-निकिता अधिकारी
घरेलु हिंसा भन्नाले एउटै घरमा बस्ने एक व्यक्तिले अर्काेलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना भन्ने बुझिन्छ । तर, जुन व्यक्तिले यातना दिएको हो त्यो व्यक्तिको मानसिक अवस्था ठीक छैन भने के त्यसलाई घरेलु हिंसा मानिन्छ ?
म छोरी । एउटा लाचार छोरी । लाचार किन छु, म भन्छु नि । मेरो आमाले बाबाको कुटाइ खान्छिन् । तर, समाजले त्यसलाई घरेलु हिंसा भन्दैन । मेरो घरमा रातदिन झगडा हुन्छ, घरको दराजबाट पैसा हराउँछ । तर, यो कुरा पुलिस थानासम्म पुग्नु हुँदैन ।
मेरो जीवन अरूले सोचेको भन्दा धेरै फरक छ । म बाहिरबाट खुसी देखिन्छु तर, भित्रबाट निकै दुःखी छु । ममाथि समाजले प्रश्न उठायो, “किन तैँले तेरो बाबालाई तँ भनिस् ?” भनेर, अनि मैले हाँस्दै जवाफ दिएँ, “म त्यो बाबालाई सम्मान दिन सक्दिनँ जो दिनभर दुःख गरेर कामबाट फर्किएकी मेरी आमालाई निलडाम हुने गरी कुट्छ ।” यो कुरा भन्ने मन त थिएन तर, म बाध्य थिएँ । जुन दुई हात बाबाको सम्मानको लागि जोडिनु पर्ने हो, ती दुई हात आज उनलाई कुट्नको लागि उठे । पहिलोपल्ट कसैलाई कुट्नको लागि हात उठेको भएर होला मन भित्रबाट चस्स दुखिरहेको छ । तर, म खुसी छु, किनकि, आज मैले पहिलो पल्ट मेरी आमालाई कुटाइ खानबाट बचाएँ ।
मेरो बाबा जसले बाबा र एउटा श्रीमान हुनुको कुनै कर्तव्य पूरा गर्नुभएको छैन । बाबाले विवाह अघिदेखि नै नसालु पदार्थको सेवन गर्नु हुन्थ्यो रे ! विवाह गरेपछि सुधार हुन्छ भन्ने समाजको गलत धारणाले गर्दा, बाबाको बिहे मेरी आमासँग भयो । बिहे गरेको एक वर्षपछि म जन्मिएँ र अर्काे वर्ष माइली बहिनी र त्यसपछिको वर्ष कान्छी बहिनी ।
बर्सेनि हामी तीन छोरी जन्मियौँ । तीन सन्तान नै छोरी जन्मिएर हो कि अरू नै कारणले हो, बाबाले जागिर छोड्नु भयो । दिनभर गाउँ डुल्ने र घरबाट पैसा चोरेर बेलुका रक्सी खाएर आउने । कामै यही । नसालु पदार्थको सेवनले यस्तो भएको भन्ने सोचेर हामीले बाबालाई ६–६ महिना गरेर दुईपटक सुधारगृहमा राख्यौँ । तर, केही सुधार भएन । त्यसपछि समाजले मेरो बाबालाई मानसिक सन्तुलन ठीक नभएको घोषणा गरिदियो । त्यसैकारण बाबा जस्तो भएपनि मेरी आमाले सहेर बस्नु भएको छ । उनले खाएको कुटाइलाई घरेलु हिंसामा गनिँदैन । घरमा भएको चोरीमा पुलिस केस हुँदैन । तर, यो गलत होइन र ?
म अहिले १९ वर्षे भएँ । धेरै कुरा बुझ्ने भएकी छु । बहिनीहरूलाई पनि बुझाउँछु । तर, के यस्तो वातावरणमा मेरो बाल्यकाल सामान्य रह्यो होला त ? मैले मागेको खेलौना, गुडिया, कपडा तथा मेरो सबै इच्छा मेरी आमाले पूरा गरिदिए पनि मनमा सधैँ एउटा डर रही रहन्थ्यो ।
कतै बाबाले कुटेर मेरी आमालाई केही भइहाल्यो भने म अनि मेरा बहिनीहरू अनाथ हुन्छन् भन्ने डर र आफू र आफ्ना बहिनीहरूलाई बाटोमा माग्दै हिँडेको कल्पना गर्दा मात्रै पनि आँखाबाट बररर आँसु झर्छन् । अहिले पनि डर लाग्छ कतै म घरमा नभएको बेला पारेर बाबाले आमालाई कुट्ने हो कि भनेर ।
के हामी जिन्दगीभर यही डरमा बाँच्नुपर्छ ? हामीलाई खुसी र ढुक्क भएर बाँच्न पाउने अधिकार छैन ? के मेरी आमाको ठाँउमा बाबा भएको भएपनि समाजले त्यही सहेरै बस्नुपर्छ भन्थ्यो होला त ? हाम्रो समस्याको हल आखिर कहिले हुन्छ ?
(यो लेख कुनै माध्यमबाट प्रसार गर्नु परेमा www.gulabisambad.com लाई स्रोत उल्लेख गर्नुहोला ।)