Gulabisambad

post-header
Gulabisambad

त्यो मीठो, यो अनौठो बेला…

कविता आचार्य, तुलसीपुर–१७, दाङ

गुलाबी संवादमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसँग जोडिएका विभिन्न व्यक्तिका अनुभव र भोगाइ पढेर मलाई पनि आफ्नो अनुभव बाँड्न मन लाग्यो । मेरो अनुभव चाहिँ महिनावारीसँग जोडिएको छ ।


महिनावारीसँग जोडिएको कुरा भन्ने बित्तिकै धेरैको नरमाइलो अनुभव मात्रै सुन्न वा पढ्न पाइन्छ । तर, मेरो अनुभव भने रमाइलो र नरमाइलो दुवै छ ।


म १४ वर्षको उमेरमा पहिलोपटक महिनावारी भएकी थिएँ । महिनावारी हुँदा केके हुन्छ भन्ने कुरा मलाई पहिल्यै थाहा थियो । मात्र बाँकी थियो त, अनुभव । किनभने, मेरा साथीहरू मभन्दा पहिले नै महिनावारी भइसकेका थिए । त्यसैले पहिलोपटक महिनावारी हुँदा मलाई नौलो अनुभव भए पनि असहज भएन । बरु म त पहिलोपटक महिनावारी अनुभव गर्न पाउँदा खुसी भएकी थिएँ । आफ्नै शरीर देखेर रमाइलो लागेजस्तो, अब त म अझै ठूली भएँजस्तो, अनौठो तर मीठो अनुभूति भइरहेको थियो ।


अझ भन्ने हो भने, त्यो समय त म मात्र नभइ मेरा साथीहरूका लागि पनि उत्सवजस्तै थियो । हामी पालैपालो जस्तो महिनावारी भएका थियौँ । खाली समय पाउन हुँदैनथ्यो, एकअर्कालाई आफ्नो महिनावारीका अनुभवहरू उत्सुकताका साथ सुनाउँथ्यौँ । कहिले कुरैकुरामा खितखितखित हाँस्थ्यौँ त कहिले आफ्नै गफ सम्झेर गालै राता हुनेगरी लजाउँथ्यौँ ।


स्कुलमा मात्रै नभइ घरमा पनि मलाई महिनावारी हुँदा कुनै त्यस्ता व्यवहार भएनन्, जसले मलाई दुखी बनाएको थियो । मेरो ममी नै स्वास्थ्यकर्मी हुनुहुन्थ्यो । मलाई थाहा नभएका कुराहरू सहज तरिकाले सिकाउनुहुन्थ्यो । अझ म त घरकी कान्छी छोरी । मेरा तीनजना दिदीहरू महिनावारी भइसक्नु भएको थियो । उहाँहरू महिनावारी हुँदा ममीले गर्ने हेरचाह, माया देख्दा मलाई पनि महिनावारी हुन मन लाग्थ्यो ।


म पहिलोपटक महिनावारी हुँदा स्कुलमा परीक्षा चलिरहेको थियो । त्यसैले म लुक्न चाहन्थेँ, ताकि परीक्षा दिनु नपरोस् । तर म लुक्न पाइनँ । ममीले सरसफाई गरेर, राम्रोसँग प्याड लगाएर स्कुल जाऊ भन्नुभयो । उहाँ आफैँले प्याड बनाएर दिनुहुन्थ्यो । मीठा मीठा अनि पोषणयुक्त खानेकुरा समय मिलाएर दिइरहनुहुन्थ्यो । महिनावारीमा ममीले गर्ने माया अरूबेलाको भन्दा खास लाग्थ्यो ।


त्यतिबेला महिनावारी भयो भने अलग्गै बस्नुपर्थ्यो । शारीरिक सरसफाइका नियमभन्दा पनि सामाजिक नियम (अन्धविश्वास र भ्रमहरू) धेरै मान्नुपर्थ्यो । तर हाम्रो घरमा भने भान्सा र पूजाकोठा जान बाहेक अरू काममा रोकटोक थिएन । सायद त्यही सिकाइले होला, भान्सा कोठा, पूजा कोठा र मन्दिर जान आजसम्म पनि मेरो मनले मान्दैन । गएकी पनि छैन ।


तर, समय सधैँ एकैखालको पनि नहुने रहेछ । बिहेअघि महिनावारी हुँदा मलाई जति सहज थियो, बिहे गरेपछि भने परिस्थिति उस्तै भएन । बिहे गरेपछि महिनावारीको समयमा हुने शारीरिक पीडा, मानसिक तनाव बुझिदिने कोही भएन । कसलाई सुनाउनु ? म त्यस्तो घरको बुहारी हो, जुन घरमा महिलाले नै महिलाको समस्या, महिनावारीको समस्या बुझ्दैनन् ।


महिनाको चार दिन मैले धेरै नै कष्ट भोग्नुपर्छ । नबुझ्ने परिवार, सानो बच्चा, महिनावारीसँग जोडिएका अन्धविश्वास, भ्रम र कुसंस्कार, यी सबै कुराले महिनावारी नै हुनु नपरे हुन्थ्यो जस्तो लाग्छ । त्यसमाथि, महिनावारी हुँदा पेट दुख्ने समस्या । मलाई लाग्छ, मैले हरेक महिना भोग्दै आएका यी समस्या मजस्ता अधिकांश महिलाको समस्या होला ।


बिहेअघि महिनावारी हुँदा रमाइलो मान्ने म, अहिले किन महिनावरी भएँ भनेर आफैँलाई धिक्कार्छु ? तर प्रकृति नियमको अगाडि कसको के लाग्नु ? यही प्रकृतिको नियमलाई सहज रूपमा बुझिदिने परिवार नहुँदा मजस्ता बुहारीले धेरै सास्ती भोग्नुपरेको छ ।


यो त एउटा प्रतिनिधि घटना मात्रै हो । महिनावारीका विषयमा अझै पनि हाम्रो समाजमा जनचेतनाको कमी हुँदा विभिन्न कुप्रथा, अन्धविश्वासले प्राथमिकता पाइरहेका छन् । त्यसैले पनि यस्ता कुरालाई चिर्दै महिनावारी प्रक्रियालाई सहज बनाउन हामी सबैले आआफ्नो घरबाट, आआफ्नो ठाउँबाट पहल गर्न आवश्यक छ । हैन भने अब आउने पुस्ताले पनि विभिन्न बहानामा महिनावारीमा सास्ती भोगिरहन बाध्य हुन्छन् ।

(यो लेख कुनै माध्यमबाट प्रसार गर्नु परेमा www.gulabisambad.com लाई स्रोत उल्लेख गर्नुहोला ।)

Previous post
Next post
Related Posts
Leave a Reply

Your email address will not be published. Required fields are marked *