Gulabisambad

post-header
Gulabisambad

प्रगतिशील किशोरीको रजस्वला अनुभव

-आश्मा राई, चितवन

सामान्यतयाः किशोरावस्थामा प्रवेश गरेकी हरेक युवती रजस्वला अर्थात् महिनावारी हुन्छन्, म पनि भएँ । जुन स्वाभाविक प्रकृया हो । म रजस्वला हुनुभन्दा पहिला मेरो घरमा ‘महिनावारी’, ‘मिन्स भएको’, ‘नछुने भएको’, ‘पर सर्ने भएको’, ‘पन्छिएको’ जस्ता शब्द मैले कहिल्यै सुनेकी थिइनँ । झन् रजस्वला हुँदा बार्ने त कुरै भएन । जब म पहिलोचोटी रजस्वला भएँ, त्यसपछि ममिले मलाई ‘ए महिनावारी भएकी रैछेस्’ भन्नुभएको थियो । अनि मैले आश्चर्य मानेर ममीलाई सोधेकी थिएँ, ‘मलाई के भएको हो?’

उहाँले मलाई सहजै ‘महिनावारी भएकी होस् क्या, उमेर पुगेकी सबै केटी मान्छे यस्तै हुन्छन्, मेरो पनि हुन्छ’ भन्दै प्याड लगाउन सिकाउनु भएको थियो । जब मेरो विद्यालयमा ‘प्रजनन शिक्षा र किशोरावस्थामा हुने शारीरिक तथा मानसिक परिवर्तन’ बारे पढाई हुन थाल्यो, त्यसपछि झन् मैले प्रजननबारे राम्रोसँग बुझ्न सुरु गरेँ । मलाई १५ वर्षको उमेर हुँदासम्म थाहा थिएन समाजमा महिनावारी हुँदा बारिन्छ भनेर । भान्सामा पस्नुहुँदैन, पूजा कोठामा पस्नुहुँदैन, पूजा गर्नुहुँदैन, बाबा र दाजुभाइलाई छुन हुँदैन भनेर ।

म साँच्चिकै अनभिज्ञ थिएँ, रजस्वला हुँदा बार्नुपर्छ भन्ने कुरामा । किनकि मेरो परिवारमा ममी र म रजस्वला हुँदा कहिल्यै कहीँकतै पनि त्यसरी बारेको अनुभव नै भएन । म निर्बाधरूपमा पूजाकोठामा गएर पूजा गर्छु । भान्सामा खाना बनाउँछु । भाइसँगै बसेर थालको भात वारिपारि गर्दै खान्छु । कति त्यस्ता दसैँ छन्, मैले रजस्वला हुँदा पनि भाइसँगै बसेर टीका लगाएकी छु । तिहारको त कुरै नगरौँ, मेरो रजस्वला सुरू हुन थालेदेखि प्रायः सबै तिहारै होला रजस्वला भैइराख्दा नै मनाएकी । मैले मेरा दाजुभाइलाई रजस्वला भएकै बेलामा पनि टीका लगाइदिएकी छु ।

म कक्षा ९ मा पढ्दै गर्दाको कुरा होला । हुन त म ११ वर्षमा पहिलोपटक रजस्वला भएकी थिएँ, त्यतिखेर म कक्षा ६ मा पढ्थेँ । मेरी ब्राह्मण समुदायकी एउटी साथी थिई । स्कुल सँगै जानेआउने गथ्र्यौँ । उनी मभन्दा एक ब्याच सिनियर थिइन् । स्कुल जाने बेला सधैँ मेरो घर आउँथिन् । एकदिन अचानक ऊ बिहान स्कुल जानेबेला मेरोमा आइपुगिनन् । अनि त्यस दिन म एक्लै स्कुल गएँ । पहिलो दिन त लाग्यो, उसलाई पक्कै कसैले स्कुल पु¥याइदियो । तर, कसैले पु¥याइदिएकै भए पनि मलाई त भन्नुपर्ने हो भन्ने पनि मनमनै लाग्यो । लगत्तै उनी लगभग ४÷५ दिनसम्म मेरो घर नआएपछि म एकदिन उसको कक्षामै गएँ । अनि उसको साथीहरूसँग सोधेँ । तर, साथीहरूले पनि ऊ स्कुल नै आएको छैन र उनीहरूलाई पनि केही खबरै गरेको छैन भने । स्कुल नै नगएको थाहा भएपछि एकदिन शनिवारको मेसो मिलाएर म उसको घर जाने निधो गरेँ ।

ममीले पनि हुन्छ नि त जाऊ भनेपछि उसलाई भेट्न निस्किएँ । उसको घर पुगेपछि मैले जीवनमै पहिलोपटक ‘नछुने भएकी छे’ भन्ने शब्द सुनेँ । एकछिन त म अलमलमा परेँ । अनि उसैकी बहिनीलाई सोधेँ, उसले पहिलो चोटी महिनावारी भएकोले दिदी छिमेकीको घरमा लुक्न गएकी बताइन् । म आश्चर्यमा परेँ । यो घटनाले मनमा उत्सुकता पनि जगायो । महिनावारी हुँदा पनि लुक्नुपर्ने ? मैले त त्यसरी कहिल्यै लुक्नु परेन । त्यसैले पनि मलाई अझ बढी जान्ने इच्छा जाग्यो, कसरी र किन लुक्नुपर्छ भनेर । अनि मलाई उसैकी बहिनीले लिएर गई । छिमेकीको घरभित्र पुग्नासाथ मैले उसलाई देखिहालेँ । उसले पुरानो म्याक्सी लगाएकी थिई, कपाल पनि नकोरेकी, जिङ्रिङ्ग परेको । अनि उसैको छेउमा गएर भने, ‘कम्तिमा कपाल त कोर्नु पथ्र्यो नि।’

उसले अल्लि असहज मान्दै जवाफ फर्काइन्, ‘कपाल कोर्नुहुँदैन रे।’ यी सबै गतिविधि देख्दा मलाई लाग्यो, ‘म बिल्कुलै अर्को दुनियाँमा छु ।’ मलाई अझै पनि राम्रोसँग याद छ, त्योबेला जाडोको मौसम भएकोले बाहिर घाम लागे पनि भित्र निक्कै चिसो थियो । झन् उसको छिमेकीको घरको त कुरै नगरौँ । बाहिरबाट हेर्दा सान्दार, तर उसलाई भ¥याङको तल शौचालयको छेवैमा थोत्रो डसना मात्रै ओछ्याइदिएको थियो । सिमेन्टको चिसोले त थररै काँप्ने गरी जाडो हुँदो रहेछ । हामीले केही समय त्यहीँ बसेर कुरा गरिरह्यौँ । मलाई निकै जाडो महुसुस भयो । बढी नै चिसो भएपछि उसलाई बाहिर घाममा बसेर कुरा गरौँ न भनेँ ।
तर उसको जवाफले त मेरो पुरै मथिङ्गल हाल्लायो । ‘नाईँ हुँदैन, घाममा बस्नै हुँदैन,’ उसले जवाफ फर्काई । दुईचार दिन हो र? पूरै २२ दिनसम्म घामको मुखै हेर्न नहुने, यतिमा मात्रै सीमित हुँदैन, घरमा बाबा र दाजुभाइको मुखै हेर्न हुन्न रे पहिलो चोटी रजस्वला हुँदा । दोस्रोपटकदेखि भने हेर्न चाहिँ हुने तर छुन नहुने रे । दाँत माझ्न नहुने रे । खाना खाएको भाँडा छुट्टै राख्नुपर्ने रे । भान्सामा पस्ने र पूजाकोठामा पस्ने त धेरै टाढाको कुरा । उफ् लामो सास फेरेर मैले भने, ‘किन यस्तो गर्छन्, के भएको तिम्रा घरका मान्छेलाई, मैले त यस्तो गर्नै परेन त ।’

‘खोई हाम्रो घरमा त यस्तै गर्छन्, मलाई पनि मन पर्दैन,’ उसले निन्याउरो अनुहार पारेर उत्तर दिई । मलाई मेरो साथी त्यसरी लुकेको पटक्कै मनपरेन । मैले पहिलोपटक हो, रजस्वला हुँदा बार्नुपर्ने भन्ने कुरा थाह पाएकी । त्यसपछि अरूअरू धेरैका घरमा त्यसरी नै बारेको देख्न थालेकी । रजस्वलाको उपनामहरू पनि सुन्न थालेकी । मैले ममीलाई महिनावारी हुँदा बार्नु पर्छ हो? भनेर सोधेको बेला ‘पर्दैन’ भन्नुहुन्थ्यो । ‘अनि सन्ध्याको घरमा त बार्छन् त’ भन्दा ‘प्रायः क्षेत्री बाहुनहरूकोमा बार्छन्, हामीले चाहिँ छोडिसक्यौँ’ भन्नुभयो । ‘मतलब हामीले पनि बाथ्र्यौँ ?’ मैले प्रतिप्रश्न गरेँ । ‘गाउँघरमा त अझै पनि बार्छन नि । तर अहिले प्रायःले छोडिसके’ ममीले जवाफ दिनुभयो ।

त्यसपछि प्लस टु पढ्दा मेरा एकहुल महिला साथीहरू, प्रायः सबैको घरमा रजस्वला हुँदा बार्छन् । कतिले त हाम्रो घरकाले पनि तिम्रोमा जस्तै कुरा बुझिदिए हुने नि, बार्नै नपरे पनि हुने नि भन्थे । ‘तिमीहरूले बुझाउने प्रयास त गर न’ भन्दा कयौँ साथीहरू मौन बस्थे ।

लगभग दुई÷चारवर्ष अगाडिको कुरा हो । हामीले घरमा सिस्नु रोपेका थियौँ । एकजना शिक्षिका आफन्तको घरमा आउनुभएको थियो । त्यही मौकामा कहिलेकाहीँ हाम्रोमा पनि आउनेजाने गर्नुहुन्थ्यो । उहाँ बोर्डिङ स्कुलमा ‘स्वास्थ्य शिक्षा’ पढाउनुहुथ्यो । उहाँले सिस्नु खाने रहर गरेर आउनुभएको रहेछ । ममीले मलाई ‘जा गएर टिप्दे’ भन्नुभयो । म्याडमले ‘सिस्नु टिप्न त मलाई पनि आउँछ’ भन्नुभयो । त्यसपछि मैले पनि ‘उसो भए दुईजना भएर टिपौँ न त, छिटो हुन्छ भनेँ । लगत्तै उहाँको जवाफ आयो, ‘अहँहँ, हुन्न मैले टिप्न ।’ ‘किन?’ मैले सोधेँ। ‘म पिरियड भएकी छु ।’ उहाँले जवाफ दिनुभयो । उहाँको यो सहज जवाफले मलाई नराम्रोसँग रन्थनायो । तर मैले फिस्स हाँसेर भन्दिएँ, ‘केही हुँदैन, हामी त कहिल्यै केही बार्दैनौँ, आज तपाईंले पनि टिप्दिनु, जे होला–होला ।’

उहाँ अन्कनाउनुभयो । तर, सिस्नु टिप्ने हिम्मत नै गर्नुभएन । उहाँको जवाफमा क्या आधुनिकता थियो, अङ्ग्रेजी शब्दको प्रयोग गरेर ‘म पिरियड भएकी छु’ भनेर जवाफ चाहिँ दिने । झन् स्वास्थ्य शिक्षा पढाउने शिक्षिकाको सोच चाहिँ उही थोत्रो, पुरानो । अनि मनमनै सोचेँ, ‘एउटा शिक्षिकाको हालत त यस्तो छ, अरू त कोसँग गुनासो गर्ने? नबुझेको कुरा न्वारानदेखिको बल लगाएर परिवर्तन, परिवर्तन भनेर आवाज उठाउने, अनि आफू परिवर्तन हुनुपर्नेभन्दा चाहिँ अन्कनाउने । अनि कसरी हुन्छ परिवर्तन?? शरीरको कुन चाहिँ त्यस्तो अंग, कोषतन्तु, हर्मोन अनि कुनचाहिँ रसायन तत्वले परिवर्तनको आवाज उठाउनलाई प्रेरणा दिन्छ ? आफू परिवर्तन हुनलाई रोक्छ ? त्यसको सायद ढेड वर्षपछि होला ? डिभी परेर उहाँ अमेरिका जानुभयो । हाल अमेरिकामा बस्नुहुन्छ । उहाँले पनि पक्कै यो लेख पढनुहुन्छ होला । म भने कहिलेकाहीँ सोच्छु, उहाँले अमेरिकामा पनि रजस्वला हुँदा बार्नु हुन्छ कि हुन्न भनेर ?

अब आउँछिन् आफूलाई खुबै जानेकी बुझेकी भन्ने अर्की महिला । पढाईको कुरै नगरौँ उहाँले समाजशास्त्रमा स्नातकोत्तर गरिसक्नुभयो । उहाँ लैङ्गिक विभेदको बारेमा पनि दुई चारवटा स्टाटस सामाजिक सञ्जालमा पोस्ट्याईरहनुहुन्छ । पढ्दा खुबै गहकिला शब्द लाग्छन् । उहाँको प्रहार पनि त्यतिकै पेचिला हुन्छन् । ती गहकिला शब्द–शब्दमा व्यवहारिकता झल्किन्छ । एकपटक उहाँसँग म्यासेञ्जरको भित्तामै भए पनि निकै चर्काचर्की परेको थियो । विषय भने रजस्वला सम्बन्धी नै थियो । ‘रजस्वला हुँदा बार्नुपर्छ’ भन्ने विषयको तर्कमा उहाँको विचार थियो, ‘म रजस्वला हुँदा बार्नुपर्छ भन्ने तर्कको विरोधी त होइन, तर मेरो समर्थन पनि छैन ।’ हुन त हरेक नागरिकसँग व्यक्तिगत स्वतन्त्रता छ । तर, यस विषयमा उहाँ चर्किनुमा मैले भने कुनै कारण देखिन ।

त्यसपछि मैले एउटा लेखेकी स्टाटस लेखेकी थिएँ, ‘नारी समानता र सहभागीताको नारा लगाउँदै हिँड्ने, शब्दमा दम भएको अनि व्यवहारमा चाहिँ परिपक्वता कम भएको, महिनावारी प्राकृतिक प्रक्रिया हो, सम्मान गर्नुपर्छ भन्दै सिकाउने अनि घरमा छोरी–बुहारी महिनावारी हुँदा भान्सामा पस्न पनि रोक लगाउने, त्यति मात्र होइन, खाटमा सुत्न पनि नदिई भुईँमा सुत्न बाध्य बनाउने ती महान सोच र व्यवहार भएका नारी र पुरूष दुवैलाई अन्तर्राष्ट्रिय नारी दिवसको भरपुर शुभकामना छ । मैले मेरो घरमा आजसम्म महिनावारी हुँदा केही कुरा बारेको छुईन । न त खाना पकाउन, न त पूजा कोठामा जान, न त पूजा गर्न, न त टीका लगाउन । दसैँमा टीका लगाएकी छु, तिहारमा भाइटीका पनि लगाइदिएकी छु, म महिनावारी हुँदा । त्यसैले सुरूवात आफैँबाट गर्नुहोस्, नारा लगाउँदै अरूलाई सिकाउनु भन्दा ।’

तर, त्यो स्टाटसमा उहाँले आपत्ति नै जनाउनुपर्ने शब्द भने मैले प्रयोग गरेकी थिइन । उहाँकै स्टाटसको कुरा गर्ने हो भने पनि लैङ्गिक विभेदको विषयमा ठहरै पार्ने, समाजलाई नै चुनौती दिने खालको । यति भनुञ्जेल त पक्कै बुझ्नु भयो होला । उहाँ कति बौद्धिक वर्गमा पर्नुहुन्छ भनेर । उहाँको छेउमा म त भुरा, उमेर अनुभव र परिपक्वताकै आधारमा पनि धेरै पछाडि । शब्दमा परिपक्वता, मभन्दा उहाँमा भएकोले शब्दको झटारो आक्रमण शैलीमा खुत्रक्कै पार्ने गरी हान्नुभयो ।

चर्काचर्की चलिरहेकै बेलामा मैले पनि झोक्किएर भनेकी थिएँ, ‘हामी रजस्वला किन हुन्छौँ? महिला भएकोले होइन? यदि महिला भएकै कारण रजस्वला हुन्छौँ भने हामीले महिला भएकोले नै त रजस्वला हुँदा बार्नु पर्ने हो नि, कि होइन? यो हिंसा होइन? यो विभेद होइन?’

यसलाई म त मेरो भाषामा विभेद भन्छु, लैङ्गिक विभेद । यसपछि उहाँको रिप्लाई आएन । उहाँलाई सहनै नसक्ने भयो या स्वाभिमानमा ठेस लाग्यो, त्यो म जान्दिन । त्यति भएपछि उहाँले मलाई फेसबुकबाट पनि हटाइदिनुभयो । मैले गर्नुपर्ने काम उहाँ आफैँले गर्नुभयो । मलाई त झनै हाइ सञ्चो भयो । तर, मैले आजसम्म नबुझेको कुरा त्यो स्टाटसमा उहाँ चर्किनुपर्ने आवश्यकता नै थिएन र, पनि किन चर्किनुभयो ? उहाँ त झन् खुसी हुनुपर्ने होइन र ? महिलाको मुद्दामा आवाज उठाउने यस्ता कयौँ व्यक्तिहरू, जबजब रजस्वला हुँदा मैले ‘म त बार्दिनँ’ भन्ने तर्क अगाडि सार्छु, तबतब उनिहरूको प्रतिक्रिया शुन्य भएको प्रशस्तै देखेकी छु, होइन भोगेकी छु । यस्ता अनगिन्ती घटनाहरू छन्, यस्ता थुप्रै बौद्धिक वर्ग छन्, जसको देखाउने दाँत एउटा र चपाउने चाहिँ अर्को ।

जबजब म घरबाट बाहिर निस्किन थालेँ, समाज चिन्न थालेँ, धेरथोर समाज पढ्न थालेँ, तबबाटै त हो महिनाको चारदिन आफ्नै घरको छोरी–बुहारी (महिला)लाई आफ्नै घरमा पनि अछुत बनाइन्छ भन्ने हेक्का भएको । शताब्दी एकाइसौँ भएर मात्र हुन्छ र ? जमाना र भाषा अनि पहिरन मात्रै आधुनिक भएर हुन्छ र ? सोच र व्यवहार थोत्रो भएपछि ? आजको दिनसम्म आइपुग्दा आफूलाई आधुनिकतावादी सम्झने, विदेशमा पढेर आएकाले म रजस्वला हुँदा खुलेर बार्दिन भन्दा मलाई ठाडै मेरो व्यक्तिगत स्वतन्त्रतामा औंला उठाएको । तर, उनीहरूको तर्क भने ज्यादै नाजुक र कमसल खाले कम्तिमा मेरो ममिलामा चाहिँ ।

कहिलेकाहीँ फुर्सदमा सोच्छु श्रीमान् मर्दा सँगै सति जानुपर्ने जमानाकी मेरी बोजु (हजुरआमा), अर्काको घर जाने जात छोरीलाई नि कसैले स्कुल पढ्न पठाउँछ र? भन्ने जमानाकी छोरी मेरी आमा । अब बाँकी रह्यो, मेरो कुरा, म एकाइसौँ शताब्दीकी मान्छे, छोराछोरी बराबरी हुन्, छोरीलाई दाइजो होइन, शिक्षा दिनुपर्छ भन्ने जमानाकी । तर, हामी तिनैको विचार भने ठ्याक्कै मिल्छ । एकै जमानाको जस्तो । तर, अपसोचको कुरा, बिहेमा भने छोरीलाई दाइजो कुम्ल्याएर पठाउने गरेको उदाहरण मैले दिइरहनुपर्छ जस्तो लाग्दैन । समाजको यथार्थ बुझ्न थालेदेखि आफैँलाई ‘एकाइसौँ शताब्दीको प्रगतिशील बोजुकी नातिनी र प्रगतिशील आमाकी , प्रगतिशील छोरी, नातिनीमा म पर्छु’ भन्न मन लाग्छ ।

(यो लेख कुनै माध्यमबाट प्रसार गर्नु परेमा www.gulabisambad.com लाई स्रोत उल्लेख गर्नुहोला ।)

Previous post
Next post
Related Posts
Leave a Reply

Your email address will not be published. Required fields are marked *