्तको मुद्दा चलाइन्छ भन्नेसम्मको सामान्य ज्ञान नहुँदै म दुर्व्यवहारको सिकार भएँ । पछिपछि साथी सर्कलमा यस्ता दुर्व्यवहारका बारेमा कुरा सेयर गर्दा, साथीहरूले पनि आफ्ना त्यस्तै तिता अनुभव सुनाउथेँ ।
केटी साथी मात्रै होइन, केटा साथीहरूले पनि सामाजिक सञ्जालका माध्यमबाट त्यस्तै दुर्व्यवहार भोग्दा रहेछन् भनेको सुन्दा अचम्म लाग्थ्यो । केही घटना त कल्पनासम्म गर्न नसकिने खालका हुन्थे । तर, साइबर सुरक्षा, साइबर अपराध र यस्ता अपराधका विरुद्धमा बनेका कानुनका बारेमा जानकारी नहुँदा, मेरा साथीहरू पनि मैलेजस्तै दुर्व्यवहार भोग्न बाध्य थिए ।
हिजोआज म धेरै सचेत र सजग भएर फेसबुकलगायतका सामाजिक सञ्जाल प्रयोग गर्छु । तर, विभिन्न समयमा समाचार र सामाजिक सञ्जालकै भित्तामा आइरहने साइबर अपराध सम्बन्धी घटना र पोस्टले भने मन अमिलो बनाउँछ । विशेषगरी, भर्खरभर्खर सामाजिक सञ्जालमा आफ्नो अकाउन्ट खोल्नुभएका किशोरकिशोरी भाइबहिनी यस्ता अपराधको सिकार भएका घटना सुन्दा, मलाई ती घटनाको याद आइहाल्छ । म त्यतिबेला कति धेरै डराएकी थिएँ । घटनाको भएको रात अबेरसम्म मनमा कति धेरै कुराहरू खेलेका थिए ।
सामाजिक सञ्जाल कसरी सुरक्षितसँग चलाउने, यसबाट कस्ताकस्ता अपराध पनि हुन सक्छन्, तीबाट कसरी बच्ने, खराब मनोवृत्ति भएकाहरूले मलाईजस्तै गरे भने कसलाई भन्ने, के गर्ने भन्नेबारे मलाई स्कुले जीवन र कलेजका सुरुआतका वर्षमा कसैले सिकाएन ।
हुन त त्यतिबेला सामाजिक सञ्जालबाट हुने अनेकन अपराधको श्रृंखला अहिलेजस्तो थिएन । तैपनि फेसबुक, इन्स्टाग्राम, लगायतका सामाजिक सञ्जालबाट हुने अपराधबारे अभिभावक र विद्यालयले सिकाउने हो भने मैलेजस्तो मानसिक यातना र डर सायदै अरूले खेप्नुपर्छ ।
(यो लेख कुनै माध्यमबाट प्रसार गर्नु परेमा www.gulabisambad.com लाई स्रोत उल्लेख गर्नुहोला ।)