Gulabisambad

post-header

–गुलाबी संवाद

नमिता र म अत्यन्तै मिल्ने साथी थियौँ । कतिपयले जिस्क्याउँदै भन्थे, “तिमेरु त ब्या पनि एउटै घरका दाजुभाइसँग गर्छौ कि क्या हो ?” अनि उनीहरू हाँस्थे, “ह ह ह‘”
हामी पनि यस्ता कुरा सुनेर हाँस्थ्यौँ ।

हामी दुईको घर अगलबगलमा थियो । स्कुलबाट आएर सँगै होमवर्क गर्थ्यौँ । बिहान उठेर सँगै पढ्थ्यौँ । खाना खाएर सँगै स्कुल जान्थ्यौँ । दिउँसो टिफिन पनि सँगै खान्थ्यौँ । अनि बेलुका स्कुलबाट पनि सँगै फर्किन्थ्यौँ । यस्तो लाग्थ्यो, हाम्रो सुत्ने घरबाहेक अरू सबै कुरा एउटै छ ।
मान्छेहरू हामी हिँडेको देख्दा जिस्काएझैँ गरेर भन्थे, “यि हल गोरु आए ।”
हामी यस्ता कुरा सुनेर मुसुक्क मुस्काउँथ्यौँ ।

छुट्टीका दिन घुम्न जाने हाम्रो गन्तव्य एउटै थियो । हामीले लगाउने लुगा एउटै रंगका, एउटै आकारका थिए । हाम्रो कपालको चुल्ठी एउटै थियो । हामीले लगाउने गाजलको डिजाइन एउटै थियो । यस्तो लाग्थ्यो, संसारमा जे बन्छ, त्यो हामी दुईकै लागि मात्र बन्छ ।
मान्छेहरू हामी हिँडेको देख्दा जिस्काएझैँ गरेर भन्थे, “उह् जम्ल्याह आए ।”
हामी यस्तो कुरा सुनेर मख्ख परेझैँ गर्थ्यौँ ।

हामीले एक अर्कासँग हाम्रा सबै कुरा साटेका थियौँ । नोट कपी, किताब, खाजा, कपडा अनि सबैभन्दा धेरै दिल १ कतिसम्म भने हामीले फेसबुकको पासवर्ड पनि एक अर्कासँग साटेका थियौँ ।

दश कक्षा पुगेपछि नमिता एउटा केटासँग प्रेमसम्बन्धमा गाँसिई । उसले प्रेमको त्यो यात्राबारे हरेक दिन मलाई सुनाउँथी । कहिले लाज मानेझैँ गरेर भन्थी, कहिले ठसक्क ठस्किएझैँ गरेर प्रेमीको कुरा काट्थी । अनि कहिले भने गजक्क परेर बखान गर्थी ।

प्रेममा परेपछि नमिता अर्कै भएकी थिई । बाहिरफेर निस्कँदा धेरै बेर ऐना हेर्थी । जतिबेला पनि फेसबुक म्यासेन्जरमा झुण्डीएर बस्थी । मोबाइलको ग्यालरीमा प्रेमीको कैयौँ तस्बिर सेभ गरेर राखेकी थिई । फुर्सद हुँदा उसैको फोटो हेरीबस्थी । नमिता, साँच्चै भन्नुपर्दा, प्रेममा पागल भएकी थिई ।
बर्खे बिदाको छुट्टीमा नमिता मामाघर गएपछि म एक्लै भएजस्तो भएँ । मलाई अरूसँग हिँड्न, बोल्न र सङ्गत गर्न उतिसारो मन थिएन । मिल्ने साथी कहिले मामाघरबाट आउली र धित मरुन्जेल गफ गरम्ला जस्तो भइरहेको थियो । तिनै दिनमा एकदिन अचम्मै भयो ।

मेरो फेसबुकको प्रोफाइल फोटो परिवर्तन भयो । त्यहाँ मेरो फोटोको ठाउँमा एउटा पोर्न स्टार हिरोइनको फोटो राखिएको थियो ।
सुरुमा त म एकदमै डराएँ । कतै मैले झुक्किएर पो फोटो परिर्वतन गरेँ कि भनेर सम्झिने कोसिस गरेँ । तर मैले त त्यस्ता पोर्न फिल्म हेर्ने वा तीबारे गुगलमा सर्च गर्ने पनि कहिल्यै गरेकी थिइनँ । फेरि म घरमा पनि दिदीसँगैको खाटमा सुत्छु । घरभित्र हरदम दिदीसँगै रहने भएकाले पनि मलाई त्यस्ता काम गर्न बार बन्देज नै थियो । यस्तो लाग्थ्यो, दिदी मेरा गतिविधि जतिखेरै नियाल्ने सीसीटीभी हो ।

एकैछिन त म आत्तिएँ । यो कुरा दिदीलाई भनौँ कि भन्ने पनि लाग्यो । तर आँट जुटाउन सकिनँ । यस्तो कसरी भयो रु अब दुनियाँले के के भन्ने हुन् भन्ने सम्झेर म अत्तालिएँ । मेरो फेसबुकमा फेरि, मेरा दिदीका साथी, बाबाका साथी देखि मम्मीका साथी, ठूलोबुवाका छोराहरू, फुपूका छोरीहरू सबै थिए । अब तिनीहरूले मेरो प्रोफाइलमा पोर्न स्टारको फोटो देखेर मलाई के सोच्दा हुन् ?

मेरो दिमागले काम गर्न छोड्यो । म त एकैछिनमा कालो निलो भएँ । थरथर काम छुटेजस्तो भयो । सम्भावित सबै दृश्य सम्झेर मलाई त मरुँमरुँ भएजस्तो भयो ।

खाटको कुनामा बसेर थरथर कामिरहेको बेला मलाई दिदीले बोलाई । त्यतिबेला मलाई झन धेरै डर लाग्यो ।
दिदीले मेरो पाखुरामा चरप्प समाई । मेरो निधारको पसिना पुछेर सोधी, “के भयो भन्त ओए ?”
म बोल्नै सकिनँ । मेरो मुखबाट कुनै वाक्य नै निस्किएन । मेरो अवस्था देखेर होला दिदीले मलाई एकैछिन थपथपाएजस्तो गरी अनि सोधी, “के भो ? तैँले कोहीसँग लभ गरेकी छेस् हो ?”
म केही बोलिनँ ।
“तेरो बीएफले छोडिदियो हो ?”
अहिले पनि म केही बोलिनँ ।
“कसैले तलाई फ्लर्ट गरेको हो ?”
फेरि पनि म केही बोलिनँ ।

दिदीले रिसाउँदै मलाई टाउकोमा प्याट्ट हिर्काई अनि चर्को स्वर गरेर भनी, “अनि के भयो भन्त ?”
मेरो हातमा रहेको मोबाइल फ्याट्ट खस्यो । दिदीले मेरो प्रोफाइलमा रहेको पोर्न स्टारको फोटो त्यही बेला देखी । त्यसपछि त के चाहियो रु मेरो गालामा दिदीको जोडको झापड परिहाल्यो १ त्यसै त डराइरहेकी म दिदीको झापडले झनै हायल कायल भएँ ।

म ग्वाँग्वाँ रुन थालेँ । दिदीले मेरो टाउको मुसारेझैँ गरी । अनि माया गरेझैँ गरेर सोधी, “मलाई पनि भनिनस् भने कलाई भन्छेस् रु कसरी यस्तो भयो भन् त ?”
मैले फेसबुकमा प्रोफाइल पिक्चर कसरी बदलियो भनेर आफूलाई थाह नभएको बताएँ ।
दिदीले एकैछिनमा ल्यापटप खोलेर यो घटनाबारे विस्तृतमा लेखेर प्रहरीको साइबर ब्युरोमा इमेल गरी ।

त्यतिबेला म झनै धेरै डराएँ । अब पुलिसले पक्रिन्छ कि रु केरकार गर्छ कि भनेर मेरो सात्तो उड्यो । तर, दिदीले मलाई थमथमाइरही ।
दुई दिनपछि प्रहरीले यो घटनामा एकजनालाई पक्रिएको खबर थाहा भयो । त्यो खबरले म झनै झसङ्ग भएँ ।
पक्राउ पर्ने मान्छे अरू कोही नभएर नमिताको ब्याइफ्रेन्ड थियो ।

यो सब कसरी भयो मैले अनुमान पनि गर्न सकिनँ । मामाघरबाट नमिताले बताएपछि पो थाहा पाएँ, उसको ब्वाइफ्रेन्डसँग केही कुरामा झगडा परेर ब्रेकअप भएछ । उनीहरू अफेयरमा हुँदा खुबै साखुल्ले भएर नमिताले आफ्नो र मेरो दुबैको फेसबुकको पासवर्ड ब्याइफ्रेन्डलाई सेयर गरेकी रहिछ । अनि ब्रेकअप भएपछि उसले बदला लिन मेरो फेसबुकको दुरुपयोग गरेको रहेछ ।

नमिताले धरधरी रुँदै यो सबै कहानी बताई । अनि यो घटनाबाट केही कुरा सिकेझैँ गरेर भनी, “हेर् मौसमी, जति नै मिल्ने साथी भएपनि, बीएफ भएपनि वा जोसुकै मिल्ने मान्छे भएपनि फेसबुक, जिमेलको, इन्स्टा,इमो, ट्विटर जुनसुकै सामाजिक सन्जालको पासवर्ड कसैलाई सेयर गर्न नहुँदो रहेछ ।”

(यो लेख कुनै माध्यमबाट प्रसार गर्नु परेमा www.gulabisambad.com लाई स्रोत उल्लेख गर्नुहोला ।)

Previous post
Next post
Related Posts
Leave a Reply

Your email address will not be published. Required fields are marked *