Gulabisambad

post-header
Gulabisambad

महिनावारीले सिकाएको अन्धविश्वास

चन्द्रा लक्ष्मी कार्की, कक्षा १०, श्री सरस्वती मावी, ठूलीभेरी नगरपाललिका, दुनै ३, डोल्पा

एकदिनको कुरा हो, म सधैँझैँ विद्यालय गएकी थिएँ । मलाई अचानक पेट दुख्न थाल्यो । दुखाइ बढ्दै जाँदा मलाई कक्षा कोठामा बस्न पनि गाह्रो भइरहेको थियो । के गरौँ, कसो गरौँ भएपछि म चर्पी गएँ । चर्पी गएर हेर्दा पो बल्ल थाहा भयो, मेरो कट्टुमा त रगत लागेको रहेछ । रगत देख्दासाथ म अत्तालिएँ । अर्कै महसुस हुन थाल्यो । के भयो, कसरी भयो, किन भयो, मलाई केही थाहा थिएन । मनमा अनेकन कुराहरू खेल्न थाले । 

यत्तिकैमा महिनावारी बारे कक्षामा सरले पढाउनुभएको कुरा याद आयो । मलाई पक्कै महिनावारी भएको हुनुपर्छ भन्ने लख काटेँ । तर कसलाई भन्ने, के गर्ने, मैले निधो गर्न सकिनँ । कक्षाका साथीसँग बोल्न पनि मन लागेन । एकोहोरो भएर बसेँ । केहीबेरमा सर क्लासमा आउनुभयो । एक मनले त भन्यो, “सरलाई भनौँ कि क्या हो ?” तर सकिनँ । मेडमलाई भनम् कि, साथीहरूलाई भनम् कि भन्ने सोच पनि बारम्बार आइरह्यो । तरपनि कसैलाई भन्न सकिनँ ।

आफूलाई भइरहेको दुखाइ सहेरै बसिरहेँ । एकोहोरो टोलाइरहेँ । यत्तिकैमा स्कुल छुट्टी भयो । साथीहरू आआफ्नो घर जान हतारिए । मसँगै घर जाने साथीले पनि “घर जाम्” भन्दै बोलाई । तर, ऊसँग जान सकिनँ । “तिमी जाँदै गर, म आउँछु” भनेर साथीलाई पठाएँ । कक्षाकोठाबाट सबै साथीहरू बाहिरिए । त्यसपछि बल्ल म आफू बसिरहेको ठाउँबाट उठेँ र बेन्चमा हेरेँ । म बसेको ठाउँमा त रगत लागेको रहेछ । 

यसै त पेट दुखाइले आत्तिएकी म, बेन्चमा रगत देखेपछि झन् डराएँ । मनमा एउटै कुरा खेल्यो, “बेन्चमा लागेको रगतको टाटो कसरी हटाउने ?”

कक्षाकोठामा फालिएका कागजका केही टुक्रा थिए । तिनै कागजको सहायताले रगत पुछेँ । तर टाटो गएन । कक्षाकोठामा फोहोर फाल्न राखिएको डस्टबिन थियो । त्यसैमा धाराबाट पानी ल्याएँ र पखालेँ । रगतको टाटो गयो । पेट दुखिरहे पनि मन भने ढुक्क भयो । म खुसी हुँदै घरतिर गएँ । 

घर पुग्दा ममीहरू घर भित्रै हुनुहुन्थ्यो । तर, आफ्नै घर जान पनि त्यो दिन मलाई अप्ठेरो लाग्यो । आफू महिनावारी भएको कुरा ममीलाई कसरी भन्ने होला भनेर मनमनै कुराहरू बुन्न थालेँ । अनेक उपायहरू सोच्दै टोलाइरहेकी थिएँ, ममी त घर बाहिरै निस्किनुभएछ । म भित्र नगएको देखेर होला, ममीले “के भयो ?” भनेर सोध्नुभयो । डरले गर्दा आफुलाई भन्न मन लागिरहेको कुरा पनि भन्न सकिँन । तर नभनेर पनि त उपाय थिएन । डराईडराई भनेँ, “ममी म…महिनावारी भएँ ।”

“त्यत्ति कुरा भन्न पनि डराउनुपर्छ र ?”, म महिनावारी भएको कुरालाई ममीले सहज रुपमा लिनुभयो । “यो त सबै छोरीहरूलाई हुने कुरा हो ।”

मलाई अझ सहज बनाउन ममीले सफा कपडा दिनुभयो । “यी यो सुतिको कपडालाई च्यातेर चारपाटे बनाएर पट्टाउने, अनि प्याडजस्तो बनाएर हाल्ने”, ममीले त त्यो कपडा प्रयोग गर्ने तरिका पनि सिकाउनुभयो । “रगत सोस्ने कपडा चाहिन्छ, नत्र जताततै रगत लाग्न सक्छ । पछि रगत लागेर डराउने, लजाउने भन्दा पहिल्यै राम्रोसँग कपडा लगाउने ।”

महिनावारी हुँदा सिक्नुपर्ने कुराहरू त कत्ति धेरै रहेछन् । प्याड मात्र लगाउन जानेर नहुने रहेछ । 

“तिमीले अब ६ दिनसम्म बाबालाई, अंकल, दाइ, भाइहरूलाई छुन र हेर्न हुन्न । अनि भान्सामा, पूजा गर्ने ठाउँमा, मन्दिरहरूमा पनि जान हुँदैन ।” ममीले भन्दै हुनुहुन्थ्यो, “अबको ६ दिनसम्म गौमातालाई पनि नछुनू । दूध, दही, मही, घ्यू पनि नखानू नि । हामी हिन्दु धर्मावलम्बी हौँ । त्यसो गरेमा पाप लाग्छ । देउता रिसाउँछन् । ६ दिनपछि खरानी पानीले नुहाएपछि बल्ल तिमी चोखो हुन्छौ ।”

महिनावारी भइसकेपछि अपनाउन पर्ने कत्ति धेरै नियमहरू रहेछन् । तर, ममीले भन्नुभएका पछिल्ला कुरा त अन्धविश्वास हुन् । महिनावारीमा गरिने भेदभाव र अन्धविश्वास बारे, मैले स्कुलमा पढेकी थिएँ । सायद ममीलाई पनि उहाँको आमाले यहि कुराहरू सिकाउनु भएर त होला, मलाई यी कुरा अन्धविश्वास हुन् भनेर उहाँले सिकाउन सक्नुभएन ।

तर उहाँलाई भेदभाव गरिरहेछु भनेर चाहिँ थाहा रहेछ । ममीले भन्नुभयो, “महिनावारीमा हुने भेदभावलाई छुटाउन अझै सकिएको छैन ।”

(यो लेख कुनै माध्यमबाट प्रसार गर्नु परेमा www.gulabisambad.com लाई स्रोत उल्लेख गर्नुहोला ।)

Previous post
Next post
Related Posts
Leave a Reply

Your email address will not be published. Required fields are marked *