Gulabisambad

post-header
Gulabisambad

महिनावारी बुझाउने कक्षामा शिक्षिकाले केटा साथीहरूलाई पनि राखिदिनुभएको भए‘

–सतिशा सुवाल, भक्तपुर

मलाई अझै त्यो समय याद छ । त्यतिबेला म कक्षा ४ मा पढ्दै थिएँ । एकदिनको कुरा हो, स्कुलका शिक्षिकाले हामी सबै छात्रालाई एउटा कक्षामा लैजानुभयो । सबै केटाहरूलाई कक्षा बाहिर राखेर हामीलाई किन भित्र राखिएको होला भनेर मनमा कौतूहल छायो । पछि थाहा पायौँ, महिनावारीका बारेमा बुझाउनका लागि पो रहेछ । त्यो दिन शिक्षिकाहरूले हामीलाई महिनावारी भनेको के हो, महिनावारी हुँदा के गर्नुपर्छ, यस्तै यस्तै कुराको जानकारी दिनुभयो ।

त्यो दिन मैले पहिलोपटक महिनावारीबारे धेरै कुरा थाहा पाएँ । सँगसँगै थाहा पाएँ, महिनावारीका बारेमा केटाहरूलाई थाहा दिन नहुने रहेछ । केटाहरूलाई थाहा दियो भने आफ्नै लाज हुन्छ । कक्षाबाट बाहिर निस्किँदा यस्तो बुझाइ मेरो मनभित्र हुर्किरहेको थियो ।

जे होस् त्यो दिन मैले महिनावारीबारे धेरै कुरा सिक्ने मौका पाएँ । त्यतिबेला सम्म म महिनावारी नभएकाले, म जुनसुकै दिन महिनावारी हुनसक्छु भनेर आफैँलाई मानसिक रूपमा पनि तयार गरेँ ।

मैले सुनेकी थिएँ, केटीहरू १०र१२ वर्षकै उमेरमा महिनावारी हुन्छन् । तर, म भने १२ वर्षको खुड्किलो उक्लेर १३ वर्षमा लागिसक्दा पनि महिनावारी भएकी थिइनँ । मसँगै पढ्ने साथीहरू धेरैजना भने महिनावारी भइसकेका थिए । मलाई किन म महिनावारी भएको छैन भनेर पीर पर्न थालेको थियो । मैले मनमनै सोच्थेँ, “कतै मभित्र केही खराबी त छैन रु मैले केही गल्ती गरेर त यस्तो भएको होइन रु महिनावारी नै भएन भने त म बिरामी पर्छु होला ।” कहिलेकसो साथीहरू महिनावारीका विषयमा कुराकानी गर्थे । त्यतिबेला मेरो मनमा अनौठो डर पैदा हुन्थ्यो । महिनावारीका कुराले मलाई मनमनै पिर थपिरहेको थियो । तर यस्तो पीर लामो समय भने रहेन ।

म १४ वर्षकी हुँदा मेरो पहिलो महिनावारी भयो । त्यसदिन म कति धेरै खुसी थिएँ, त्यो म अहिले शब्दमा बयान गर्न सक्दिनँ । मेरो सबै चिन्ता, डर अनि निराशालाई महिनावारीको रगतले बगाइदिएको थियो ।

महिनावारीको पहिलो दिन मलाई त्यत्ति सजिलो भएन । बिहानैदेखि कताकता तल्लो पेट दुख्न थालेको थियो । अरूबेला पनि कहिलेकसो पेट दुख्ने भएकाले सुरुमा त मैले खासै वास्ता गरिनँ । दुखेको पेट निको होला भन्ठानेर म स्कुलतिर लागेँ । कक्षाकोठाभित्र बसेका बेला मलाई म बस्ने ठाउँ भिजेको जस्तो अनुभव भयो । अलक्क उठेर हेर्दा पो देखेँ, त्यहाँ त रगत लागेको रहेछ । मैले निर्क्यौल गरेँ, मलाई पक्का महिनावारी भयो ।

त्यतिबेला म झन् झसङ्ग भएँ, जतिबेला मेरो झोलामा न कुनै कपडा, न कुनै स्यानेटरी प्याड छ भन्ने थाहा भयो । भन्न त शिक्षिकाहरूले सधैँ स्यानेटरी प्याड बोकेर हिँड्नू भनेर सिकाउनुभएको थियो । तर त्यो कुरालाई मैले ख्यालै गरेकी रहेनछु । परेपछि मात्रै त्यो कुराको चाल पाएँ । मैले कक्षाको चारैतिर आँखा घुमाएँ । वरिपरि केटा साथीहरू थिए । “अब उठेर कसरी टोइलेट जाने रु केटाहरूले देखे भने त बेइज्जत हुन्छ ।” म मनमनै आत्तिएँ ।

कक्षाकोठाबाट टोइलेटसम्मको दूरी केही मिनेटको थियो । तर त्यतिबेला मलाई उक्त टोइलेट कयौँ किलोमिटर पर भएजस्तो अनुभव भयो । म पछाडि बसेकी केटी साथीलाई कोट्टाएर बोलाएँ र कानमा सुटुक्क भनेँ, “मलाई पिरियड भयो ।” बुझक्की साथीले आफ्नो झोलाबाट स्यानेटरी प्याड निकाली र बेन्चको मुनिबाट लुकाएर मेरो हातमा थमाइदिइ । मैले पनि अरू कसैले नदेखोस् भनेर हतारहतार खल्तीमा राखेँ ।

अनि पाइन्टभित्र च्यापेको सर्टलाई बाहिर निकालेँ । त्यसो गर्दा सर्टको फुर्कोले रगत लागेको पाइन्टको केही भाग छोपिन्थ्यो । म बेन्चबाट उठेपछि मेरो साथी मेरो पछाडि आएर उभिई । अनि हामी दुईजना एकअर्कासँग टाँसिएझैँ गरेर कक्षाबाट बाहिर निस्कियौँ । मेरो पाइन्ट फेर्नुपर्ने गरी रगतले भिजिसकेको थियो । मैले शिक्षिकासँग घर जानुपर्ने अनुमति मागेँ । त्यसपछि मात्रै मैले ठूलै युद्ध जितेझैँ गरी लामो सास फेरेँ ।

त्यो दिनको घटनापछि मेरो मनमा अनेक कुरा खेलिरहेका थिए । महिनावारी बुझाउने कक्षामा शिक्षिकाले केटा साथीहरूलाई पनि राखिदिनुभएको भए, सायद त्यसदिन मैले बेन्च मुनिबाट खुसुक्क स्यानेटरी प्याड लिएर लुुसुक्क गोजीमा राख्नुपर्ने थिएन । लाजले भुतुक्क हुँदै लुकीलुकी टोइलेट जानुपर्ने थिएन । अनि घर जाने छुट्टि माग्न शिक्षिकाहरूलाई नै खोज्दै हिँड्नुपर्ने थिएन । महिनावारीको बारेमा महिला पुरुष सबैले जान्नुपर्छ, अनि मात्रै महिनावारी सहज बन्छ ।

(यो लेख कुनै माध्यमबाट प्रसार गर्नु परेमा www.gulabisambad.com लाई स्रोत उल्लेख गर्नुहोला ।)

Previous post
Next post
Related Posts
Leave a Reply

Your email address will not be published. Required fields are marked *