–नाम प्रकाशित नगर्ने सर्तमा, गोरखा
घरआँगनै मगमगाउने गरी फुल्ने मखमली, सयपत्री गुरदौलीको मगमगले पनि तिहारको छनक दिइरहन्थ्यो । प्रत्येक तिहारमा यस्तो लाग्छ, यिनै फूलका वासनाले डोऱ्याएर मलाई मामाघरसम्म लैजान्छ । किनभने, म सानो छँदा पनि तिहारको छेको पारेर यसैगरी फूलहरू फुल्थे, अनि म मामाघर जान आतुर हुन्थेँ ।
फुलेका फूलहरू उस्तै थिए, अनि मन पनि उस्तै छ । चन्चल र उत्साहित । तर, मामाघर जाने कुरा सम्झियो भने मेरो मनमा एकतमासको उदासी छाउन थाल्थ्यो । नसम्झिरहन पनि सक्दिनँथे, बिर्सन पनि सक्दिनँथे ।
हाम्रो घर गोरखा बजारमा हो, अनि मामाघर चाहिँ गोरखा जिल्लाकै आरुघाट भन्ने ठाउँमा । तिहारका बेला प्रायजसो मेरो दाइ र म ममीको पछि लागेर मामाघर जान्थ्यौँ । अनि उतै तिहार मनाउँथ्यौँ ।
त्यतिबेला मेरो उमेर त्यस्तै नौ वर्षको थियो होला । दशैँमा बाबाले किन्दिनुभएको गुलाबी जामा लगाएर, ममी, दाइ अनि म भएर तिहार मनाउन मामाघर गयौँ । कार्तिक महिना थियो । त्यसैले पनि मामाघरको आँगन दाइँ गर्न ठीक्क पारिएको परालले भरिएको थियो ।
हजुरआमा गोठ छेउको भान्सामा सेलरोटी पकाउँदै हुनुहुन्थ्यो । हजुरबा पिँडीमा बसेर तमाखु तान्दै, आँगनभर फुलेका सयपत्री र मखमली हेर्दै हुनुहुन्थ्यो । माइजूहरू तिहार मनाउन आआफ्नो माइत गइसक्नुभएको थियो । मामाहरू भने घरमा हुनुन्थेन । सायद तास खेल्न जानुभएको थियो कि ? किनभने, तिहारमा तास खेल्नेको जमात हाम्रो मामाघरतिर अझै पनि बाक्लै हुन्छ ।
हामी पुगेको देखेर हजुरबा हजुरआमा खुसी हुनुभयो । उहाँहरूको अनुहार पनि मखमलीजस्तै उज्यालो देखियो । हामी पुगेको एकाध घण्टामा दुवै मामा सँगै आइपुग्नुभयो । अनि मलाई पनि साँच्चिकै मामाघर पुगेको अनुभूति भयो ।
अँ साँच्चै त, मेरो मामाघरमा दाइ दिदी पनि हुनुहुन्थ्यो । ठूलो मामाको छोरा र कान्छो मामाकी छोरी । उहाँहरू दुवै उमेरले मेरो दाइभन्दा सानो र मभन्दा ठूलो हुनुहुन्थ्यो । हामी चारैजना खुब मिल्थ्यौँ । सँगै खेल्थ्यौँ, अनि सँगै रमाउँथ्यौँ । चारजना मध्ये सबैभन्दा सानी भएर होला, मलाई सबैजनाले धेरै माया गर्नुहुन्थ्यो ।
तिहारको बेला भएर होला, त्यतिबेला मामाका छोराछोरीसँग पटाका थियो । हामीले आँगनको छेउमा गएर पटाका पड्कायौँ । हजुरबाले सतर्क गराएझैँ गरेर भन्नुभयो, “यता परालमा छोइएर आगो लाग्ला…अलि पर गएर पड्काओ ।”
हामीले स्वर मिलाएझैँ गरेर परबाटै भन्यौँ, “लाग्दैन हजुरबा लाग्दैन ।”
पटाका पड्काएपछि, त्यो दिन बेलुकासम्मै हामी लुकामारी खेल्यौँ । मेरो लुक्ने पालो थियो । दाइ दिदी, घरभित्र, आँटीतिर कताकता लुक्न जानुभयो । म भने कसैले भेट्टाउन नसक्ने ठाउँमा लुक्छु भन्दै परालको थुप्रो पछाडि गएँ ।
साँझ झमक्कै भइसकेको थियो । परालको थुप्रोपछाडि लुक्दा मामाघर पनि अलिअलि मात्रै देखियो । त्यतिबेला लोडसेडिङ धेरै हुन्थ्यो । बिजुली बत्तिको उज्यालो थिएन । लालटिन र टुकीको उज्यालो अलिअलि देखिन्थ्यो । मलाई “डुम” बनेको दाइले नभेटोस् भनेर सतर्क भएर लुकिरहेकी थिएँ ।
केहीबेरमा मेरो छेउमा अग्लो छाया देखियो । दाइले भेट्नुभएछ क्यार भन्ने सोचेँ । तर, त्यो छाया ठूलो मामाको रहेछ । “दाइदिदीले लुकामारी खेल्न छोडेर भात खाँदै छन्, बरु आउ तिमी र म परालमा खेलौँ । मामाले भन्नुभयो । परालमा खेल्न मलाई अति मनपथ्र्यो । म सानी भएकाले र खाना खान किचकिच गर्ने भएकाले, ममीले पहिल्यै खाना खुवाइसक्नुभएको थियो । त्यसैले परालमा खेल्न मलाई केसैले छेकेन । मामा मसँगै परालमा खेल्न थाल्नुभयो । परालले मेरा हात र तिघ्रामा पाछ्न थालेको थियो तर पनि परालमा उफ्रेर खेल्न रमाइलो भइरहेको थियो ।
मामाले मलाई दुवै हातले उचालेर परालको थुप्रोमा फालिदिनुहुन्थ्यो । परालको थुप्रो रबरझैँ लचक्क गथ्र्यो । अनि म खुसी हुँदै मामालाई फेरि पनि त्यसरी नै उचालेर फालिदिन भन्थेँ । मामा आज्ञाकारी भएर मेरो कुरा मान्नुहुन्थ्यो ।
एकैछिनपछि मामाले भन्नुभयो, “म घोडा बन्छु, तिमी मेरो माथि चढ ।”
मैले मामाले भनेको मानेँ । एकैछिन मामाको कान बटारेजस्तो गरेँ । मामा घोडाजसरी परालमा हिँड्नुभयो । मलाई झनै रमाइलो भयो ।
घरमा अरू सदस्य खाना खाँदै हुनुहुन्थ्यो क्यार । मामासँग खेलिरहेको थाहा पाएर होला, खासै कसैको ध्यान मतिर थिएन ।
एकैछिनपछि मामाले भन्नुभयो, “अब गुफा बनाई खेलम ।”
ममाले परालको थुप्रो लगाउनुभयो । अनि बिस्तारै परालभित्र गुडुल्की मारेर बस्न मिल्नेजस्तो ओडार बनाउनुभयो । ओडार अँध्यारो थियो । म ओडारभित्र बसेँ । मामा पनि मेरो छेउमा आउनुभयो ।
त्यतिबेलासम्म मलाई रमाइलो लागिरहेको थियो । तर, त्यतिबेला मेरो रमाइलोको सुर भत्कियो, जतिबेला मेरो सुसु गर्ने ठामतिर केही चलेजस्तो लाग्यो ।
मैले एकैछिनमा थाहा पाएँ, त्यो मामाको हात थियो । मामाले किन त्यसो गर्नुभयो ? जानेर गर्नुभयो कि अन्जानमा गर्नुभयो । मैले थाहा पाइनँ । मामाको हात बल गरेर ताने । झ्वाट्ट मामालाई हुत्ताएझैँ गरेँ । थाहा छैन त्यतिबेला मामाको हात पन्छाउने र मामालाई घचेट्ने बल मभित्र कहाँबाट आयो । म त्यो गुफाबाट निस्केर बेजोडले दौडिँदै घरभित्र छिरेँ ।
“रहर पुग्यो परालमा खेलेर ?” मायालु पारामा ममीले सोध्नुभयो र ओछ्यान बनाउने तरखरमा लाग्नुभयो ।
म केही बोलिनँ । मामाले गरेको हर्कत के थियो थाहा पाउन सकिरहेकी थिइनँ । तर, मलाई कताकता डर लागिरहेको थियो । ममीलाई भन्ने सोच पनि आएन । सायद, के भन्ने भनेर मलाई थाहा थिएन होला । मैले लामो लामो सास मात्रै फेरिरहेँ ।
कामको सुरुमा व्यस्त ममीले मलाई के भइरहेको छ भन्ने थाहा पाउनुभएन । आजसम्म पनि उहाँलाई त्यो घटनाबारे थाहा छैन । मैले भन्नै सकेकी छैन । मलाई धेरैपछि मात्रै, मामाले अन्जानमा गरेको भएपनि, जानजान गरेको भएपनि नराम्रो गर्नुभएको रहेछ, त्यसलाई दुव्र्यवहार भन्दोरहेछ भन्ने थाहा भयो ।
त्यसपालाको तिहार मामाघरमा मनायौँ । तर, त्यसपछिका वर्ष मलाई मामाघर जान खासै उत्साह आएन । दाइ र म घरै बाबासँग बस्थ्यौँ । कहिलेकसो मात्रै मामाघर जान्थ्यौँ । ठूला भएर मामाघरलाई हेला गरेँ भनेर हजुरबा हजुरआमाले भन्ने गर्नुहुन्थ्यो । तर, मनमा गडेको ठूलो चोटले आफ्नाहरूलाई पनि बिरानो बनाउँदै लैजाने रहेछ ।
जबजब तिहार आउँछ, जबजब धान भित्राउने बेला हुन्छ, दाइँ हाल्न ठीक्क परेको त्यही परालको थुप्रो सम्झिन्छु, अनि मनभित्र गडेको दुर्व्यवहारको चोट !
(यो लेख कुनै माध्यमबाट प्रसार गर्नु परेमा www.gulabisambad.com लाई स्रोत उल्लेख गर्नुहोला ।)