Gulabisambad

post-header
Gulabisambad

दिदीको त्यो “गोप्य कुरा”

–गुलाबी संवाद

नेपाल प्रहरीसमक्ष पुगेको एक घटनाको पृष्ठभूमिमा आधारित

त्यो दिन दिदी मसँग असाध्यै रिसाइ । उसले मलाई खाऊँला जस्तो गरेर हेरिरहेकी थिइ । कुट्न सक्ने भए, सायद दिदीले मलाई मरुन्जेल कुटेर आफ्नो रिस शान्त पार्थी होला । तर, उमेरमा ऊ मेरी दिदी भएपनि, बहिनी जस्ती देखिन्थी । लुरी न लुरी ।

मेरी त्यही लुरी दिदी त्यो दिन रिसले आगो भएकी थिइ ।

किन रिसाइ ?

म भन्छु नि !

खाना खाने बेलाको कुरा हो । दिदीले हामीले भन्दा अगाडि नै खाना खाएर स्कूल जाने तयारी गर्दै थिइ । १० कक्षामा पढ्ने भएकाले ऊ छिट्टै गरेर कोचिङ क्लास जानुपर्थ्यो ।

ऊ नभएको मौका छोपेर मैले बाबा ममीलाई उसले, “कसैलाई नभन् नि…” भनेर कसम खुवाएको कुरा भनिदिएँ । त्यतिबेला दिदी भान्साकोठामै भएको भए, मैले उसको “गोप्य कुरा” भन्न सुरु गर्नासाथ रोक्ने थिइ । तर, ऊ नभएको मौका छोपेर उसको “गोप्य कुरा” बाबाममीलाई बताउन चाहन्थेँ । 

दिदीको “गोप्य कुरा” अप्ठ्यारो थियो ।  

दिदी बहिनी भएपनि हामी साथी जस्ता थियौँ । हाम्रो उमेरको फरक जम्मा डेढ वर्षको थियो । त्यतिबेला दिदी १० कक्षामा पढ्थी, म ९ कक्षामा । उस्तैउस्तै उमेरका भएर होला, हामी एकअर्कासँग खुलेर कुरा गर्न सक्थ्यौँ । एकअर्कालाई राम्रो लाग्ने कुरा, नराम्रो लाग्ने कुरा, खुसीका कुरा, दुख्खका कुरा, रिस उठेका कुरा, मन परेका कुरा, डरका कुरा, उत्सुकताका कुरा, सबैसबै । 

तर, केही दिनदेखि दिदीको अनुहार मलिन थियो । केही कुराले पिर परेजस्तो, डराएको जस्तो । अरू बेलाको भन्दा फरक । तर, त्यसको कारण उसले मलाई भनेकी थिइन । मैले नसोधेको पनि होइन ।

तर, ऊ बारम्बार “ह्या…केही भा’छैन मलाई…धेरै किचकिच नगर्” भन्दै आक्रोश देखाउँथी ।

दिदीले जे भनेपनि मैले किचकिच गर्न छोडिनँ । अनि एकदिन सबै सुत्ने बेलामा दिदीले आँखाभरि आँसु पारेर मलाई सबै कुरा बताइ ।

दिदीका कुरा सुनेर म झसंग भएँ ।

एकदिन नचिनेको मान्छेले दिदीलाई फेसबुकमा रिक्वेस्ट पठाएछ । दिदीले पनि केही नसोची, को होला भन्नेसम्म नचिनी त्यो केटाको रिक्वेस्ट एसेप्ट गरिछे । देख्दा राम्रो लागेर एसेप्ट गरेकी रे । बिस्तारै उनीहरूको कुराकानी हुन थालेछ र च्याटमा बोल्दाबोल्दै त्यो केटा दिदीको साथी जस्तै भइसकेछ । उनीहरूले बेलाबेलामा एकअर्कालाई आफ्नो फोटोहरू पठाउने पनि गर्दा रहेछन् । भिडियो कलमा पनि गफगाफ हुने रहेछ । 

एकदिन त्यो केटाले दिदीको फोटो सम्पादन गरेर, टाउको दिदीको र तल ज्यान अर्कै केटीको नाङ्गो शरीर राखेर फेसबुकमा म्यासेज गरेछ । आफ्नो टाउको जोडेर त्यस्तो फोटो पठाएपछि दिदीको सातो गएछ । भन्न त दिदीले रुँदै त्यो केटालाई “फोटो डिलिट गरिदेऊ” भनिछे । तर, केटाले उल्टै सर्त राखेछ ।

सर्त पनि कति डरलाग्दो, त्यो फोटो मेटाउने हो भने दिदी न्युड भएर भिडियो कलमा कुरा गर्नुपर्ने रे । नत्र फोटो फेसबुकमा राख्दिन्छु, साथीहरूलाई पठाइदिन्छु भनेर उल्टै धम्काएछ । त्यस्तो नगर्न र त्यो सम्पादित फोटो मेट्न दिदीले कैयौँपटक भन्दा पनि त्यो केटाले मान्दै मानेनछ । 

उसै त ससाना कुरामा पनि डराउने मेरी दिदी, चिन्दै नचिनेको मान्छेले आफ्नो फोटो दुरुपयोग गरेर उल्टै आफूलाई धम्काएपछि नडराउने कुरै भएन । त्यही घटनाले उसलाई एकदमै डर लागिरहेको रहेछ । १० कक्षाको पढाइ, मन लगाएर पढाइमा ध्यान दिनुपर्ने बेलामा अर्कै तनाव बेर्होनुपरेपछि दिदीले पढ्न सक्नु त टाढाको कुरा, खाना खाने, बाबाममी, मसँग गफगाफ गर्ने, केही कुरा पनि मन लगाएर गरेकी थिइनँ । 

तर मैले बारम्बार किचकिच गर्दै, “तँलाई के भाछ” भनेर सोधिरहेपछि बल्ल ऊ कुरा बताउन राजी भइ । कुरा सुरु गर्नु अगाडि कसैलाई नभन् भनेर कसम खुवाइ । अनि सबै कुरा सेयर गरिसकेपछि, बाबाममीले थाहा पाउनुहुन्छ कि भनेर सिरानीले टाउको छोपेर धेरैबेरसम्म घुँक्कघुँक्क रोइराखी ।

दिदी रोइराख्दा “नरो न दिदी” भनेर सम्झाउनु बाहेक मेरो दिमागले केही सोच्नै सकेन । बाबाममीलाई दिदीको “गोप्य कुरा” भनौँ कि नभनौँ होला भनेर दोधार भइरह्यो । तर, जति दोधार भएपनि समस्या सुल्झाउन अरू विकल्प मसँग थिएन । त्यसैले दिदी नभएको मौका छोपेर बाबाममीलाई उसको “गोप्य कुरा” सुनाइदिएँ ।

दिदीको “गोप्य कुरा” मेरो मुखबाट सुनिसकेपछि बाबाममी दुवैजना अवाक् हुनुभयो । ममीले त निल्न लागेको गाँस पनि निल्न सक्नुभएन । उहाँहरू दुवैका आँखा रसिला थिए । अनि अनुहारमा छुट्टै खाले डरको भाव पनि । एकछिनसम्म दुवैजना केही बोल्न सक्नुभएन । 

अलिबेरपछि मम्मीले भन्नुभयो, “हाम्री छोरीले गल्ती गरेकी छैन भने किन डराउनु । अब सरक्क पुलिसमा गएर कप्लेन लेखाउनुपर्छ ।” ममीको कुराले मलाई आनन्द महसुस भयो । 

बाबा ममीले दिदीको कोठामा गएर धेरैबेर उसलाई सम्झाउनुभयो । अनि स्कूलमा फोन गरेर, “छोरी बिरामी छे, आज स्कूल आउन सक्दिन” भन्नुभयो । 

त्यसपछि हामी चारैजना प्रहरी चौकी गयौँ । बाबा ममी दुवैले पुलिस चौकीमा सबै घटनाबारे जानकारी गराउनुभयो । प्रहरीले पनि “हामी घटनाको छानविन गर्छौँ, तपाईँहरू ढुक्क भएर घर जानू” भनेपछि हामी फर्कियौँ । प्रहरी चौकीमा रिपोर्ट दर्ता गरेको केही दिनपछि प्रहरीले सूचना दियो, दिदीलाई त्यस्तो दुःख दिने केटाले अरू थुप्रै केटीलाई त्यसैगरी धम्की दिने र पैसा माग्ने गर्दो रहेछ । कतिजना सँग त झन्, न्युड भएर भिडियो कुराकानी गर्ने र त्यस्तो भिडियो रेकर्डिङ गरेर ब्ल्याकमेल गर्ने गर्दोरहेछ । 

त्यो केटा पक्राउ परेको दिन बल्ल दिदी खुसी देखिइ ।

(यो लेख कुनै माध्यमबाट प्रसार गर्नु परेमा www.gulabisambad.com लाई स्रोत उल्लेख गर्नुहोला ।)

Previous post
Next post
Related Posts
Leave a Reply

Your email address will not be published. Required fields are marked *