Gulabisambad

post-header

–नाम प्रकाशित नगर्ने सर्तमा, धादिङ

स्कुल पढ्दाको समय नै बेग्लै । चकचक । उपद्रो । छेडखानी । धेरैथोरै अश्लिल । चढ्दो उमेरमा सबै कुरा नयाँ लाग्थे मलाई । स्कुलका प्रत्येक केटी गजबका । गाउँमा देखिने नयाँ केटीको अनुहार वा कहीँ कतै घुम्न जाँदा बाटोमा देखिने केटीहरू पनि उस्तै । ती सबैलाई एकसरो हेरिभ्याउँथे मेरा आँखाले । अहिले जस्तो फेसबुकको जमाना पनि कहाँ थियो र रु केटीका तस्बिर आँखाले खिचेर मनमा राखे मात्रै हेर्न पाइन्थ्यो । आँखाबाट ओझेल परेपछि मनले खिचेका तस्बिर सम्झेर म र मेरा केटा साथीहरू मनमनै अनेक समपना बुन्न थाल्थ्यौँ । मन त्यसैत्यसै रङ्गिन भइदिन्थ्यो । थाहै नपाइ काउकुती लाग्थ्यो अनि आफैँसँग अलिअलि लाज पनि ।

अझै सम्झन्छु, त्यतिबेला उपद्रो खुब रुचाउने मेरो साथी थियो । ऊ आफूपनि केटी जिस्क्याउँथ्यो र मलाई पनि उसै गर्न खुब उस्काउँथ्यो । उसले फुर्ती लगाउँदै भन्थ्यो, “हेर् मेरो त तीनतीन वटा गर्लफ्रेन्ड छन् । एउटीलाई दिउँसो सम्झिने, अर्कीलाई राती सम्झिने, अनि अर्कीलाई सम्झने पालो बिहानको झिसमिसेमा ।” उसका यस्ता कुरा सुनेर म अचम्मै पर्थेँ । उसका कुरा अनौठा लाग्थे । उसले सुनाउने केटीका किस्सा, गर्लफ्रेन्डका किस्सा अचम्मैका हुन्थे । 

केटीहरूका कुरा मनैभित्र पसेर थाहा पाएजसरी ऊ मलाई गफ लगाउँथ्यो । म पनि चनाखो भएर उसका कुरा सुन्थेँ अनि पत्याउँथे पनि । ऊ भन्थ्यो, “केटीहरूले भित्र भित्रै तँलाई जति मन पराएपनि बाहिर त्यो कुरा भन्दैनन् । उनीहरूका आँखाका भाका हेरेरै कुरा बुझ्नुपर्छ ।” यसलाई कसरी यस्ता कुरा थाहा भएको होला ? म सोचेरै दङ्ग पर्थेँ । 

आँखाको भाका बुझ्ने भनेको के होला रु कसरी सम्भव होला रु कसरी थाहा पाइन्छ होला रु प्रश्न धेरै थिए । बुझ्नलाई मैले धेरैपटक लुकीलुकी धेरै केटीहरूको आँखामा एकोहोरो हेर्ने गरेको अझै सम्झना आउँछ । त्यत्तिमात्रै कहाँ होर, त्यसरी लुकेर हेर्दा कतिजनासँग त मेरा आँखा नै जुधेका छन् । म त्यतिबेला लाजले रातो हुन्थेँ । अनि मनमनै मुस्कुराउँथेँ । 

साथीले भन्थ्यो, “हेर् केटा…त्यसरी हेर्दा केटीहरू लजाएको देखिस् भने बुझ्, त्यसले तँलाई मन पराउँछे ।” उसले मलाई यसैगरी केटीहरूका बारेमा धेरै कुरा सिकाउँथ्यो । अनि एउटा कुरा भने सधैँ जोड दिएर भन्थ्यो, “केटीले सुरुमा भन्ने नै ‘नो’ हो । यदि तँलाई कोही केटीले ‘नो’ भनी भने त्यो ‘एस’ हो, बुझिस् नि ?” ऊ प्रश्न सोधेजसरी मलाई कडक स्वरमा सम्झाउँथ्यो ।

उसले कहिले कुनै केटीको पाखुरा समातेको, कहिले भने हुलमुलमा कुनै केटीको स्तनतिर हात पुर्‍याएको, कहिले कुनै केटीलाई थाहा नदिइ उसका कपाल मुसारेको, यस्तै यस्तै सुनाएर हामीलाई उत्तेजित बनाउँथ्यो ।

एकदिन उसले हौसिँदै भनेको कुरा पनि मेरो सम्झनामा अझै ताजा छ । उसले रसिक पारामा भनेको थियो, “मैले त्यसको हात च्याप्प समातेँ । उसले पन्छाउन खोज्दै थिई, तर, म अघि सरेर उसको गालामा म्वाइ खाइदिएँ । अनि उसको दुधमा हात पुर्‍याउनै लाग्दा ऊ कराउन थालेजसो गरी अनि म गुटुटु भागेँ हाहाहा… ।” यति भनेर उसले ठूलै काम गरेजसरी खिलखिलाएर हाँस्यो ।

समय बितिरहेको थियो । मेरो पढाइ पनि चलिरहेकै थियो । पछि मैले ब्याच्लर तहमा जेन्डर स्टडिज विषय लिएर पढ्न थालेँ । लैङ्गिकता, यौन अधिकार, महिलाका मुद्दाहरू मैले पढ्नुपर्ने हुन्थ्यो । यस्ता विषय पढ्न थालेपछि, यौन हिंसा, यौन अधिकारजस्ता विषयमा साथीहरूसँग छलफल र कुराकानी हुन्थ्यो । केटी साथीहरू पनि थिए । उनीहरू आफूले भोगेका त्यस्तै घटना समूहमा छलफल गर्थे । ती घटनालाई तीता र घिनलाग्दा अनुभवका रूपमा व्याख्या गर्थे । 

छलफलहरूमा सहभागी हुन थालेपछि मात्रै बोध भयो मलाई, त्यो साथीले त मलाई स्कुले जीवनमा, प्लस टु जीवनमा कस्ता कुराहरू सिकाएको रहेछ । त्यही साथीको लहैलहैमा लागेर मैले पनि कति धेरै केटीलाई उनीहरूले मन नपर्ने व्यवहार गरेँ । रमाइलोका लागि हुलमुलमा कति केटीलाई छोएको थिएँ । उनीहरूको अप्ठेरो परिस्थितिको फाइदा उठाउँदै उनीहरूको गोप्य अङ्गहरूतिर हात बढाएको थिएँ । 

त्यतिमात्रै होइन, माया र आकर्षणलाई छुट्याउन नसक्ने उमेरमा प्रेमका नाम पारेर बलजफ्ति शारीरिक सम्बन्धका लागि उक्साएको थिएँ । किनभने, मेरो मनमा त कुनै केटीले “नो” भन्नुको मतलब “एस” हो भन्ने बुझाइ गहिरो गरी गढेको थियो । मलाई लाग्थ्यो, मेरो साथीले भनेको एकदमै सही हो, केटीहरूले कहिल्यै एस भन्दैनन् । नो भनेकै एस हो ।

तर, पछि जब यस्ता विषयमा जान्ने, बुझ्ने प्रयास गरेँ, यसका बारेमा विभिन्न व्यक्तिका कुरा सुन्न थालेँ, अनि बिस्तारै थाहा पाउँदै गएँ, “नो” भनेको त “नो” नै रहेछ । कसैको अप्ठेरो र असहज परिस्थिति, कसैको मौनता, कसैको विवशताको फाइदा उठाएर उसलाई नराम्रो लाग्ने गरी छुनु, अश्लिल अर्थ लाग्ने गरी शब्दले, सङ्केत वा भावले जिस्क्याउनु पनि एकप्रकारको दुर्व्यवहार रहेछ । 

मैले बल्ल बुझेँ, म त आफ्ना उमेर समानका  कैयौँ केटीलाई दुर्व्यवहार गर्दै हुर्किएको रहेछु । मजस्तै मेरा साथीले पनि धेरै केटीलाई दुर्व्यवहार गर्दै सस्तो मनोरञ्जन लिइरहेका रहेछन् । हामीले थाहै नपाइ यौन दुर्व्यवहार त हाम्रो बाल्यकालको एउटा अभिन्न अङ्ग पो बनिसकेको रहेछ ।

अहिले ती दिन सम्झिँदा मलाई आफैँसँग लाज लाग्छ । अतितका आफ्ना व्यवहार सम्झेर आफैँदेखि घिन लागेर आउँछ । स्कुलको त्यो साथीसँग आजभोलि कुनै सम्पर्क छैन । तर, अन्य साथीहरू मार्फत सुनेको थिएँस उसले बिहे गरिसक्यो रे अनि उसका २ वटी छोरीहरू पनि छन् रे । 

साँच्चै उसले आफ्ना छोरीहरूलाई यौन दुर्व्यवहारबारे, राम्रो छुवाइ र गलत छुवाइबारे के कुरा सिकाउँछ होला ?

उसले आफ्ना छोरीहरूमा पहिले आफूले दुर्व्यवहार गरेका केटीहरूको अनुहार देख्छ कि देख्दैन होला ?

यी प्रश्नको जवाफ त उसँगै छ । बस्, मलाई त्यो साथीलाई आफू अगाडि राखेर उसका छोरीहरूलाई भन्न मन छ, “नो मिन्स नो ।”

(यो लेख कुनै माध्यमबाट प्रसार गर्नु परेमा www.gulabisambad.com लाई स्रोत उल्लेख गर्नुहोला ।)

Previous post
Next post
Related Posts
Leave a Reply

Your email address will not be published. Required fields are marked *