–गौरव पौडेल, बर्दिया
नमस्ते, मेरो नाम गौरव पौडेल हो ।
म एसईईपछि प्लस टु पढ्न काठमाडौँ आएँ । म बस्ने ठाँउ र मेरो कलेज भएको ठाउँको दूरी, बसमा यात्रा गर्दा, लगभग एक घण्टाको थियो । हरेक दिन म बसबाट कलेज र घर आउने जाने गर्थेँ । काठमाडौँको जाम, अनि बसभित्रको भिडभाडको त कुरै नगरौँ ! सिट पाउन सधैँ मुस्किल हुन्थ्यो ।
मेरो कलेज सुरु भएको केही दिनमा अन्टी (मेरो ममिको बहिनी)ले कलेज जाँदा आउँदा केके हुन्छ भनेर सोध्नु भयो । मैले जे जे देखेको थिएँ सबै कुरा भनेँ । त्यत्तिकैमा उहाँले मलाई भन्नुभयो, “बसमा भिड भएको मौकामा कसैले दुर्व्यवहार गर्न सक्छ, अलि ख्याल गरेर हिँड्नू । कसैले तँलाई मन नपर्ने गरी हेरे पनि त्यो दुर्व्यवहार नै हो” । अन्टीले धेरै यस्ता कुरा सिकाउनु भयो ।
तर, म त केटा मान्छे थिएँ । मलाई कसरी दुर्व्यवहार हुन्छ ? मलाई त दुर्व्यवहार हुँदै हुँदैन नि ! म यो कुरामा ढुक्क थिएँ । त्यही भएर मैले अन्टीलाई, “आ….मलाई कल्ले गर्न सक्छ दुर्व्यवहार ! म त केटा मान्छे हो अन्टी मलाई केही हुन्न ढुक्क हुनुस्,” भनेँ । तर, अन्टी यो कुरा मान्न तयार हुनु भएन । उहाँले केटा मान्छे पनि दुर्व्यवहारमा पर्न सक्छन् भनेर मलाई विभिन्न उदाहरण दिएर सिकाउनु भयो । तर, मैले उहाँको कुरालाई एउटा कानले सुनेर अर्काे कानले उडाइदिएँ ।
सधैँझैँ म कलेजबाट निस्केर बस चढ्न बस स्टपमा गएँ । करिब १० मिनेट कुरेपछि जनता यातायात आयो । यो बस मेरो घरसम्मै जान्थ्यो । यसो हेरेको बस प्याक नै थियो । म सरासर पछाडि गएँ । अगाडि मान्छेहरू उभिएको भए पनि पछाडि एउटा सिट रित्तो रैछ । सिट पाएँ भन्दै मख्ख परेर म त्यही सिटमा बसेँ । बस सहिदगेट पुगेर फेरि रोकिएको थियो, त्यहाँबाट टनाटन मान्छे भरिए । म भएछेउमा एकजना आइपुग्नु भयो अनि बसको डन्डी समातेर उभिनु भयो । मलाई उहाँ त्यसरी उभिनु भएको देखेर नरमाइलो लाग्न थाल्यो अनि मैले आफू बसेको सिट छोड्दै उहाँलाई बस्न अनुरोध गरेँ । अनि म उहाँ उभिनु भएको ठाँउमा गएर उभिएँ ।
एकैछिनमा, मलाई अलि कता कता शरीरमा कस्तो कस्तो अप्ठ्यारो महसुस हुन थाल्यो । कसैले जानीजानी मेरो हात मुसारिरहेको थियो । सुरुमा त लाग्यो बस भिड छ छोइहाल्छ नि । नजानेर छोइयो होला । तर, त्यो छुवाइ मलाई मन परिरहेको थिएन । मैले मेरो अर्काे हातले उसको हात हटाइदिएँ । त्यो हात एकजना महिलाको थियो । केही बेरमा फेरि त्यो हात मेरो हातमाथि आइपुग्यो । अहिले हात मात्रै होइन उनको शरीर नै मेरो शरीरमा पूरै टाँस्सिएको थियो । यो पटक मैले बोलेरै भनेँ, “अलि पर सर्नुस् न ! कस्तो टाँस्सिनु भएको मलाई अप्ठ्यारो भैसक्यो ।” यति भनेपछि ती महिला थोरै पर सरेजस्तो गरिन् । म पनि अलि सजिलो गरी बसेँ ।
तर, केही बेरमै फेरि त्यसरी नै उनका हात मेरो हातमाथि सल्बलाउन थाले । उनको एउटा हात मेरो पछाडि थियो भने अर्काे हात मेरो हातमाथि सल्बलाइरहेको थियो । उनको त्यस्तो हर्कतले मलाई डर लाग्न थाल्यो । ला के गर्ने होला ? कसैलाई भन्यो भने पनि मेरो कुरा पत्याउँदैनन् कि जस्तो लाग्यो । भन्न पनि सकिनँ । ती महिला आफूलाई मन लागेको ठाँउमा आफ्ना हात लैजाँदै थिइन् । ममाथि दुर्व्यवहार भैरहेको छ भन्ने कुरामा प्रस्ट भैसकेको थिएँ । अन्टीले भनेका कुराहरू अब चलचित्र जस्तै दिमागमा घुमिरहेका थिए । एकमनले सोेचेँ बसबाट ओर्लिन्छु र अर्काे बस चढ्छु । तर, अर्काे मनमा झट्ट कुरा आइहाल्यो, मैले के गरेको छु र म ओर्लिने बसबाट ? अनि भएभरको बल सञ्चित गरेर डन्डी समातेको हात विस्तारै तल झारेँ, अनि दुइटा हातको कुइनाले जोडसँग भ्वाक्क हानेँ । आया ! भन्दै ती महिला अर्काेपट्टिको मान्छेमाथि लडिन् । मेरो मन शान्त भयो । सायद अब उनले मजस्तो अरूलाई दुर्व्यवहार गर्ने हिम्मत गर्दिनन् ।
मैले त्यो दिन मेरो अन्टीले भन्दा म त केटा मान्छे मलाई कस्ले के गर्छ भन्ने सोच नराखेर, यदि त्यस्तो भैहाल्यो भने के गर्ने भन्ने बारेमा सोधेको भए, अथवा दुर्व्यवहारमा पर्नुभन्दा पहिले नै कसरी सतर्क हुने भन्ने कुरामा चासो राखेको भए सायद मैले त्यसरी दुर्व्यवहार भोग्नु पर्दैनथ्यो होला । त्यो दिनदेखि, केटा मान्छेलाई कस्ले के गर्न सक्छ भन्ने सोच मेरो दिमागबाट हराएर गएको छ । केटी जत्तिकै म (केटा) पनि दुर्व्यवहारमा पर्न सक्छौँ भन्ने कुरा मैले बुझिसकेको छु । हामी पनि दुर्व्यवहारको उत्तिकै जोखिममा छौँ । मलाई यति कुरा महसुस गर्न धेरै समय लाग्यो ।
मैले यो कुरा धेरै दिनपछि अन्टीलाई सुनाएँ । मलाई त्यो घटनाले धेरै समयसम्म आफूलाई दुःख दिइरहेको र पढाइमा समेत असर गरेको थियो । अन्टीलाई भनेपछि हल्का महसुस भयो । आफूलाई कसैले मन नपर्ने गरी छोएको छ, हेरेको छ भने पनि त्यो दुर्व्यवहार हो र त्यसको लागि हामी चुप लाग्नु हुँदैन फाइटब्याक गर्नु पर्छ भन्ने कुरा मैले राम्रोसँग बुझेँ ।
(यो लेख कुनै माध्यमबाट प्रसार गर्नु परेमा www.gulabisambad.com लाई स्रोत उल्लेख गर्नुहोला ।)