–नाम प्रकाशित नगर्ने सर्तमा, चितवन
बाटुलो अनुहार । केटाको जस्तै छोटो, तर सिल्की कपाल । ठूला आँखा ।किताबमा घोत्लिरहने लजालु स्वभावकी उनी ।
अरू सबै केटीहरू फ्रकमा स्कुल आउँथे । तर,उनी पेन्ट लगाएर आउँथिन् । छोटो कपाल, पेन्ट अनि मेकअप नगर्ने उनको बानी । यति नै काफी थिए हामीलाई जिस्क्याउन ।
हामी सबैलाई थाहा थियो,उनी म्याथ पढाउने सरकी छोरी थिइन् । त्यही भएर साथीहरू र म मिलेर उनलाई संकेतमा र अंकमा गाली गथ्र्यौं ।
जस्तो कि,
छ छक्का छत्तिस
जिरो वानजिरो
पुरुष र महिलाभन्दा फरक लैङ्गिक पहिचान भएकालाई हेलाहोचो गर्नुपर्छ भन्ने गलत सोचाई हामीसँग थियो । अनि हस्तमैथुन गर्ने कामलाई साथीहरू संकेतमा ३६ भन्थे । यसरी हामी दोहोरो अर्थ लाग्ने शैलीमा उनलाई जिस्काउँथ्यौँ ।
जिरो वानजिरोको संकेत त तपाईंहरूले बुझ्नु नै भयो होला । बुझ्नु भएको छैनभने म भन्छु नि !जिरो वानजिरो भन्नाले केटा मान्छेको यौनाङ्ग । अब त बुझ्नु भयोे नि?हाँस्नु भयो?भनेपछि बुझ्नु भयो ।
मेरो एकजना साथीले उसलाई मन पराउँथ्यो । तर,भन्न सक्दैनथ्यो । भन्ने कोसिस गथ्र्यो, तर डर र लाजले पानी–पानी हुन्थ्यो ।
एकदिन हामीले उसलाई आँटदियौँ । सबै मिलेर लभ लेटर लेखिदियौँ ।
उसले हाफ छुट्टीमा केटीको किताबको बीचमा लभ लेटर राखिदियो ।
भोलिपल्ट ती केटी साथी स्कुल आइनन् । हामीले लभ लेटर दिने साथीलाई जिस्काउँदै भन्याँै, ‘तेरो लभ लेटरको वाणले घाइते भएकी छे । जा मायाको मल्हम लगाएर आइज!’
अर्को दिन उनी स्कुल आइन् । उनी आएको हामीले परैबाट देख्यौँ । हाम्रो साथी मायालु शैलीमा मुस्कुरायो र भन्यो, ‘उसलाई देख्नमात्रै पाउँदा पनि मन चङ्गा हुन्छ यार ।’
तर,केही बेरमै उसको शान्त मनमा तुफान आयो ।
प्रिन्सिपल सरले साथीलाई बोलाउनुभयो । हामी पछिपछि दर्गुर्दै प्रिन्सिपल सरको कोठाको झ्याल बाहिर लुकेर बस्यौँ । त्यो साथीलाई त्यही केटीको नजिकै राखेर हेडसरले साथीलाई रामधुलाई गर्नुभयो । छेवैमा उभिनु भएको म्याथ पढाउने सरले साथीको मुखैमा पर्ने गरी थुक्नु भयो । म्याथ सरकी छोरी, अर्थात पिटाइ खाइरहेको हाम्रो साथीकी‘मायालु’ले पनि उसलाई जोडले गालामा थप्पड हानी ।
सब खेल खत्तम भयो ।
त्यो दिनभर साथी टाउको पनि माथि नउठाई डेक्समा घोप्टिएर बस्यो । उसका आँखामा आँसु त थिएन, तर बदलाको भाव भने प्रष्टै थियो ।
भोलिपल्ट उसले हामीलाई जोस्याउँदै र केही फोहोरी शब्द मिसाएर भन्यो, ‘बुझिस् केटाहो, अब त्यो केटीको बेइज्जत हान्नुपर्छ ।’
‘कसरी ?’ मैले सोधेँ ।
त्यसपछि उसले फिल्मी शैलीमा बतायो र ङिच्च हाँस्यो । साथीहरू जोस्सिए ।
एउटाले भन्यो, ‘बाउ म्याथको टिचर भएर त्यसको सान बढेको ।’
अर्कोले भन्यो, ‘हाम्रो ह्यान्डसम साथीलाई बाल हान्ने त्यसको त्यत्रो हिम्मत?’
मैले पनि जोशै जोशमा यस्तै के–के भनेर साथीलाई उकासेँ । अझभन्दा, उक्सिएँ नि !मायालु भनेर लभ लेटर लेख्दा‘नाइँ’भन्ने केटीको त्यत्रो आँट, त्यत्रो हिम्मत भन्ने बुझाइ हामीमा थियो ।
भोलिपल्ट एउटा हर्कत गरियो । स्कुलभर हल्ला फैलिन समय लागेन । त्यही केटीको मात्रै चर्चा थियो । तर, नराम्रो चर्चा ।
‘त्यसको ब्यागाँ त कन्डम भेटिएको रे !’
‘छ्या कस्ती लाज सरम नभाकी केटी रैछे ।’
‘त्यसले त केटाहरूसँग के के गर्छे रे ।’
‘कन्डम किन्न लाज नि लागेन त्यसलाई ?’
कसैले हाँसोको भावमा खिस्याउँदै भनिरहेका थिए, ‘कन्डम बोक्न सक्ने आँटभएसी, अरू के के बोक्ने आँट छ होला ।’
कसैले भने ठोकुवाका साथ भन्दै थिए, ‘त्यो केटी त बेश्याहो । अस्ति……सँग मस्केर बोलिराथी!’
हाम्रो स्कुलमा दुई घन्टीपछि १०मिनेटको मिनी ब्रेक हुन्थ्यो । ट्वाइलेट जान ।त्यही बेला साथीहरूले उसको ब्यागको साइड पकेटमा दुइटा कन्डम खुसुक्क हाल्द्याथे । उसले थाहा पाइन । केटाहरूले त्यसैको फाइदा उठाए । योजना अनुसार,हाफटाइममा कक्षाका सबै साथीलाई जम्मा पारेर एउटाले भन्यो, ‘यो कोठाबाट बनाना फ्लेवरको कन्डम बास्ना आइराछ ।’ अर्कोले हो मा हो मिलायो । अनि एकैछिनमा केटाहरूले एकै स्वर पारेर भने, ‘सबको झोला चेक गरम् ।’
एकै छिनमा कक्षा भरका सबको ब्याग चेक भयो ।
अनि त ?
केटाहरूले बनाएको योजना सफल बनाउन कत्ति पनि बेर लागेन !
केटाहरूले केटीको झोलामा कन्डम फेला पारेको हल्ला स्कुलभर फैलाए ।बुझेर हो वा नबुझेर, मलाई पनि रमाइलो नै लाग्यो । कन्डम भेटिएको हल्लामा अरू हल्ला पनि मिसिन थाल्यो । हो झैँ लाग्नेगरी अन्य धेरै गलत किस्सा जोडेर त्यो केटीको बदनाम गर्न थाले ।
अन्ततःहल्ला केटीले पनि थाहा पाइ । ऊ डाँको छोडेर रुँदै क्लासमा आइ अनि ब्याग च्यापेर घरतिर दगुरी ।
त्यसको भोलिपल्टबाट त्यो केटी स्कुल आइन । स्कुलमा अनेकन हल्ला फैलिरह्यो । हल्ला सुनेर यो सबै घटनाको योजना बनाएको मेरो साथीले मनोरञ्जन लिइरह्यो ।
ऊ भन्थ्यो, ‘बल्ल देखि त्यसले मेरो पावर । मलाई मन नपराउने ?त्यसको त्यत्रो हिम्मत ।’
पछि हामीले थाहा पायौँ, म्याथ सरले त्यो केटीलाई अर्कै स्कुलमा भर्ना गरिदिएछन् ।
अहिले त्यो घटना सम्झिँदा मात्रै पनि लाज लाग्छ । लाजभन्दा धेरै आफैँसँग रिस उठ्छ । मैले मात्रै त्यो केटी साथीलाई साथदिएको भए, सायद उसले दुव्र्यवहार भोग्नु पर्दैनथ्यो कि? वा आफ्ना साथीहरूलाई ती सबै काम गर्न रोकेको भए? कन्डम राख्ने योजना म्याथ सर वा प्रिन्सिपल सरलाई मैले पहिल्यै सुनाइदिएको भए?
तर,त्यतिबेला मैले रमाइलो मात्रै मानिरहेँ । कुनै केटीले केटाको प्रस्तावलाई अस्वीकार गर्नु भनेको, केटालाई हेप्नु हो भन्ने ठानेँ । आफ्नो केटा साथीको प्रेम प्रस्तावलाई त्यो केटीले अस्वीकार गरेर सबै केटाहरूलाई अपमान गरेको महसुस गरेँ ।
बल्ल आजकल बुझ्दै छु, कुनै केटीको ‘नाइँ’लाई स्वीकार नगर्नु भनेको त्यो केटीको अपमान गर्नु रहेछ ।
आफूले मन पराउने बित्तिकै केटीले मन पराउनै पर्छ भन्ने हुँदैन भनेर मलाई र मेरा केटा साथीलाई कसैले सिकाएन ।केटीका पनि आफ्नै रोजाइ, रहर र रुचि हुन्छन् भनेर बताएन । केटीले मन पराउँदिन भन्दैमा केटाको इज्जतनै जाने, सम्मान नै गुम्ने पनि त होईन रहेछ भनेर कसैले सिकाएन ! अहँ सिकाएन !
ती केटी साथीको हृदयमा चोट पु¥याउने मध्येको म पनि एक थिएँ । उनलाई कति चोट पुग्यो होला?
के उनले त्यो घटना बिर्सिइन् ?
तर,मान्छेले कसरी बिर्सन सक्छ र ?
माफीको लायक त छैन, तर पनि माफी चाहन्छु ।
प्यारी साथी, तिमीले यो पढ्दैछौ भने सबै साथीको तर्फबाट माफी चाहन्छु, ‘वि आर सो सरी !’
(यो लेख कुनै माध्यमबाट प्रसार गर्नु परेमा www.gulabisambad.com लाई स्रोत उल्लेख गर्नुहोला ।)