Gulabisambad

post-header
Gulabisambad

मेरी आमा र मेरो किशोरावस्था

सफलता भण्डारी

यो सफलताको सफलताको कथा हो । उनी सानैमा बाल क्लबमा आबद्ध भइन्, जसले गर्दा उनलाई किशोरावस्थाबारे बुझ्न सहयोग मिल्यो । उनको किशोरावस्थालाई सहज बनाउन आमाले कस्तो भूमिका खेलिन् भन्ने कुरा पनि उनले यसमा समेटेकी छिन् । आउनूस्, आज उनै सफलता भण्डारीलाई उनको किशोरावस्था बुझ्का लागि बाल क्लब र उनकी आमाले कसरी सहयोग गरे भनेर हामी पनि जानौँ ।

***

मेरो किशोरावस्थामा मिल्ने साथीभन्दा कम थिइनन् मेरी आमा ।

सामान्यतया किशोरावस्थामा पुगेका छोराछोरी र अभिभावकबीच राम्रो सम्बन्ध भएन भने छोराछोरी र अभिभावकको सम्बन्धमा ठूलै दरार आउन सक्छ । किशोरावस्था यस्तो अवस्था हो, जहाँ राम्रोसँग गाइड भएन भने कुनै किशोर वा किशोरीको भविष्य नै डामाडोल बन्न सक्छ । त्यसैले पनि किशोरावस्थामा पुगेका छोराछोरीलाई आफ्ना अभिभावकले विशेष ध्यान दिन आवश्यक छ । अझ भनौँ, अभिभावकहरू छोराछोरीको साथी बन्न आवश्यक छ ।

किशोरावस्था रोचक प्रश्न, उत्सुकता, जिज्ञासा, अनौठा समस्याको जवाफ खोज्ने अवस्था हो । यो अवस्थामा, परिवर्तन हुँदै गइरहेको आफ्नो शारीरिक बनोटदेखि, मानसिक अवस्था, भावनात्मक कुतूहल, सामाजिक गतिविधि, आदिका बारेमा जान्न, बुझ्न मन लाग्छ । अनेकन कुराहरू मनमा खेल्छन् । त्यसैले पनि, यदि यही अवस्थामा अभिभावकले आफ्ना बालबालिकालाई त्यस्ता कुराबारे सहजै छलफल गर्न सक्ने वातारण बनाउने र सही जवाफ दिने हो भने, उनीहरूलाई सही मार्गमा हिँडाउन सक्छन् ।

आफ्नै किशोरावस्थाका क्षण र हजारौँ किशोरकिशोरी साथीहरूसँगको सहकार्य गरेको मेरो अनुभवले किशोरावस्थामा अभिभावक राम्रो साथी बन्नुपर्छ भन्ने कुरा बताउँछ । हुन त हाम्रो समाजमा सानाका कुरा ठूला व्यक्तिहरूले नसुन्ने प्रवृत्ति धेरै छ । तरपनि, यस्ता गलत प्रवृत्तिलाई नजरअन्दाज गर्दै माथि उठ्ने हो भने, आफ्ना किशोरकिशोरी छोराछोरीको मिल्ने साथी बन्न एकदमै आवश्यक छ ।

अभिभावक र किशोरावस्थाको बारेमा कुरा गरिरहँदा म अलि भाग्यमानी थिएँ जस्तो लाग्छ । बाल क्लब र किशोर किशोरी साथीहरूसँगको छलफलले मैले मेरो किशोरावस्था अलि फरक ढङ्गले बिताउन पाएँ । सानैदेखि बाल क्लबमा हुने छलफलले मैले किशोरावस्थामा त्यति बाधा भोग्नुपरेन ।

भलै विद्यालयमा किशोरावस्थाको परिवर्तनका विषयमा खुलेर पढाइ हुँदैनथ्यो, ती कुरा बाल क्लब र किशोरकिशोरी समूहमा मज्जाले हुन्थ्यो । यस्ता बाल क्लब र किशोर किशोरी समूहले त्यो उमेरका समूहलाई अलि सहज भने बनाएको थियो ।

मेरो किशोरावस्था सुरु नहुँदैदेखि मेरो साथमा बाल क्लब थियो । अनि मसँगै थिइन् मेरी आमा । उमेरले ५० को छेकोमा भएपनि त्यो बेला मेरो साथी बनेकी थिइन् मेरी आमा । मेरी आमा मेरा हरेक कुरा सुन्थिन् अनि हरेक कुरामा साथ र सहयोग पनि गर्थिन् । आमासँग विद्यालय शिक्षा थिएन । तर, आफ्नो नाम भने लेख्न जानेकी थिइन् । उनी मेरो हरेक कुरा आफैँ पढिदिन्थिन् ।

बाल क्लबमा भर्खरभर्खर आबद्ध हुँदा मलाई धेरै कुराको ज्ञान थिएन । यौन दुर्व्यवहार, हिंसा, राम्रो वा नराम्रो छुवाइ, आदिका बारेमा अन्जानजस्तै थिएँ । जब बाल क्लबसँगको यात्रा निकट हुँदै गयो, मैले यी सबै कुरा सिक्न, बुझ्न पाएँ । परिवारभित्रकै मान्छेले पनि दुर्व्यवहार गर्नसक्छ, चिनेका र नचिनेका व्यक्तिले पनि हामीलाई नराम्रो व्यवहारसाथ छुन सक्छन् भन्ने थाहा पाउन थालेँ ।

त्यतिमात्रै होइन, आफूलाई भएका दुर्व्यवहार विरुद्ध कसरी र किन बोल्ने भनेर राम्ररी बुझेँ । हुन त मैले मेरो किशोरावस्थामा दुर्व्यवहार भोगेको अनुभव खासै छैन । तर आजपनि जब म सार्वजनिक स्थानहरूमा जान्छु, मलाई कसैले दुर्व्यवहार गर्नसक्छ भनेर बेलैमा सचेत हुन्छु । कसैले दुर्व्यवहार गरिहाल्यो भने तत्काल प्रतिकार पनि गर्छु ।

अहिले त म बाल क्लब ग्र्याजुयट भइसकेँ । बाल क्लबको आबद्धता र मेरी आमाको निरन्तर साथले मलाई मेरो किशोरावस्थामा खुलेर जिउने अवसर मिल्यो । यसमा मलाई आफू धेरै भाग्यमानी भएको महसुस हुन्छ । तर पनि जब अहिले किशोरावस्थामा भएका भाइबहिनीहरूसँग बेलाबेलामा छलफल वा कुराकानी गर्छु, उनीहरूलाई दुर्व्यवहार भनेकै के हो भन्नेसम्म थाहा नभएको देख्दा भने नरमाइलो लाग्छ ।

मलाई लाग्छ, उनीहरूलाई यसको बारेमा ज्ञान नहुनुमा उनीहरूभन्दा पनि उनीहरूले पाएको अभिभावकत्व र विद्यालय शिक्षा बढी जिम्मेवार हुन् । जब म अहिलेका किशोरकिशोरी भाइबहिनीसँग कुरा गर्छु, उनीहरू कति धेरैलाई दुर्व्यवहार बारेको छलफल नै नौलो लागेको पाउँछु । कोकसले आफूलाई दुर्व्यवहार गर्नसक्छ भनेर त उनीहरू छुट्याउन सम्म सकिरहेका हुँदैनन् । कतिजनालाई त झन्, आफ्ना परिवारका, चिनेजानेका व्यक्तिले गर्ने मायालुजस्ता देखिने व्यवहार दुर्व्यवहार नभएर माया नै हो भन्ने पनि लाग्दो रहेछ ।

हुन त सबै व्यवहार, सबै छुवाइ गलत र नराम्रा हुँदैनन् । तर, हुर्किँदै गरेका बालबालिका र किशोरकिशोरीलाई राम्रा र नराम्रा व्यवहार वा छुवाइबारे बुझाउन नसक्दा कति धेरै यौन दुर्व्यवहार र हिंसाका घटना चिनेजानेकै व्यक्तिले गरिरहेका सुनेका देखेका छौँ । जे होस्, अहिलेका भाइबहिनीलाई आफूले बाल क्लबमा आबद्ध भएर सिकेका ज्ञानगुनका कुरा सेयर गर्न पाउँदा, कसरी मेरी आमाले सहयोगी भूमिका खेल्नुभयो भनेर सुनाउन पाउँदा, मलाई एकदमै खुसी लाग्छ ।

हुन त हरेक सन्तानका लागि आमाबुबा ज्यान दिन तयार हुन्छन् । तर, किशोरावस्थामा गर्ने व्यवहारले ठूलो अर्थ राख्छ । मेरी आमासँग किशोरावस्थाका परिवर्तनका कुराको त्यति ज्ञान भने थिएन । तर एउटा कुरा थियो, छोरीले पनि समाजका लागि केही गर्न सक्छे र गर्नुपर्छ भन्ने । त्यसैले पनि होला मेरो बाल क्लबको यात्रामा ममाथि कहिल्यै प्रश्न उठेन । ममाथि समाजले गरेका अन्दाज समाजमै सीमित बने, आमाले घरसम्म आउन कहिल्यै दिइनन् ।

त्यसैले म ढुक्कले भन्न सक्छु मेरो किशोरावस्थामा मेरी आमा मेरो मिल्ने साथीभन्दा कम थिइनन् । उनले सधैँ असल अभिभावक र असल साथीको भूमिका निर्वाह गरिन् । अभिभावकलाई छोराछोरीको कुरा सहजै स्वीकार्न गाह्रो हुन्छ । यो हाम्रो समाजको परम्परा जस्तै बनिसकेको छ । तर, उनलाई कहिल्यै त्यस्तो भएन । उनले सबै कुरा सहजै स्वीकार्थिन् । मेरी आमालाई हेरेर म यति चाहिँ भन्न सक्छु, परिवर्तनका लागि मान्छेले पढ्न होइन् बुझन आवश्यक छ ।

(यो लेख कुनै माध्यमबाट प्रसार गर्नु परेमा www.gulabisambad.com लाई स्रोत उल्लेख गर्नुहोला ।)

Previous post
Next post
Related Posts
Leave a Reply

Your email address will not be published. Required fields are marked *