–नाम प्रकाशित नगर्ने सर्तमा, गुल्मी
२०६६ सालको कुरा हो । म एसएलसी परीक्षा दिएर बसेकी १४ वर्षे किशोरी थिएँ । रमाइलो परिवार थियो हाम्रो । बुबाममी दुवैले गाउँको एउटै विद्यालयमा पढाउनु हुन्थ्यो । म, दिदी र भाइबहिनी पनि त्यही पढ्थ्यौँ ।
मलाई सानैदेखि बोल्न, उत्सुक भएर प्रश्न सोध्न र रेडियो सुन्न खुब मन पर्थ्यो । ममीले अहिले पनि हाँस्दै भन्नुहुन्छ, “तिम्ले हाम्लाई प्रश्नै प्रश्न सोधेर थकित बनाउँथ्यौ । कथा सुनाएर सुताऊँ भन्ने बेलामा पनि प्रश्न गरेरै सताउँथ्यौ ।”
कलेज पढ्न सदरमुकाम जानुपर्थ्यो । एसएलसी पास भएपछि त्यहाँ गएर पढ्ने मेरो रहर पूरा हुने तरखरमा थियो । त्यसैले म फुरुङ्ग थिएँ । एसएलसीको रिजल्ट आउनुभन्दा अघि, बुवाले गाउँमा नयाँ घर बनाउन थाल्नुभयो । म घरायसी काममा व्यस्त रहन्थेँ । पानी बोक्ने, घर बनाउने मान्छेलाई खाजा बनाइदिने, ममीलाई घरको काममा सहयोग गर्ने दैनिकी नै बनिसकेको थियो ।
त्यस्तै दिनताका दुई स–साना छोरा र मभन्दा थोरै मात्र कम उमेरकी छोरीलाई हाम्रो जिम्मा लगाएर छिमेकी भाउजू इन्डिया जानुभयो । दाइ इन्डियन आर्मीमा जागिरे भएकाले उहाँ कागजपत्र मिलाउन त्यता जानुभएको थियो । भाउजू गएपछि ममीले मलाई स–साना बाबुनानी राती डराउलान् भनेर त्यहाँ बस्न पठाउनुभयो ।
त्यो रात रेडियोमा मलाई मनपर्ने कार्यक्रम आउनेवाला थियो । त्यसैले मलाई भाउजूकोमा जान मन थिएन । अनि, त्यो कार्यक्रममा मैले पठाएको कथा पनि सुनाउने पालो थियो । तर, ममीले भन्नुभयो, “उनीहरूको घरमा पनि रेडियो छ, उतै गएर सुने भैहाल्यो नि ।” कुरा काट्न नसकेपछि म खाना खाएर भाउजूको घरमा सुत्न गएँ ।
उमेरले अल्ली सानी भएपनि १० कक्षा पढ्ने भाउजूकी छोरी सरु मेरी साथी पनि थिई । हामी सँगै घाँस दाउरा गर्न जान्थ्यौँ । रमाइला गफ गर्थ्यौँ । खुबै मिल्थ्यौँ । म उनीहरूको घरमा पुग्दा, खाना खाएको भाँडा माझ्दै थिई सरुले । भाइहरू सुतिसकेका थिए । पुग्नासाथ मैले सरुलाई सोधेँ, “रेडियो कता छ ?”
“बार्दलीको कोठाको बेडमा छ ।” सरुले मलाई भनी । म अम्खोरामा पानी लिएर त्यतै गएँ । सरु आफ्नो कोठातिर गई ।
रेडियोमा मलाई मन पर्ने कार्यक्रम बजिरहेको थियो । कार्यक्रम सुन्दासुन्दै म झपक्क निदाउनै लागेकी थिएँ, मनजिकै एकजना मान्छे आयो । रेडियो सुन्दै निदाउनै लागेको भएर होला, त्यो मान्छे ढोका खोलेर भित्र कसरी पस्यो मैले पत्तै पाइनँ ।
नचिनेको मान्छेलाई अकस्मात् आफू सुतिरहेको कोठामा देख्दा मेरो सातो गयो । धेरै डराएको बेला दिमाग पनि खाली हुँदो रहेछ क्यार ! ऊ को हो, कसरी म सुतेको कोठासम्म आइपुग्यो ? म त्यहाँ सुत्न आएको उसले कसरी पत्तो पायो ? कि मेरो सट्टा सरुलाई पो केही गर्न आएको थियो ? मैले केही मेसो पाइनँ ।
यस्तो बेला गुहार माग्नुपर्छ भन्ने सोच दिमागमा नआएको होइन । तर, सहयोगको याचना गर्दै चिच्याउने प्रयास गर्नुअघि नै उसले आफ्ना हातले मेरो मुख थुन्यो । मलाई सास नै फेर्न गाह्रो भो । मलाई लाग्यो, अब म बाँच्दिन । यही नै मेरो अन्तिम रात हो ।
उसले बिस्तारै दुईमध्ये एउटा हात मेरो मुखबाट निकाल्यो । अनि, शरीर सुम्सुम्याउन थाल्यो । मलाई उकुसमुकुस भइरहेको थियो । म छटपटाइरहेकी थिएँ । उसले धम्कीपूर्ण स्वरमा भन्यो, “चिच्याउन्नेस् भने मात्रै तेरो मुख बन्द गर्दिन ।”
उसको धम्कीले न म चिच्याउन सकेँ, न त पीडा सहन नै । बस् मेरो मन डराइरह्यो अनि आँखाबाट आँसु बग्यो ।
त्यसले मेरो आँसुको कुनै पर्वाह नगरी कपडा खोल्न थाल्यो । ऊ जतिजति अराजक भइरहेको थियो, त्योभन्दा कयौँ गुणा बढी डर मेरो मनमा थपिइरहेको थियो । सरुको घरमा सुत्न आएकोमा पछुतो मान्नु र मर्ने डरमा चुपचाप यातना सहनुको विकल्प मसँग थिएन । मनमनै भगवान्को नाम जप्दै पुकार सुनिदिन आग्रह गरिरहेँ । तर, मेरो छटपटी भगवान्ले कसरी देखून् ?
त्यतिबेला मलाई आफू छोरी भएर जन्मिएकोमा सबैभन्दा धेरै रिस उठ्यो । छोरी मान्छे भएकै कारण आफूलाई निरीह पाएँ । त्यो पीडादायी घटनाको प्रतिकार स्वरूप आफ्नो ‘इज्जत’ र जीवनको भिख माग्नु बाहेक अरू केही गर्न सकिनँ । तर, उसले मेरो अस्मिता जोगाउनु त परको कुरा, मेरो बिन्तीलाई महसुस सम्म पनि गरेन ।
अनि, म बलात्कृत भएँ ! !
मलाई झलझली घरको याद आयो । कतिबेला उज्यालो होला र घर जान पाउँला भनेर छट्पटाइरहेँ । करिब २ घण्टापछि त्यो मान्छे म सुतिरहेको कोठाबाट बाहिरियो । जानुअघि पनि आफूले बलात्कार गरेको कुरा कसैलाई नभन्न र भनेमा मार्ने धम्की दिएर गयो ।
म सोच्न सक्ने हालतमा थिइनँ । भूत, राक्षस पनि मान्छेजस्तै हुने रहेछ भन्ने लाग्यो । हुन पनि त्यो व्यक्ति, मान्छेरूपी राक्षस नै थियो ।
कतिबेला कालो रात सकिएला ? कतिबेला उज्यालो घाम देख्न पाइएला र म घरसम्म पुग्न सकूँला ? म छटपटीमै रनाह परेँ ।
धेरै बेरपछि मैले कुन साहस बटुलेर हो अर्को कोठामा रहेकी सरुलाई उठाउन पुगेँ । मैले रनाहमै घटनाबारे सरुलाई बताएँ । मेरो पीडादायी कुरा सुनेर पनि सुरुमा त ऊ केही बोलिन । मलाई झनै रिस उठ्यो । अनि बाथरुम छिर्न हिँडेका बेला मैले चर्को स्वरमा उसलाई भनेँ, “के हो यस्तो ? को हो त्यो मान्छे ? तैलेँ जे गरिस् बेठीक गरिस् !”
म कसरी त्यति चर्कोसँग बोल्न सक्ने भएँ ? मलाई थाहा छैन । मलाई सरुमाथि शङ्का किन लाग्यो त्यो पनि थाहा छैन । सायद, मेरो स्वर झन्झन् चर्को भइरहेको थियो । मैले थप सोधेँ, “को हो भन् ? भोलि नै मैले गाउँका मान्छे बोलाएर उनीहरूलाई कारवाही गर्नुपर्छ भनेर बुबालाई भन्न लगाउँछु बुझिस् !”
मेरो आक्रोशित स्वर सुनेर सायद ऊ डराई । उसले भनी, “गाउँमा आउने जीपको ड्राइभरसँग मेरो लभ परेको थुप्रै भयो । फोनमा एक्लै आउँछु भन्थ्यो । खलासीलाई पनि ल्याएछ ।” उसको कुरा सुनेपछि मलाई धिक्कार लाग्यो !
“यदि केटो बोलाउन मन भएको भए, उहीसँग बस्न मन भएको भए मलाई किन त्यस्तो गरीस् ? मैले के बिगारिदिएँकी थिएँ र त्यस्तो सजाय दिइस् ?!” म ऊसँग बेस्सरी कराएँ । मेरो मनमा रिस र अनेकन प्रश्न भरिएको थियो ।
म रिसैरिसमा बाथरुम छिरेँ । मेरो यौनाङ्गबाट पानी बगिरहेको थियो । के हो, के भएको हो मलाई केही थाहा थिएन । त्यो रात कसरी कट्यो ? कतिबेला कसरी बिहान भयो ? मैले केही पत्तो पाइनँ । बिहान हुनासाथ म घरतिर गएँ ।
सरुको घरबाट निस्कँदा यो कुरा सबैलाई भन्नुपर्छ भनेर म निस्केकी थिएँ । तर, घर पुगेर बुवा ममीलाई देखेपछि म त्यसैत्यसै डराएँ । त्यतिबेला किन मलाई डर लाग्यो ? मलाई अझैसम्म थाहा छैन । म भित्र कस्तो डर हुर्किएको थियो र मलाई बोल्न नसक्ने बनायो ? मलाई थाहा छैन ।
बुवा ममीको इज्जत जान्छ भन्ने डराएर भन्न सकिनँ कि ?
मेरो कुरा सुनेर गाउँलेले मलाई नै थु्क्छन्, धिक्कारछन् भनेर भन्न सकिन कि ?
मेरो भविष्य अँध्यारो हुने भो भनेर भनेर चुप लाएँ कि ?
मैले अहिलेसम्म पत्ता लगाउन सकेकी छैन ।
दिनहरू बित्दै गए । मेरो दिमागमा सेक्स भएपछि बच्चा बस्छ भन्ने मात्र थियो । मैले बेला बेला पेट छाम्थेँ । मनमा शङ्का भएपछि पेट पनि ठूलो भएजस्तो लाग्दो रहेछ । पेटभित्र कतै बच्चा हुर्किरहेको छ कि भनेजस्तो हुँदोरहेछ । मैले कति पटक बेल्टको नापोले पेट बढेको होकी भनेर नापेँ । उक्त घटनापछि महिनावारीको पालो नआउन्जेलसम्म मैले पीरै पीरमा दिन बिताएँ ।
म भित्र झिरजस्ता तीखा प्रश्न हुर्किरहेका थिए ।
बच्चा रहेको रहेछ भनेँ म के गरूँला ?
यदि पेटमा बच्चा नै रहेछ भने यो कुराले बुवा ममीलाई कति पीडा हुन्छ होला ?
सारा घटना मैले कसरी भनूँला ?
म भित्र आत्महत्याको सोच पनि हुर्कियो ।
एकदिन ममीसँगै घाँस काट्न गएको बेला आज सप्पै कुरा ममीलाई सुनाउँछु भन्ने आँट पलाएजस्तो भयो । कुराहरू सबै मुखैमा आइसकेका थिए । तर किन हो कुन्नी, सुनाउनै सकिनँ ।
समय बित्दै गयो । सरुले भनेको ड्राइभर र खलासीले गाउँमा गाडी लिएर आइरहन्थे । तर, मेरा लागि त तिनीहरू राक्षस समान थिए । कहिलेकाहीँ सदरमुकाम जाने काम पर्दा बुवाममीले त्यही गाडी चढेर जान भन्नुहुन्थ्यो । तर म भित्र उनीहरूलाई लिएर हुर्किरहेको रीस र पीडा बुबाममीलाई के थाहा ?
कतिपटक बुवाले घर अगाडिको गाडी छोडेर किन हिँडेर गएको भनेर सोध्नुहुन्थ्यो । म भन्थेँ, “पैसा बचाउन बुवा” । उनीहरूलाई देख्न नपरे हुन्थ्यो भन्ने मेरो मनभित्रको भाव बुवालाई के थाहा ?
एसएलसीको रिजल्ट पछि म सदरमुकाम पढ्न आएँ । त्यसपछि म बदलिँदै गएँ । पीडा सहने होइन पीडामा बोल्नुपर्छ भन्ने परिवर्तन म भित्र हुर्किंदै गयो ।
बुबाममी नै शिक्षक शिक्षिका भएको मेरो परिवार । यस्तो परिवारमा हुर्केर पनि बलात्कारको पीडा मैले भन्न सकिनँ । त्यति ठूलो शारीरिक र मानसिक पीडा मैले कसरी पचाएँ ? आज सम्झिँदा लाग्छ, पढेलेखेको परिवारमा त मैले यति ठूलो पीडा भन्न सकिनँ भने मैले जस्तो पीडा भोगेका र ती पीडा लुकाएर हुर्किएकाहरू कति होलान् ? कति होलान् कसैलाई पीडा दिएर खुलेआम हिँडेको देख्नेहरू ?
के यी अनुत्तरित प्रश्नको उत्तर हाम्रो समाजले चाँडै दिने हैसियत राख्छ ?
आज वर्षौंपछि साहस जुटाएर त्यो घटनाको बारेमा लेख्न बसेँ । तर, लेख्दालेख्दै धेरैपटक भक्कानिएँ । अहिले पनि आँखा आँसुले डम्म भरिएका छन् । मन भारी भइरहेको छ । जबजब किशोरावस्थाको त्यो नमीठो पीडा सम्झन्छु, त्यो कालो रात हिजोजस्तै लाग्छ । हुन त अहिले म किशोरीबाट युवती भएकी छु । मेरो जिन्दगीले आफ्नै लय समातिसकेको छ । त्यही लयको व्यस्ततामा खुसी पनि छु । तर, त्यो पीडाले अझैपनि बेलाबेलामा झस्काइरहन्छ । बलात्कारका समाचारहरू सुनिरहँदा मलाई त्यही समयले, त्यही घटनाले लखेटिरहेको जस्तो लाग्छ ।
(यो लेख कुनै माध्यमबाट प्रसार गर्नु परेमा www.gulabisambad.com लाई स्रोत उल्लेख गर्नुहोला ।)