Gulabisambad

post-header

-संगीता आचार्य, श्री खड्गेश्वरी माध्यमिक विद्यालय, प्यूठान

किशोरावस्थामा प्रवेश गर्दै गरेका बालबालिकालाई स्वास्थ्य तथा शारीरिक शिक्षा विषयमा अध्यापन गर्दा समस्या र चुनौती पहाड जस्तै बनेर खडा भएको नमीठो अनुभव छ मसँग । मैले कक्षा सात र आठमा स्वास्थ्य शिक्षा पढाउँदा सुरुका एकदुई वर्ष म आफैँमा पनि केही कमी कमजोरी रह्यो होला जस्तो लाग्छ मलाई । किनभने, म आफैँ पनि विद्यार्थीहरूसँग सजिलो गरी खुल्न सकिनँ या भनौँ यौन तथा प्रजनन स्वास्थ्यको विषय लाजको विषय होइन भन्ने जान्दा जान्दै पनि कहीँ कतै मेरो मनले हिच्किचाहट मानिरह्यो । अप्ठ्यारो महसुस भइनै रह्यो । 

स्वास्थ्य तथा शारीरिक शिक्षा पढाउने शिक्षक म, मैले नै अप्ठ्यारो मानेपछि, म नै खुल्न नसकेपछि पाठ पढाउने बाहेकको अन्य छलफल विद्यार्थीहरू र म बीच हुने कुरै भएन । अनि विद्यार्थीले सिक्ने र व्यवहारमा उतार्ने भन्दा पनि परीक्षामा कसरी पास हुने गरी लेख्न सकिन्छ भन्ने बारेमा मात्रै ध्यान भयो र मेरो पनि विद्यार्थी कसरी पास हुन सक्छन् भन्ने कुरामा मात्रै बढी केन्द्रित भयो । 

त्यसपछि भने मलाई, मैले पढाउँदै गरेको राम्रो भइरहेको छैन, यसरी त स्वास्थ्य तथा शारीरिक शिक्षाको बारेमा विद्यार्थीमा रहेको जिज्ञासा कम गर्न सकिँदैन, उनीहरूमा गलत कुराको सिकाइ पो हुने हो कि भन्ने लाग्न थाल्यो । मलाई बिस्तारै आफ्नो कमजोरी छ, मैले यसलाई स्वीकार गरेर अगाडि बढ्ने निर्णय गरेँ । फलस्वरूप विद्यार्थीहरूसँग छलफल गर्ने प्रयास गरेँ । तर, अन्य विषयमा मजाले मसँग छलफल र अन्तरक्रिया गर्ने, केही समस्या भएमा, अलमल भएमा उठेर प्रश्न गर्ने, कक्षामा सबैका अगाडि निर्धक्क छलफल गर्ने विद्यार्थीहरू यौन तथा प्रजनन स्वास्थ्यका कुरा आयो भने कक्षामा एकदमै शान्त बस्ने, मुन्टो निहुराउने गर्न थाले, मानौँ त्यो छुट्टिको दिनको विद्यार्थी बिनाको कक्षा कोठा हो, जहाँ कुनै विद्यार्थी छैनन् ! मैले केही भन्न खोज्दा सबैका टाउका झुकेका, आँखामा लाज, मौनता र चुपचाप हुन्थे । एक जना विद्यार्थी पनि बोल्दै नबोल्ने ! यस्तो अवस्थामा कसरी सिकाउनु विद्यार्थीलाई !

तर, सिकाउन एकदमै जरुरी थियो । उनीहरूमा भएका यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अनेक सवाल, अनेक जिज्ञासा र कौतुहल त मेटाउनु जरुरी नै थियो । तर, उनीहरू एक शब्द नबोलिदिँदा उनीहरूले केही सिके वा सिकेनन् ? केही जाने कि जानेनन् कसरी थाहा पाउने मैले ? कसरी उनीहरूलाई बुझाउने ? यौन रोग, शारीरिक परिवर्तन, यौन इच्छा र यसले पार्ने प्रभाव अनि त्यसको व्यवस्थापनका बारेमा पढाउन, उनीहरूलाई सिकाउन चुनौती नै बन्यो । त्यसपछि म अझ गम्भीर भएर सोच्न बाध्य भएँ । यिनीहरूलाई कसरी बुझाऊँ र खुलेर कुरा गर्न सक्ने बनाऊँ भन्ने कुराले पिरोल्न थाल्यो । 

त्यसपछि, मैले वैयक्तिक भिन्नता अनुसार विद्यार्थीको रुचिलाई ख्याल गर्न थालेँ, विद्यार्थीहरूलाई नियाल्न थालेँ, विद्यार्थीको पारिवारिक पृष्ठभूमि पत्ता लगाउन थालेँ । त्यसपछि कक्षामा पढाउन पर्ने विषयवस्तु पढाउँदै गर्दा आफूमा आएका जिज्ञासा र समस्याबारे म जहाँ भए पनि, जुन सुकै अवस्थामा भए पनि कुरा गर्न सक्छौ भनेँ । त्यसपछि विद्यार्थी मसँग कुरा गर्न आउन थाले । कसैका केही समस्या कसैका केही । उनीहरूले आफूमा भएका जिज्ञासा एकान्तमा मलाई बोलाएर पोख्न थाले । तर, त्योभन्दा पहिले आफूले भनेका कुराहरू अरूलाई नभन्ने सर्त उनीहरूको हुन्थ्यो । मैले कसैलाई नभन्ने बाचा पनि गरेँ । त्यसपछि भने उनीहरूले आफ्ना कुरा निर्धक्क भन्न थाले ।

कुनै कुराले यति धेरै समस्यामा पार्न सक्छ, मैले कहिले कल्पना पनि गर्न सकेकी थिइन । विद्यार्थीले मसँग सेयर गर्ने कुराहरू मेरो सोच भन्दा बाहिरको कुराहरू हुन्थे । उनीहरूमा यौन तथा प्रजनन स्वास्थ्यलाई लिएर हुने जिज्ञासा, कौतुहलहरू सुनेर म अचम्मित हुन्थेँ । शारीरिक परिवर्तनलाई हामीले सामान्य ठानेका कतिपय कुराहरूले विद्यार्थीहरूलाई दिएको पीडा मैले बुझ्न थालेँ । एक जना विद्यार्थी बारम्बार स्पप्नदोषको कारण नै विद्यालय आउन मन नलाग्ने, पढाइमा ध्यान नगएको र समस्याको समाधान नभए आफू आत्महत्या गर्न पनि पछि नपर्ने कुरा सुनेर म छाँगाबाट खसेजस्तै भएँ । मलाई उसको माया लाग्न थाल्यो । हामी कस्तो समाजमा छौँ ? कस्तो शिक्षा लिइरहेका छौँ ? हामीले कस्तो शिक्षा दिइरहेका छौँ भन्ने कुराले मलाई पिरोल्न थाल्यो । 

मैले उसलाई कसरी स्वप्नदोषको बारेमा सजिलो गरी बुझाउन सक्छु भन्ने बारेमा सोच्न थालेँ । एकैपटक सबै कुरा बुझाउन सम्भव थिएन, किनभने ऊ एकदमै विचलित भएको थियो स्वप्नदोषका कारण । त्यसपछि मैले बिस्तारै बिस्तारै स्वप्नदोषको बारेमा बुझाउन थालेँ । किशोरावस्थामा प्रवेश गर्दा सबैलाई हुने कुरा पनि बताएँ । तिमीले जस्तै मैले पनि यो सबै भोगेर आएकी हुँ । ढिलो चाँडो तिम्रो साथीहरूले पनि यो कुरा भोग्छन् । यो एउटा सामान्य प्रक्रिया हो भनेर विभिन्न उदाहरण दिँदै सम्झाउँदै गरेपछि बिस्तारै उसको मनको डर हट्दै गयो । त्यसको केही समयपछि कक्षामा उसलाई एक्टिभ देख्न थालेँ, आफूले नजानेको कुरा मसँग सोध्ने र जानेको कुरा साथीलाई सिकाउँदै गरेको देखेपछि मेरो मन शान्त भयो । 

यसरी यस्ता धेरै विद्यार्थीबाट मैले सिकाउन भन्दा पनि धेरै कुरा सिकेँ । आफूलाई निखार्दै विद्यार्थीलाई सहज बनाउँदै  सिकाउन थालेँ । यौन तथा प्रजनन स्वास्थ्यको विभिन्न विषय पनि सामान्य विषयवस्तु सरह नै कक्षामा सबैका सामु मजाले छलफल गरी पढ्न पढाउन थालेँ । विद्यार्थीलाई एक्लै एक्लै राखेर उनीहरूको समस्या, जिज्ञासा र कौतुहलमा छलफल गरिसकेपछि तिनै विद्यार्थी माझ कक्षामा प्रश्नोत्तर तयार गरेर छलफलमा सहभागी गराउन थालेँ । 

त्यसपछि भने पहिले यौन तथा प्रजनन स्वास्थ्यका बारेमा पाठमा भएका कुरा पढाउँदा मुन्टो निहुराउने, आँखा लुकाउने परीक्षामा पास हुनको लागि मात्रै पढ्ने विद्यार्थी छलफलमा सहभागी हुन थाले, आफूमा आएका परिवर्तन र समस्यालाई व्यवस्थापन गर्न र आफूलाई सिर्जनात्मक बनाउन, परिवर्तनलाई सामान्यीकरण गर्न थाले । व्यक्तिगत सरसफाइमा सतर्क र चनाखो बन्न थाले । मैले पनि उनीहरूलाई परीक्षामा पास हुने भन्दा पनि मेरो विद्यार्थीको व्यवहार परिवर्तनको फड्कोलाई आफ्नो सफलता ठान्न थालेँ । र, आज म मेरा विद्यार्थीमा आएको परिवर्तनलाई देखेर खुसी छु ।

(यो लेख कुनै माध्यमबाट प्रसार गर्नु परेमा www.gulabisambad.com लाई स्रोत उल्लेख गर्नुहोला ।)

Previous post
Next post
Related Posts
Leave a Reply

Your email address will not be published. Required fields are marked *