Gulabisambad

post-header
Gulabisambad

प्रियालाई प्रेमपत्र…

–गुलाबी संवाद

एकदिन उनी मतिर हेरेर मुसुक्क मुस्कुराइन् । त्यसपछि उनी बस्ने बेन्चतिर धेरै बेरसम्म टाउको उठाएर हेर्न सकिनँ । त्यो, कक्षाको दोस्रो घन्टी थियो । तर खै के कारण हो, सर कक्षामा हुनहुन्थेन । सबैजना हल्लाखल्लामा थिए । तर, मभने बडो अनुशासित भएझैँ गरेर बसिरहेको थिएँ ।

म आफैँलाई थाहा छैन, प्रियालाई कहिलेदेखि मन पराउन थालेँ । कहिलेदेखि उनको कपाल रेशमी लाग्न थाल्यो । उनका आँखामा मेरो तस्बीर देख्न थालेँ । उनका प्रत्येक गतिविधिमा सुन्दरता देख्न थालेँ । उनको बोलीमा प्रेम देख्न थालेँ । उनको हिँडाइमा चाल देख्न थालेँ ।

हामी दुवैजना कक्षा आठमा पढदै थियौँ । तर, म प्रेमको कक्षा फड्किन खोज्दै थिएँ । मेरो मनको कुरा प्रियालाई थाहा दिन जरुरी थियो । तर, त्यो सजिलो काम थिएन । मैले मिल्ने साथी सन्देशलाई एकदिन आँट बटुलेर सारा कुरा सुनाएँ । उसले खिस्स हाँसेर भन्यो, “तँ पनि माया जालमा परिस् ।” यति भनेर उसले जिस्काएझैँ गरेर भन्यो, “अब प्रिया हाम्री भाउजू ।”

म लाजले भुतुक्क भएँ ।
प्रियालाई मन पराएको कुरा कसरी भन्ने ?
म एकसुरे हुन थालिसकेको थिएँ । प्रिया हिँडेको बाटोतिर हेरिबस्थेँ । कहिलेकसो मतिर हेरेजस्तो लागेका बेला म संसारकै सबैभन्दा भाग्यमानी महसुस गर्थेँ । प्रिया कक्षामा नआएका दिन संसारकै नरमाइलो दिनजस्तो लाग्थ्यो ।

सन्देशले एकदिन भन्यो, “प्रिया स्कुलबाट घर फर्किने बेला बाटोमा रोकेर सब कुरा भन्नुपर्छ ।”
अर्को साथी रमेशले भन्यो, “त्यसरी मुखैले भन्ने होइन । प्रेम त अक्षरमा व्यक्त गरेर प्रेमपत्र बनाएर पो दिनुपर्छ ।”
सन्देशले भन्यो, “म्यासेन्जरमै लेख्दे ।”

तर रमेशले तर्क सुनायो, “डिजिटल होइन, ह्यान्डीक्राफ्ट । प्रेमपत्र हातैले लेख्नुपर्छ । संसारमा सबै महान प्रेमपत्रहरु हातैले लेखिएका छन् ।”
रमेशको कुरा सही हो जस्तो लाग्यो । मैले प्रेमपत्र लेख्ने तौरतरिका गुगलमा सर्च गरेँ । संसारका महान व्यक्तिहरुका प्रेम कथा खोजी खोजी पढेँ ।
मपनि संसारका महान मान्छेले झैँ प्रेमपत्र लेख्न चाहन्थेँ । प्रियालाई खुशी पार्ने शब्दजाल बुन्न चाहन्थेँ । तर मेरो नेपाली ध्वस्त थियो । अंग्रेजी त मलाई पढ्न पनि राम्ररी आउँथेन । लेख्न त मेरो दूरको बात थियो ।

तर पनि, म प्रेम पत्र लेखेरै छाडने सुरमा थिएँ । मेरो दिमागमा कैयौँ दिनसम्म प्रेमपत्रमा लेखिने राम्रा(राम्रा शब्द मात्रै घुमिरहे । म कक्षामा हुन्थेँ । सरले पढाइ राख्नु भएको हुन्थ्यो । तर मेरो मन अन्तै हुन्थ्यो । म घरमा हुन्थेँ । बाबा मम्मीले के के गफ गरिराख्नु भएको थियो । दिदीले अनेक कुरा सुनाएर हसाइँ राख्नु भएको हुन्थ्यो । तर म कता कता हराइरहेको हुन्थेँ । एकदिन त बाबाले भन्नु पनि भयो, “ए तँ कता उडिराको के रु कुनै कुरा मन लगाएर सुन्दैनस् ।”
एक मनले त भनिदिऊँ जस्तो लागेको थियो, “बाबा म प्रेम सागरमा हराइरहेको छु ।”

तर म एकैछिनमा सम्हालिएँ ।
एक हप्ता पूरै खर्चेर मैले प्रेमपत्र लेखेँ । सन्देशले सर्सर्ती पढ्यो । रमेशले एकाध ठाउँमा भाषा सच्याइ दियो । एकदिनको हाफछुट्टिमा मैले ठूलो आँट बटुलेर प्रियाको किताबमा प्रेम पत्र राखिदिएँ ।
त्यो रात म घरमा राम्ररी निदाइन । प्रियाले प्रेमपत्र पाइ कि पाइनन् होला रु त्यो पढेर उनको मनमा कस्ता कुरा खेले होला रु अब त्यसको रिप्लाई के आउँछ होला ?

भोलिपल्ट कक्षामा मेरो मन अधिर थियो । प्रियातिर हेरिबस्थेँ । तर, प्रियाको ध्यान कताकता थियो । त्यो दिनभर प्रियासँग मेरो आँखा पनि जुधेन ।
यसरी कैयौँ दिन बिते । न प्रियाको पत्र आयो । न कुनै खबर आयो । बरु मेरो मन झन् झन् निराश हुँदै गयो । केही गर्न मन नलाग्ने । केही खान मन नलाग्ने । कसैसँग बोल्न मन नलाग्ने । जतिबेला पनि प्रियाकै मात्र याद आइराख्ने ।
मनभर अनेक शंका थिए ।

कतै प्रियाले त्यो पत्र नै पाइन कि ?
प्रियाको किताबबाट त्यो पत्र अरू कसैले पो लगिदियो कि ?
प्रियाको बाबामम्मी वा दाइले पो त्यो पत्र फेला पारे कि ?
मलाई कोही साथीसँग बोल्न मन लाग्थेन । रमेश र सन्देश के के कुरा गरेर मलाई हँसाउन खोज्थे । तर मलाई उनीहरूसँग बोल्न र खेल्न पटक्कै मन थिएन । मेरो मन एकोहोरो भइरहेको थियो ।

एकदिन भान्जा दाइ घरमा आइपुग्नु भो । दाइ मेरो सबैभन्दा नजिकको मान्छे। हाम्रो घर बसेरै वहाँले बिए पास गर्नुभएको थियो । सरकारी जागिरमा नाम निकाल्नु भएको थियो । सधैँ मलाई भाइजस्तै माया गर्ने तर साथीजस्तै व्यवहार गर्ने । मेरा सबै कुरा ध्यान दिएर सुन्ने । हरेकपल्ट घर आउँदा मलाई केही न केही ल्याइदिने ।

आएको भोलिपल्टै दाइले पत्तो पाइहाल्नु भयो, म खुशी छैन भनेर ।
घर नजिकैको चौतारा छेउ लगेर दाइले मायाले मेरा कपाल सुम्सुम्याउनुभयो । अनि सुस्तरी सोध्नुभयो, “ए के भयो तँलाई रु किन तेरो अनुहार न्याम्म परेको ।”
दाइको मायालु आवाजले मेरो मन पग्लिएजस्तो भयो । मैले आँखाको डिलभरी आँसु बनाएँ । डाको छोडेर रुन मन लागेजस्तो भयो तर सम्हालिएँ । मैले सबै कहानी भनिदिएँ । मन हलुङ्गो भएजस्तो भयो ।

सबै कुरा सुनेपछि दाइले मलाई नजिकैको रेस्टुरेन्टमा लैजानुभयो । कोल्ड ड्रिङ्क्स मगाएर खान दिनुभयो । चिसो खाएपछि केही कुल भएजस्तो भएँ ।
दाइले टिनएजमा कोही केटीलाई मन पराउनु सामान्य कुरा भएको, यस्तो बेला मनमा मायालु भाव आउने, विपरीत लिङ्गीप्रति आर्कषण हुनु गल्ती होइन भनेर बताउनुभयो । सबै मन पराइहरु माया हुँदैनन् । माया प्रेम र एकछिनको आर्कषण फरक फरक कुरा हुन् भनेर सम्झाउनुभयो । दाइले टिनएजर्सको मनमा आउने खुल्दुली, शङ्का, आशङ्का, आक्रोश, हिम्मत सबै कुराबारे विस्तारमा बुझाउनु भयो ।

दाइका कुरा सुनेर मलाई लाग्यो, मैले प्रियालाई प्रेम गरेको नभएर झलक्क हेरेकै भरमा मन पराएको रहेछु । प्रिया मतिर हेरेर मुस्काएको जस्तो लागेकै भरमा मन पराएको रहेछु ।

प्रेम हुनका लागि त उसको आनीबानी, भविष्यप्रतिको सोच, जीवनप्रतिको दृष्टिकोण, समाज र परिवारप्रतिको बुझाइ, त्याग, समर्पण, एकअर्कालाई गर्ने व्यवहार जस्ता अनेक कुरा जिम्मेवार हुँदा रहेछन् । दाइले भनेको एउटा कुरा भने म कहिल्यै बिर्सन्नँ । भन्नुभएको थियो, “मनमा मायाको भाव हुनेहरूले कहिल्यै पनि अरूको कुभलो चिताउँदैनन् । प्रियाले तँलाई मन पराइनन् भने पनि उनलाई हानी हुने काम नर्गनू । बरु अझै राम्रो मान्छे भएर देखाउनू ।

(यो लेख कुनै माध्यमबाट प्रसार गर्नु परेमा www.gulabisambad.com लाई स्रोत उल्लेख गर्नुहोला ।)

Previous post
Next post
Related Posts
Leave a Reply

Your email address will not be published. Required fields are marked *