–नाम प्रकाशित नगर्ने सर्तमा, बागलुङ
त्यो दिन म पहिलोपटक महिनावारी भएँ । त्यतिबेला म, स्कुलमा थिएँ । मेरो कक्षाका सबै केटी साथीहरु मभन्दा पहिल्यै महिनावारी भइसकेका थिए । त्यसैले महिनावारी हुनु मेरो लागि नौलो कुरा थिएन । बरु साथीहरु भन्दा ढिला गरेरै सहि, मलाई पनि महिनावारी भएको थियो । त्यसैमा खुसी थिएँ । तर, खुसीसँगसँगै मेरो मनमा डरले पनि डेरा जमाइसकेको थियो ।
एक त मसँग प्याड थिएन । प्याड पनि के भन्नु । टालो थिएन । त्यसमाथी स्कुल विदा हुन अझै २ घण्टी कुर्नुप¥थ्र्यो । आफ्नो मिल्ने साथीलाई पनि भन्न मन लागेन । किनकिन मलाई साथीहरुले कहिलेकाहिँ साउती मार्दै महिनावारीका कुरा गर्दा, पहिल्यैदेखी अप्ठेरो लाग्थ्यो । उनीहरु पहिलोपटक महिनावारी हुँदा घरभन्दा टाढा लुकेको, पेट दुखेको, राति ओच्छ्यानमा रगत लागेर एकाबिहानै आमाले गाली गरेको कुरा गर्थे ।
अझ कोहि साथीले झुक्किएर महिनावारी हुँदा घामलाई हेरेको, पुजाथानको दर्शन गरेको, बुवा र दाजुभाईलाई हेरेको कुरा सुनाईहाली भने, ऊ साथीहरुको भिडमा नै एक्लो हुन्थी । उसलाई एक्लै पारेर, सबैले पाप र धर्मको, घरको लच्छिनको, बुवा र दाजुभाईको बिरामी र मृत्युसम्मको डर देखाउन थाल्थे ।
त्यसैले आफु महिनावारी भएँ भन्न आँट जुटाइन । आँट जुटाउनु अगाबै मलाई डरले गाँज्यो । उनीहरुले लगाउने आरोपहरु र देखाउने डर सम्झेरै, मन अमिलो भयो । अब आफ्नै तँ तँ म म गर्ने साथीलाई त भन्न नसकेको कुरा, सर म्याडमलाई झन् कसरी भन्नु ।
साथीहरुले पनि त महिनावारी भएको कुरा, महिनावारीमा मर्नेगरी पेट र ढाड दुखेको कुरा, सरमिसलाई कहिल्यै भन्दैनथे । भनेपनि मिसलाई चाहिँ भन्थे कि, तर मैले थाहा पाइन । धत्, सरलाई यस्तो कुरा त भन्नु पनि कसरी ? स्कुलमै मुख देखाउन लाज हुन्छ । आफ्नै साथीले पनि गिज्याउन थाल्छन् ।
बिस्तारै पेटको दुखाई पनि सुरु भयो । तर टाउको दुखेको बाहाना पारेँ । अनि बाँकी दुवै घण्टी नबज्दासम्म घोप्टे परेर ढेक्समा टाउको अढ्ढाएँ । घर जान्छु पनि कसरी भन्नु । अघिनै ट्वाइलेट जाँदा कट्टुभरी रगत लागेको थियो । अहिले त मेड्डीमा पनि लाग्यो होला । त्यसैले चुपचाप बसेँ ।
घर जाने घण्टी बज्यो । सबै पालैपालो निस्किए । मसँगै बसेकी साथीले मलाई पनि घर जान घच्घचाई । तर मलाई ऊसँग जानु थिएन । घर जानु अगाडि मेड्डीमा अनि आफु बसेको ठाउँमा रगत लागे नलागेको हेर्नु थियो । लागेको भए रगत लुकाउने उपाय खोज्नु थियो । उफ † ऊ गएपछि मैले कत्ति धेरै काम सक्नु थियो ।
उसले सँगै जान कर गरिरही । मैले पनि अस्वीकार गरिरहेँ । मेरो अस्वीकारको अगाडि उसको करले हा¥र्यो । ऊ गई । ऊ पर पुगेपछि हत्तपत्त उठेर आफु बसिरहेको ठाउँमा हेरेँ । नभन्दै रगत लागिसकेको रहेछ । टाउको बटारेर मेड्डी हेरेँ । मेड्डीमा त यसैपनि लाग्ने भयो ।
हत्तपत्त कापीको पाना च्यातेँ । अनि बेन्चमा लागेको रगत पुछ्न थालेँ । तर, कहाँ पाएर पुछिनु । कापीको पानाले अलिअलि रातोभन्दा बढी केहि सोसेन । स्कुलको धाराबाट पानी ल्याएर सफा गर्ने उपाय नआएको पनि होइन । तर पानी थाप्नलाई मसँग केही थिएन ।
अकस्मात दिमागमा आइडिया आयो । स्कुलमा लेख्दा लेख्दै मसी सकियो भने भर्नुपर्छ भनेर, मसीको बट्टा नै स्कुल लिएर आउथेँ । त्यही सिसाको इंक पट निकालेँ र निलो मसी रगत लागेको ठाउँमा दलेँ । भोलिपल्ट साथीहरुले रगत लागेको अनुमान नलगाउन् भनेर अलिअलि मसी जानीजानी भुईँमा पोखेँ । अनि अलिअलि चाहिँ साथीहरु बसेको ठाउँ तिर पनि ।
मसीले रगतलाई केहि हदसम्म छोप्यो । रगत नै होकी भनेर अनुमान लगाउने ठाउँलाई भने फाउन्टेन पेनको बिर्कोले कोतरेर काठका मसिना चोइटा चोइटा निकालेँ । मन अलि शान्त भयो । तर मेड्डीमा लागेको रगतको टाटो लुकाउने उपाय खोज्न बाँकी नै थियो ।
रगत लागेको मेड्डीको भागलाई देब्रे साँप्रातिर पारेँ । झोलाको फित्ता पनि सारेर लामो बनाएँ । अनि देब्रेपटोमा मात्रै भार पर्ने गरेर बोँके । यति गर्दा पनि देखिन्छ कि भनेर, ऐच्छिक गणितको हिसाब गर्न किनेको रजिस्टरजस्तो ठूलो खाता कापी झोला मुन्तिरबाट हातमा लिएँ ।
एकपटक फेरी आफैलाई हेरेँ, त्यसपछि बेन्चमा । रगतको टाटा कतै देखिएन । मन ढुक्क भयो । खुसी हुँदै घर तिर गएँ । आकाशमा घाम बाँकी नै थियो । पहिलोपटक महिनावारी हुँदा घाम हेर्न हुन्न भनिथ्यो । मैले घाम हेरेँ । टाउको उठाई उठाई हेरेँ । पहिलोपटक घाम हेर्दा त्यतिधेरै खुसी लाग्यो । बाटामा केटा मान्छेहरु पनि देखिए । केटा मान्छे देख्दा पनि पहिलोपटक धेरै खुसी लाग्यो ।
किनकी महिनावारी हुँदा जेजे गर्न, हेर्न हुँदैन भनिएको थियो, मैले ति गरिरहेको थिएँ, हेरिरहेको थिएँ । घर नपुग्दै बा र भाई आँगनमा उभिएर उँदो खेततिर हेर्दै गफिइरहेका थिए । उनीहरुलाई देख्दा त झन् धेरै खुसी लाग्यो । तर साथीहरुले महिनावारी हुँदा दाईभाईलाई हेर्दा, वुवालाई हेर्दा पाप लाग्छ भनेको कुरा भने मनमै थियो ।
घर पुगेर आमालाई सामान्य तरिकाले आफु महिनावारी भएको कुरा सुनाएँ । एकछिन् त पत्याउनुभएन । तर मेड्डीमा लागेको रगतको टाटा देखेपछि, आमा हतारिँदै च्याँठिन थाल्नुभयो ।
‘लाज सरम केही छैन यो केटीलाई, आफ्नो डर नमाने नि बुवाको, भाईको डर त मान्नु । लाज पचेकी केटी ।’
आमाको बोलीले म झसंग भएँ । अघिसम्म पेट दुख्दादुख्दै पनि खुसी भएकी म, आमाको तितो बोलीले रुन थालेँ । आमाले मेरो रुवाई देख्नुभएन । सायद देखेर पनि वास्ता गर्नुभएन । मेरो दाहिने हातमा घिच्चाउँदै तानेर कर्सा पछाडि लैजानुभयो । रिस मिसिएको स्वरमा आफु नआउँदासम्म त्यहिँ बस्न निर्देशन दिएर आमा जानुभयो ।
म भने आमाको रुखो बोली सम्झिसम्झि झन्झन् ठूलो स्वरमा रोइरहेँ ।
आमा मलाई सरु काकीकोमा लुकाउनका लैजानका लागि पुराना डसना, च्यात्तिन लागेको तन्ना र ठुस्स गन्ध आएको पुरानो सिरक लिकाल्न जानुभएको रहेछ । साथैमा आमाको पुरानो धोतीको ५÷७ वटा लामा लामा टुक्रा पनि थिए ।
‘हिँड सरु काकी काँ । अब ७ दिनसम्म काकीहर्काे पुरानो गोठाँ बस्ने हो तँ । भातासात मै लिएर आम्छु । बाहिर निस्किरन पर्दैन । त्यहि गोठको कुनाँ पानीको धारो आउँछ । आकाशाँ घाम नदेखिँदै रगत लागेका टालाटुली धोएर, कसैले नदेख्ने ठाँ सुकाएस् ।’
मेरो रुवाईलाई वास्ता नगरी आमाले यति भनि भ्याइसक्नुभएको थियो । म झन् चर्को गरी रुन थालेँ । मलाई सरु काकीको गोठमा लुक्न मन थिएन । सरु काकीकोमा मात्रै होइन, मलाई कसैकोमा लुक्न मन थिएन । ‘म कसैकाँ जान्न आमा । घरैमा बस्छु ।’ डर, लाज र आक्रोस मिसिएको स्वर एकैपटक व्यक्त गरेँ । आमा भुतभुताउँदै हुनुन्थ्यो ।
यत्तिकैमा बुवाको आवाज सुनेँ । ‘अब जान्न भनेसी घरैँ बस्न दे न त । बालखै छे, त्यो सरुको गोठाँ क्यारी बस्ली एक्लै ।’
बुवाको बोली सुनेर मन एकाएक खुसी भयो । कत्ति माया गर्नुहुन्छ बुवाले मलाई ।
तर खुसी धेरैबेर टिक्न पाएन । आमा झन् बेसरी च्याँठिनुभयो, ‘तपैँले गर्दा हो छोरछोरी बिग्रेका । यो असत्तीले अघिनै कति बित्याँस पारिसकी । अब नि लुकिन भने घरको सअ नि जान्च ।’ आमाको रुखो बोलीले बुवा नि कड्किनु भयो । एकछिन दुवैको भनाभन भयो ।
अन्ततः आमाले हार्नुभयो । म घरै बस्ने भएँ । तर लकुेर ।
घामपनि मुश्लिकले छिर्ने पुरानो कोठामा, दुईओटा ढोका थियो । एउटा भित्रैबाट जान मिल्ने, एउटा बाहिरबाट मात्रै । बुवा र भाईलाई एकछिन तल्ला बारीतिर पठाएर, आमाले मलाई त्यो कोठामा लैजानुभयो । सुत्न ओच्छ्यान बनाईदिनुभयो । आफ्नो तरिकाले मलाई केहि हदसम्म सहज बनाइदिनुभयो ।
हुन त मलाई लुक्नै पनि मन थिएन । बुवालाई हेर्दै गणितका प्रश्नहरु सोध्न मन थियो । भाईसँग जिस्किँदै, झगडा गर्दै रमाउन मन थियो । आमासँगै भान्सामा मलाई मनपर्ने कालो दाल र रायोको साग पकाउने मन थियो । त्यहिपनि, आफ्नै घरमा बस्न पाउँदा मलाई खुसी लागेको थियो ।
आफ्ना साथीहरुभन्दा आफुलाई भाग्यमानी ठानेको थिएँ । लुकेरै सहि ढोकाको छेऊ थोरै उघारेर हरेक दिन घाम हेरेको थिएँ, भाईलाई स्कुल जानेबेला आमाले नदेख्नेगरी बाई गरेको थिएँ । बुवाले बोलेको, खोकेको, अनि नमिठो गरी गाएको ‘फुलमा भमरा’ गीत पनि मिठो मानेर सुनेको थिएँ ।
आज पहिलोपटक महिनावारी हुँदाको त्यो हप्ता दिन सम्झिँदा मनमा एकैपटक लाज, हाँसो, डर, उत्सुकता मिसिएर आउँछ । आमाले, साथीहरुले गलत कुरा सिकाएकोमा रिस पनि उठ्छ । आफुले बट्ठाईँ गरेको सम्झेर आफैदेखी गर्व महशुस पनि हुन्छ । अनि आमाले मलाई सरसफाईको बारेमा केहि नसिकाएको, महिनावारी हुँदा उहाँका आदेश पालना नगरेर गाली गरेको सम्झिँदा मनैदेखी नमज्जा लाग्छ ।
साँच्चै आमाले पनि महिनावारी बार्नु नपरेको भए कस्तो हुन्थ्यो होला ?
महिनावारी हुँदा सरसफाईमा सबैभन्दा बढि ध्यान दिनुपर्छ भनेर आमालाई कसैले सिकाएको भए, सायद आमाको यौनीमा आजसम्म पनि विभिन्न समस्या देखिन्थ्यो होला । महिनावारी रोकिइसक्दा पनि महिनावारीमा सरसफाईको अभावले देखिएका रोगहरु देखिन्थेन होला । र आमाको शरीरलाई चाहिने पोषणपुर्ति गर्न औषधीका तिता चक्की र झोल पिउनु पर्थेन होला ।
(यो लेख कुनै माध्यमबाट प्रसार गर्नु परेमा www.gulabisambad.com लाई स्रोत उल्लेख गर्नुहोला ।)