Gulabisambad

post-header

-किरण गौतम

गुलाबी संवाद सुनिरहँदा मलाई पनि आफनो अनुभव लेख्न मन लाग्यो ।

हाल मेरो एउटी प्यारी छोरी छ । पत्रपत्रिका, समाचार आदिमा बाल यौन दुराचार, किशोरी वा किशोरमाथि हुने यौन हिंसा वा बलात्कारका कुरा धेरै सुनिन्छन् । कहाली लाग्छ त्यस्ता कुरा थाहा पाउँदा । अनि छोरीको अनुहार हेर्छु, यस्तो माहोलमा बालबालिकाको भविष्य सम्झिँदा रन्थनिन्छु पनि । यी सबै कुराबाट छोरीलाई जोगाउँदै सक्षम र इमानदार नागरिक बनाउनु पर्ने चुनौती सम्झन्छु ।

यी समाचारहरू पढ्दा म आफ्नै बाल्यकाल सम्झन्छु । अवाक लाग्छ । 

दुर्व्यवहार सधैँ नचिनेका मान्छेले गर्छन् भन्ने हुँदैन । नजिकका, विश्वास गरिएका मान्छेबाटै दुर्व्यवहारमा पर्न सकिन्छ ।

म आफैँ पनि सानो छँदा थुप्रै पटक दुर्व्यवहारमा परेकी छु । 

नातामा नजिकको हजुरबुवा पर्नेले जबर्जस्ती आफ्नो काखमा बसाउने, गाला मुुुसार्ने, दारी शरीरभरी दलिदिने, नितम्ब मुसार्ने गर्नुहुन्थ्यो । हजुरबुवाको त्यस्तो व्यवहार मलाई पटक्कै मन पर्दैनथ्यो । आजकल पनि जबजब मलाई ती घटना याद आउँछन्, भित्रभित्रै एकदमै रिस उठ्छ । हजुरबुवाको त्यस्तो व्यवहारबारे एकपटक त मैले मेरो ममीसँग पनि कुरा गरेकी थिएँ । “मलाई हजुरबुवाको काखमा जान मन लाग्दैन । हजुरबुवाले शरीरमा कता कता छुनुहुन्छ ।” मैले डराउँदै भनेकी थिएँ ।  

“त्यो त हजुरबाले तँ सानी भएर तँलाई माया गरेको हो नि ।” ममीले हजुरबुवाको व्यवहारलाई खासै वास्ता नगरी मलाई बुझाउन खोज्नुभयो । सायद, त्यतिबेला ममीको कुरा सुनेर मैले पनि बुझेजस्तो गरेँ कि । तर, मलाई हजुरबुवाको त्यस्तो माया कहिल्यै पनि मन परेन ।

हजुरबुवाले माया गरेजस्तै मन नपर्ने माया स्कुलमा सरहरूले पनि गर्थे । “स्याबास…” भन्दै ढाड मुसार्थे । माया गरेजस्तो देखाउन घुरेर अस्वाभाविक तरिकाले हेर्थे । हजुरबुवा र सरहरूको मायामा थोरै मात्र फरक थियो । घरमा हजुरबुवाले मलाई मात्रै माया गरेजस्तो गर्नुहुन्थ्यो भने स्कुलमा सरहरूले मेरा केटी साथीहरू सबैलाई गर्नुहुन्थ्यो । त्यस्तो माया मलाई मात्रै होइन, साथीहरूलाई पनि मन पर्दैनथ्यो ।  

हजुरबुवा र सरहरूले गरेजस्तो मन नपर्ने माया अरू धेरैले पनि गर्थे । कहिले बाटोमा हिँड्दा नचिनेका मान्छेले, कहिले घरभित्रै, घर वरपरका चिनेकै मान्छेले, कहिले साथी सोचेका केटाहरूले, कहिले आफ्ना सोचेका नजिकका आफन्तले । तर, त्यस्तो माया मलाई कहिल्यै मन परेन । मन पर्नका लागि त्यो माया पनि त थिएन । अहिले बल्ल बुझ्दैछु, ती त सबै दुर्व्यवहार रहेछन् । 

त्यो समयमा मलाई सिकाउने र मेरा बारेमा बोलिदिने कोही थिएन । जे परेपनि चुपचाप सहेर बस्थेँ । तर, सहनु पनि गलत रहेछ भन्ने कुरा बिस्तारै बुझ्दै छु ।

मेरी चार वर्षकी छोरी अहिले नर्सरीमा पढ्छिन् । मैले आफू हुर्किँदै गर्दा भोगेका दुर्व्यवहारका तीता घटना छोरीले भोग्नु नपरोस् भनेर अहिलेदेखि नै उसलाई सिकाउन थालेकी छु । कस्तो छुवाइ राम्रो, कस्तो छुवाइ नराम्रो भनेर उसलाई थाहा पाउन सजिलो हुनेगरी बुझाउन थालेकी छु । 

घरमा आउने जो कोहीसँग काखमा नबस्नू, कसैले तिमीलाई मन नपर्ने कुनैपनि व्यवहार गर्छ भने तुरुन्त मलाई वा बाबालाई बताउनू भनेर बारम्बार सिकाइरहन्छु । 

अहिले दुर्व्यवहारका स्वरूप फेरिएका छन् । त्यस्ता दुर्व्यवहारको जोखिममा सबैभन्दा धेरै बालबालिका छन् । माया गरेको देखाउन बच्चाबच्चीलाई देख्ना साथै बोकिहाल्ने, ओठमा, गालामा, निधारमा चुम्बन गर्ने, जस्ता गतिविधिहरू गर्छन् । तर, ती तरिका मलाई एकदम गलत लाग्छन् । कतिले त झन् चिन्दै नचिनेको बच्चालाई पनि “तिमी कति राम्रो, कति राम्री” भन्दै मुसार्ने, गाला तान्ने, आदि गर्छन् । 

त्यस्तो अवस्थामा कतिपय आमाहरूले त “मेरो बच्चालाई माया गरेको” भन्ने ठानेर मख्ख पर्नुहुन्छ । तर त्यस्तो सोच राख्नु हुँदैन भन्ने लाग्छ । किनभने, हामीले ख्याल नगर्ने र ससाना ठान्ने यस्तै यस्तै घटनाले बालबालिकालाई दुर्व्यवहारको जोखिममा धकेल्छ । त्यसैले आफ्ना बालबालिकाले नचिनेको वा चिनेकै व्यक्तिसँग पनि कस्तो महसुस गरिरहेका छन्, उनीहरूसँग बोल्न, खेल्न बालबालिकालाई सहज भइरहेको छ कि छैन वा थाहा नपाएरै उनीहरू दुर्व्यवहारमा त परिरहेका छैनन् भनेर आफैँ सचेत हुन एकदमै आवश्यक छ ।  

अहिले पनि कति विद्यालयमा किशोरीहरू आफनै शिक्षकको दुर्व्यवहारमा परेका थुप्रै समाचार सुन्नमा आउँछन् । समाज परिवर्तनको संवाहक शिक्षकहरूबाटै त्यस्ता दुर्व्यवहार हुनु एकदमै लाजको विषय हो । त्यसैले अभिभावकले आफ्ना बालबालिकाको ध्यान घरमा मात्रै दिनु पर्याप्त हुँदैन । विद्यालयमा पनि अभिभावकले बेलाबेलामा शिक्षकसँग आफ्नो बालबालिकाका बारेमा चासो राख्ने, उनीहरूको मनोभावना बुझिरहन शिक्षकहरूलाई अनुरोध गर्ने गर्नुपर्छ । 

आफूले स्कुलमा भोगेको दुर्व्यवहारबारे खुुलेर बोल्न पाउने बातावरण शिक्षकले विद्यार्थीका लागि सृजना गर्नुपर्छ । अनि सबैभन्दा मुख्य कुरा, हामीले आफ्ना बच्चालाई उनीहरूलाई मन नपरेको कुरा तथा व्यवहारलाई ‘नो’ अर्थात ‘नाइ’ भन्न सिकाउनुपर्छ । यस्तो सिकाइले बालबालिकालाई आत्मरक्षा गर्न सिकाउँछ । चाहे मनोवैज्ञानिक होस् वा शारीरिक नै किन नहोस् । 

आजभोली फेसबुक, इन्स्टाग्राममा धेरै बच्चाको पहुँच छ । आफनो बच्चाको साथीहरू कस्ता छन्, उनीहरूले कस्ता पोस्ट तथा भिडियो हेर्छन्, साथीहरूको कस्ता म्यासेज आउँछन् भन्ने जस्ता कुरामा सचेत हुनुपर्छ । यसैपनि हिजोआज धेरै बच्चाहरू आफनो अभिभावकसँग खुलेर कुरा गर्दैनन्, गर्न चाहँदैनन् । त्यसैले अभिभावक नै उनीहरूको मिल्ने साथी बन्नुपर्छ ।

आफू उनीहरूको उमेरमा हुँदाका घटनाहरू सेयर गर्ने, आफ्ना साथीहरू कस्ता थिए, आफूलाई कस्तो कुरा राम्रो लाग्छ, कस्तो लाग्दैन लगायतका अनुभवहरू बाँड्न सकिन्छ । मैले यसरी नै हरेक दिन मेरो छोरीसँग कुराकानीको प्रयास गर्छु र उसको सबैभन्दा मिल्ने साथी बन्ने प्रयास गर्छु । छोरीले पनि आफ्नो अनुभव, आफ्ना कुरा सबै मलाई सुनाउने गर्छिन् । हामी दुवैको यस्तो बानीले एकअर्कालाई बुझ्न सजिलो भएको छ । अझ भन्दा मेरो छोरीले भोग्न सक्ने सम्भावित जोखिमबारे सजग रहन मलाई प्रोत्साहन मिलिरहेको छ ।

(यो लेख कुनै माध्यमबाट प्रसार गर्नु परेमा www.gulabisambad.com लाई स्रोत उल्लेख गर्नुहोला ।)

Previous post
Next post
Related Posts
Leave a Reply

Your email address will not be published. Required fields are marked *